उम्मेदवार छानेका चार दल र ३ स्वतन्त्र मतदातासँग छलफलमा, कांग्रेस एमालेसहित मुख्य दल अलमलमा

रुपन्देही । कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि चार दल र तीन जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी टुंगो लगाएर प्रचारमा जुटिसक्दा सत्तारुढ नेकपा एमाले, नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैन ।

अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा नेपाल, जनमत र राष्ट्रिय जनमोर्चाले उम्मेदवार तय गरिसकेका छन् ।

उम्मेदवार तय गरेका दल अहिले भेटघाट र घरदैलोमा केन्द्रित भइसक्दा कांग्रेस-माओवादीले उम्मेदवार छनौटको प्रकृया नै थालेका छैनन् भने एमाले र राप्रपामा क्षेत्र, जिल्ला तथा प्रदेशबाट आकांक्षी सिफारिस भएर केन्द्रमा पठाइएको छ ।

यसअघि यो क्षेत्रमा आफ्नो उम्मेदवार जितेको राप्रपामा भने उम्मेदवार छान्ने विषयमै विवाद भएको छ । राप्रपा क्षेत्र, जिल्ला र प्रदेशले सल्लाह गरेर ६ जना आकांक्षीको नाम केन्द्रमा पठाएपनि केन्द्रले प्रइमरी इलेक्सनबाट उम्मेदार छान्ने निर्णय गरेपछि विवाद भएको छ ।

यो क्षेत्रमा बलियो मानिएको तराई केन्द्रीत दलको संयुक्त मधेसी मोर्चाले नाउपाको उम्मेदारलाई सहयोग गर्ने निर्णय भएपनि नाउपा निर्वाचन आयोगमै दर्ता नभएकाले स्वतन्त्र उम्मेदार उठाउनुपर्ने बाध्यतामा पुगेका छ त्यसमाथि यसका पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले नै रेशम चौधरीले उठाउने उम्मेदारलाई सहयोग नगर्ने भएपछि अर्को समस्या थपिएको हो ।

यो क्षेत्रमा राजनीतिक दलबाहेक केही स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति प्रचारमा घरदैलो थालिसकेका छन् ।

निकै रस्साकस्सीका साथ उम्मेदारी टुंगो लागेको रास्वपा उम्मेदवार डा लेखजंग थापाले बिहीबारबाट नै घरदैलो थालेका छन् । प्राइमरी इलेक्सनबाट उम्मेदारी छानेको रास्वपाले यसको घोषणा काठमाण्डौबाट गरेकाले केही दिन थापासमेतका नेताहरु उतै बसेका थिए ।

यसको टुंगो लागेसँगै उनी बिहीबार रुपन्देही फर्केर घरदैलो थालेका हुन् । उनी पार्टी कार्यकर्तासित आन्तरिक भेटघाटसँगै स्थानीयको घरदैलोमा पुगेर मत मागिरहेका छन् ।

राप्रपा नेपालका उम्मेदवार अर्जुन थापाले पनि सामाजिक सञ्जालका साथै मतदाता भेटलाई तीव्रता दिएका छन् । जनमत पार्टीबाट उम्मेदवार बनेका धनिराम चौधरीले दुई महिना अघिदेखि तयारीमा थिए । अहिले उनी खुलेर मतदाता समक्ष पुग्न थालेका छन् ।

यसअघि नाउपाबाट आकांक्षी रहेका उनी त्ययताबाट टिकट नपाउने निश्चित भएसँगै जनमतमा लागेर उम्मेदारी घोषणा गरेका हुन् । यस्तै, राष्ट्रिय जनमोर्चाबाट उम्मेदार घोषणा भएका बद्रे आलमले पनि चुनावी अभियान थालेका छन् ।

उपनिर्वाचन मिति नजिकिएसँगै दलहरू क्षेत्र आफ्नो कब्जामा पार्न आन्तरिक रणनीतिमा जुटेका हुन् ।

त्यसका लागि केही दलले तालमेल गर्ने तयारी गरेका छन् भने केहीले एकल उम्मेदवारका लागि बलियो उम्मेदवार खोजिरहेका छन् । २०७९ सालको निर्वाचनमा राप्रपाका नेता दीपक बोहरा निर्वाचित भएका थिए ।

उनको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागको हो । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलले उम्मेदवार छनोटका लागि आन्तरिक तयारी गरे पनि नाम सार्वजनिक गरिसकेका छैनन् ।

एमालेबाट तीन तहको कमिटीबाट आकांक्षी केन्द्रमा सिफारिस भएपनि कांग्रेस र माओवादीले भने अहिलेसम्म यसको कुनै प्रकृया सुरुवात गरेको छैन । नेकपा एसबाट महासचिव घनश्याम भुसालसहित सात आकांक्षीको नाम सिफारिस भएको छ ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले अर्जुन थापालाई उम्मेदवार बनाएको छ । राप्रपा नेपाल लुम्बिनी प्रदेशले जिल्लाबाट सिफारिस भएका ३ जनामध्ये थापालाई सिफारिस गरेपछि उनी नै उम्मेदवार भएको पार्टीले जनाएको छ ।

उम्मेदवारका लागि सिफारिस थापा राप्रपा नेपालको रुपन्देही जिल्ला अध्यक्ष हुन् । सीके राउत नेतृत्वको जनमतले पनि आफ्नो उम्मेदवार टुङ्ग्याएको छ । जनमतले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै, स्वतन्त्र उम्मेदवारी घोषणा गरेका भैरहवाका अजयकुमार गुप्ता, बुटवलका लेखनाथ गैरे, किरण विकले पनि मतदाता भेटघाट गरिरहेका छन् । यस्तै, काठमाडौंका मेयर बालेन शाहका सल्लाहकार सन्तोष गिरी पनि मतदाता भेटिरहेका छन् ।

उनले लामो समय मैदानमा भेटघाटलाई अघि बढाएपनि अहिलेसम्म उम्मेदारी घोषणा गरेका छैनन् । बालेनकै सल्लाहकार रहेका ओमप्रकाश अर्याल पनि उम्मेदारको आकांक्षी हुँदै रुपन्देही आएर नाडी छामेर फर्केका छन् ।

मधेसी मोर्चाको साथमा नाउपाका संरक्षक रेशम चौधरीले डा. उमाशंकर चौधरीलाई उम्मेदार बनाउने तयारी गरिरहँदा अध्यक्ष रन्जिताले भने मोर्चालाई नै उम्मेदार उठाउन आग्रह गरिरहेकी छन् ।

एमालेबाट खिमलाल भट्टराईसहित शशि पौडेल, हरि अधिकारी, यज्ञजित शाह र अमृता गुरुङ प्रदेश कमिटीबाट सिफारिस भएका छन् राप्रपाबाट केन्द्रीय सदस्यद्वय बसन्तविक्रम शाही, स्वाती थापा, रुपन्देही अध्यक्ष सागरप्रताप राणा, स्व. दीपक बोहोराका छोराहरु गौरव बोहोरा, प्रज्ज्वल बोहोरा र जिल्ला नेता दिलिप मल्लिकको नाम सिफारिस भएको छ ।

माओवादीबाट पूर्वसांसद सोनिया यादवलाई नै अघि सार्ने संभावना छ तर समाजवादी मोर्चाले के गर्ने कुनै निश्चित भएको छैन ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *