विराटनगर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्नका लागि सहमति भइनसकेको बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै देउवाले संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिने भएकाले संशोधन गर्ने विषयमा सहमति भइनसकेको बताए ।
उनले भने, ‘संविधान संशोधन गर्न दुई तिहाइ बहुमत आवश्यक पर्छ । त्यसका लागि सहमति भइसकेको छैन । सभापति देउवाले संविधान संशोधनका लागि बनाउने भनिएको कार्यदल भने चाँडै बन्ने बताए । उनले भने यो चाँडै बन्छ ।’
उनले पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउने विषयमा आफूलाई जानकारी नभएको बताए । पूर्वराष्ट्रपति राजनीतिमा आएपछि यो संविधानको औचित्य सकियो हैन त ? भनेर पत्रकारले राखेको जिज्ञासामा सभापति देउवाले भने, ‘संविधानले केही पनि भनेको छैन । यसबारेमा मलाई त्यति जानकारी छैन ।’
सामाजिक सञ्जाल बन्द गर्ने नभनेको भन्दै देउवाले भने, ‘ओलीजीले सामाजिक सञ्जाल दर्ता गर्नुपर्छ भन्नु भएको छ । बन्द गर्ने भन्नु भएको छैन । उनले अदालतले पनि सामाजिक सञ्जाल दर्ता गर्नु भनेको बताए । यस बारेमा मैले त्यति धेरै बुझ्न पाएको छैन ।’
उनले सरकारमा रहेका मन्त्रीहरू परिवर्तन गर्ने विषयमा भने आफूलाई थाहा नभएको बताए । पत्रकारले मन्त्रीहरू कहिले परिवर्तन हुन्छन् ? भनेर राखेको जिज्ञासा भने उनी रिसाए ।
देउवाको जवाफ थियो, ‘तपाईलाई मन्त्री परिवर्तन गर्ने भनेर कसले भन्यो ? कसले भन्यो । मलाई थाहा छैन । मिडियामा आएको कुरा तपाँईहरूलाई थाहा होला । मन्त्रीहरूलाई फिर्ता बोलाउने कुरा भएको छैन ।’
नेपाली कांग्रेसको महाधिवेशनको मिति भने केन्द्रीय समितिले तोक्ने देउवाको भनाइ थियो । कांग्रेसको उत्तराधिकारी को हुन्छ भन्ने विषयमा देउवा पुन: रिसाए ।
विमानस्थलमा पत्रकारले सोधे, ‘कांग्रेसको उत्तराधिकारी अब को हुन्छ ?’ देउवाले जवाफ फर्काए, ‘तपाईँ हुनुहुन्छ ।’

Leave a Reply