मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछिको सडक अवरोधले बन्दसत्र एक घण्टा ढिलो

गोदावरी, ललितपुर । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन दोस्रो दिनको बन्दशत्रमा आउँदा कोशीका आर्थिक मामिला तथा कानूनमन्त्री रामबहादुर मगरको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ ।

बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी कसैले राजनीति गर्न खोजेकोप्रति अध्यक्ष ओलीले दुःख व्यक्त गरे ।

‘सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घट्नाप्रति दुःख व्यक्त गर्दछु । कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन् । तर भइदियो । त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन विलम्ब हुन गयो’, अध्यक्ष ओलीले भने ।

‘भवितव्य घटना भएको । त्यस्तो क्षति पनि भएको छैन । यसमा हामी पनि दुःखी भएका छौँ र बच्चीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ’, अध्यक्ष ओलीले भने ।

गोदावरी ललितपुर सनराईज सभाहलमा शुक्रबार बन्दशत्रमा प्रस्ताव हुन बाँकी तीन प्रतिवेदन पेश हुने क्रम जारी छ । अहिले निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले प्रतिवेदन पेश गर्दै छन् । प्रतिवेदन पेश भएपछि १० समूहमा छलफल हुनेछ ।

निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पेश हुँदै छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले प्रतिवेदन पेश गरिसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *