विधान महाधिवेशन- एमालेको ‘डिजिटल वर्ल्ड’ अवधारणा, १२ मिनेटमै सकिनेछ उद्घाटन कार्यक्रम

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन भोलिबाट सुरु हुँदैछ । महाधिवेशन स्थल जाने बाटो सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर दूरीभित्र १८ वटा भव्य स्वागतद्वार निर्माण गरिएको छ ।

बिजुलीका खम्बामा पार्टीको हँसिया हथौडा चिन्ह र चुनाव चिन्ह सूर्य ध्वजावाहक झन्डाले सिङ्गारिएका छन् । सूर्य अंकित झण्डाले वातावरण झन् झकिझकाउ बनेको छ । महाधिवेशन स्थल ‘एमाले डिजिटल वर्ल्ड’को अवधारणामा आधारित छ ।

एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारा अघि सारेको छ । महाधिवेशन सभाहलसम्म पुग्दा नविन प्रकारको ‘माक्र्ससिजम् डिजिटल वर्ल्ड’मा छिरेको अनुभव हुने एमालेको बुझाइ छ ।

पार्टीको पाँचौँ महाधिवेशनदेखि बाँस, काठ, हस्तलिखित ब्यानरबाट मञ्च, स्वागतद्वारा निर्माण गरिएको स्थायी कमिटी सदस्य विनोद श्रेष्ठले बताए । यतिखेर सनराइज सभा हललाई पुरै डिजिटल सिस्टममा जोडिएको उनले बताए ।

सभा हलको सिट संख्या २८ सय ४० रहेको छ । हलभित्र छिर्ने ४ वटा प्रवेश द्वार छन् । पहिलो द्वारबाट भिभिआइपी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै प्रवेश गर्नेछन्। अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्ने छन् ।

परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ छन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरूले प्रवेश पाउने छन् । मूल प्रवेश द्वारबाट प्रवेश गर्दा साथ हलको छतबाट पार्टी र चुनाव चिन्ह सूर्य अंकित झण्डा लहरै फहराएका छन् ।

अन्तिम प्रवेश द्वारबाट क्याटरिङ्गका लागि खाद्यान्न, खाने पानी ढुवानीका लागि खुला गरिएको छ । दोस्रो र तेस्रो प्रवेशद्वारबाट महाधिवेशन हल छिर्दासाथ दायाँतिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्बिर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ ।

हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा (एमाले) र अंग्रेजीमा ‘सीपीएन यूएमल’ले स्वागत गरिएको छ । पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलेको पनि देख्ने उनले बताए ।

बायाँतिर नेकपाका संस्थापक महासचिव पुष्पलाल, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको तस्बिर राखिएको छ । पश्चिमतिर कार्लमाक्र्स, एङ्ेल्स र लेनिनको पूर्ण कदसहित तस्बिर राखिएको छ । हलभित्र २२ सय स्क्वार फिट डिजिटल बोर्ड राखिएको छ ।

सभा हलको पर्खालसँगै मिडिया सेन्टरको व्यवस्था गरिएको छ । पूर्ण वाइफाई जोनसहितको मिडिया सेन्टरमा डिजिटल बोर्डको व्यवस्था गरिएको छ । प्रतिनिधि, पर्यवेक्षकको परिचयपत्र मूल गेटमा मात्रै होइन हलभित्र पस्दा पुनः स्क्यान गरिन्छ । त्यहीँबाट स्वयं सेवकले कसलाई कुन द्वार र कुन सिटमा बस्ने भनेर व्यवस्था मिलाउने छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले कसरी उद्घाटन गर्ने त्यसको डिजिटल कन्सेप्ट अझै टुङ्गो नलागेको उनले बताए ।

मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठले भने, ‘तर परम्परागत उद्घाटन, स्वागत, शुभकामना मन्तव्य जस्ता कार्यक्रम रहने छैन । उद्घाटनको काम १२ मिनेटभित्र सकिने छ । उद्घाटन समारोहमा मंगल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बज्ने छ ।’

उद्घाटन समारोहमा सभा हलभित्र धुन बजिरहँदा बाहिर मिडिया सेन्टरमा कलाकारहरूले आर्ट बनाउने र त्यसको लाइभ भित्र हलमा पनि गरिने उनले बताए। झाँकीहरू हल बाहिर नै प्रदर्शनको व्यवस्था गरिएको छ ।

उद्घाटन लगत्तै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

त्यसैगरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहने छन् । स्वयं सेवक, सुरक्षा निकायसहित ३५ सय जनालाई खानाको व्यवस्था गरिएको छ ।

२१ गते सबै प्रतिवेदन माथिको छलफलका लागि १० समूहमा विभाजन गरी छलफल गराइने छ । त्यसका लागि माथि छतमा ४, हल प्रवेश छेउमा २, हलभित्र २ र बाहिर क्याटरिङ स्थलमा २ वटा समूह छलफलको लागि व्यवस्था मिलाइएको छ ।

सातदोबाटो चोकबाट महाधिवेशन स्थलसम्म यातायातको व्यवस्था र सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म विभिन्न पार्टी कमिटी र जनसङ्गठनहरूका तर्फबाट स्वागतद्वारका अतिरिक्त उपत्यकाका विभिन्न स्थानहरूमा स्वागत गेटहरू निर्माण लगायत आवश्यक सबै काम पूरा भएको ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *