सिन्धुपाल्चोक । नेकपा एमालेको विधान अधिवेशनको संघारमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा एमालेको दुई कमिटी गठन भएको छ । ११ पालिका अधिवेशन सर्वसम्मत रूपमा नेतृत्व छनोट गरेर सम्पन्न भए पनि बाह्रबिसे नगरपालिकामा भने उद्घाटन सत्र सम्पन्न भएको ५ महिना पछि नयाँ नेतृत्व छनोट भयो त्यो पनि दुई वटा कमिटी निर्वाचित भएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज सरेश नेपाल, बागमती प्रदेशका उपाध्यक्ष दावा लामा र जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ सहभागी भएको बन्द सत्रले बमबहादुर तामाङलाई पालिका अध्यक्ष बनाएको छ, भने प्रदेश कमिटी सदस्य निमफुञ्जो शेर्पा, जिल्ला कमिटीका उपाध्यक्ष अर्जुन भण्डारी सहित बहुमत पदाधिकारीहरू सहभागी बन्दसत्र बाट माधव नेपाललाई अध्यक्ष बनाएको छ ।
एकै दिन एउटै नगरमा दुई रिसोर्टमा कार्यक्रम हुनले एमालेभित्र आन्तरिक विभाजन गहिरिएको संकेतका रूपमा लिइएको छ। भँगेरीमा भएको कार्यक्रममा संगठनात्मक शक्ति देखाए पनि ग्राण्डमा भएको कार्यक्रम कमजोर सहभागिताका कारण आलोचित बनेको छ।
दुइ कमिटी गठन भएपछि जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले बुधवार विज्ञप्ति जारी गरेर आफूहरू सहभागी भएको कार्यक्रमबाट गठन भएको पालिका कमिटी नै आधिकारी कमिटी भएको बताएका छन् । उपाध्यक्ष अर्जुन भण्डारीले भने प्रत्येक वडाबाट कमिटीगत रूपमा प्रतिनिधि छनोट भएर आएपछि आफूहरू सहभागी भएर गठन गरिएको कमिटी नै आधिकारिक भएको बताएका छन् ।
दुवै पक्षले आफूहरू सहभागी भएर गठन भएको कमिटी नै आधिकारी भनेर दाबी गरिरहँदा कुन कमिटी वैधानिक हुने कार्यकर्तामा भने अन्योल सुरु भएको छ ।
बाह्रबिसेमा एकै दिन आयोजित बन्द सत्र कार्यक्रममा जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले ग्राण्ड रिसोर्टमा बन्द सत्रको कार्यक्रम आयोजना गरेका थिए भने जिल्ला उपाध्यक्ष सहित बहुमत पदाधिकारीहरूले भँगेरीमा बन्द सत्र आयोजना गरेका थिए ।
भँगेरीको बन्द सत्रमा प्रदेश र जिल्ला तहका प्रभावशाली नेताहरूको ठूलो जमघट रह्यो। मञ्चमा प्रमुख अतिथि निमफुन्जो शेर्पा, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सागर घिमिरे, पूर्व प्रदेश सदस्य प्रदीप पौडेल, प्रदेश परिषद् प्रतिनिधि दामोदर ढकाल, उपाध्यक्ष अर्जुन भण्डारी, सचिव कृष्णगोपाल तामाङ, उपसचिव शुशिला पाख्रिन र शिवहरि सापकोटा, जिल्ला सचिवालय सदस्य आङदोर्जे शेर्पा, लेखा आयोगका अध्यक्ष नेत्रप्रसाद पौडेल लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी, जिल्ला कमिटी सदस्य प्रेम शेर्पा, पूर्णचन्द्र पराजुली, लक्ष्मण पौडेल, पूर्व जिल्ला कमिटी सदस्य बिबस भण्डारी, निर्वाचित वडा अध्यक्ष सोनाम शेर्पा र कुल ब। श्रेष्ठ तथा वडास्तरका अध्यक्ष वडास्तरीय अध्यक्ष कामी शेर्पा, गणेश घिसिङ, उमेश श्रेष्ठ, रत्न कुमारी तामाङ, दुर्गादास श्रेष्ठ, मीन ब। श्रेष्ठ, दुर्गा ब। तामाङ, सुन्दर लामा लगायतका नेताहरू समेत सक्रिय सहभागितामा देखिएका थिए।
पुराना, क्रियाशील र स्थापित ९० प्रतिशत कार्यकर्ता (झण्डै २५० जना) उपस्थित रहेकाले भँगेरीले एमालेको संगठनात्मक शक्ति प्रष्ट्याएको देखियो। वडाको माइन्युट सहित अध्यक्षद्वारा सिफारिस प्रतिनिधिहरूको समेत उल्लेख्य सहभागिता रहेकाले यही कमिटी नै आधिकारी भएको जिल्ला उपाध्यक्ष अर्जुन भण्डारीले जानकारी दिए ।
ग्राण्ड रिसोर्टमा भएको कार्यक्रममा केन्द्रीय सदस्य सरेश नेपाल लगायतका नेताहरूको सहभागिता रहेको पार्टी जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिए पनि मञ्चमा जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ बाहेक पार्टीको जिम्मेवारीमा रहेका कोही पनि नेताहरूको सहभागी रहेको थिएन । पार्टीको झण्डा समेत नरहेको, मञ्चमा रहेका अतिथिहरूको अनुहारमा उत्साह र चमक नदेखिएको सहभागीहरूले बताएका छन्।
मञ्चमा होम नारायण श्रेष्ठ बाहेक स्पष्ट जिम्मेवारी बोकेका नेताको उपस्थिति न्यून थियो। डिबि लामा, नवीन घतानी, शीतल तामाङ, ज्ञानेन्द्र राउत, बिन्दा तिमल्सिना लगायतको उपस्थिति मात्र थियो।
समग्रमा दलित महिला, वृद्ध वृद्धा सहित जम्मा ६०–६५ जनाको सहभागिता भएको यो भँगेरीमा पदाधिकारी अपूर्ण देखियो। त्यसमाथि सदस्य भनिएका धेरैजना कार्यक्रममै उपस्थित नभएको भन्दै आलोचना भएको छ।
बाह्रबिसे एमाले विवाद
नेकपा एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराईले चैत २८ गते नगर अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन लगतै बन्द सत्रको कुनै पनि कार्यक्रम सुरु नभई स्थगित भएको थियो । बाह्रबिसेमा विवादको मुख्य विषय नयाँ सदस्य भएको एमाले नेता निमफुञ्जो शेर्पाको भनाई छ ।
एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशन सम्म बाह्रबिसे नगरपालिकामा एमालेको संगठीत सदस्य ७६६ थियो,तर अधिवेशन लगतै ६०० बढी सदस्य थपिएपछि त्यही विषयमा विवाद भएको शेर्पाको भनाई छ । उहाँहरूले नेतृत्व आफ्नो पक्षमा पार्नका लागि नक्कली सदस्य थपेर ल्याउनु भएछ शेर्पाले भने बन्द सत्रमा समेत माओवादीका वडा अध्यक्ष सहित दर्जनौँ संख्यामा अन्य पार्टीका नेताहरू ल्याएर बन्द सत्र गरेको देखियो । आफूहरूले माधव नेपालको अध्यक्ष भएको कमिटीलाई नै वैधानिकताका लागि प्रदेश कमिटीमा निवेदन दिएको शेर्पाले जानकारी दिए ।

Leave a Reply