राखेपद्वारा भैरहवामा निर्माणाधीन सिद्धार्थ क्रिकेट मैदान निरीक्षण

रुपन्देही । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले रुपन्देहीको भैरहवामा निर्माणाधीन सिद्धार्थ क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।

बुधबार उपाध्यक्ष आचार्यसहितको टोलीले मैदानको निरीक्षण गर्दै बहुवर्षीय ठेक्का लगाई निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए । निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपाध्यक्ष आचार्यले रंगशाला निर्माणको काम पूरा गर्न राखेपले सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘हामी सबैले हातेमालो गरेर यो रंगशाला निर्माण सक्नुपर्छ’, उनले भने, ‘बहुवर्षीय ठेक्का लगाउन सकियो भने चाँडै निर्माण सम्पन्न गर्न सकिन्छ ।’ उनले स्रोतको सुनिश्चितता गर्न विभागीय मन्त्रालय र अर्थमन्त्रालयसँग छलफल गर्ने बताए । गतहप्ता उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समेत रंगशालाको निरीक्षण गर्दै बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

उपाध्यक्ष आचार्यले संघले रंगशाला निर्माण सक्न निरन्तर पहल गरिरहेको जनाउँदै आफूले पनि अर्थमन्त्रीसँग कुराकानी गरेर बहुबर्षीया ठेक्कामा लैजान पहल गर्ने बताए ।

राखेपले आवश्यक खेल पूर्वाधार र खेल सामग्री उपलब्ध गराउन कटिबद्ध रहेको उनले जनाए । रंगशाला स्तरोन्नतीका क्रममा केही जमिन अधिग्रहण गर्नुपर्ने रहेको बताउँदै यसका लागि पहल गर्ने उनको प्रतिबद्धता छ ।

आचार्यले वर्खा याममा पनि रंगशाला संरक्षण गरी जुनसुकैबेला क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिने गरी तयारी अवस्थामा राखिएको भन्दै रुपन्देही क्रिकेट संघको प्रशंसा गरे ।

आचार्यले क्रिकेट मैदान, भीआईपी प्याराफिट र चेन्जिङ रुम लगायको निरीक्षण गरेका थिए । संघका अध्यक्ष हरिबहादुर थापाले नेपाली खेलकुद क्षेत्रको सर्वोच्च निकाय राखेप भएकाले सकारात्मक पहल गरे चाँडै नै रंगशाला निर्माणको कामले पूर्णता पाउने बताए ।

उनले जग्गा अधिग्रहण, बहुवर्षीया ठेक्का, अन्य पूर्वाधार निर्माणमा सहयोग गर्न आग्रह गरे । सबैको पहल र सहयोगले रंगशाला बाह्रै महिना क्रिकेट खेल्न सकिने गरी तयारी अवस्थामा राखिएको उनले बताए ।

नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव तथा रुपन्देही क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले डीपीआर अनुसार करिब १५ हजार हाराहारी दर्शक अट्ने रंगशाला बन्ने बताए । उनले चालु वर्षमा ३ करोड रुपैयाँ विनियोजन भएको जनाउँदै उक्त रकमबाट प्याराफिट बनाइने बताए ।

यस्तै, लुम्बिनी सरकारबाट विनियोजित १० लाख रुपैयाँले खेलाडीहरुको चेन्जिङ रुमलाई व्यवस्थित गरिने जनाए । राखेपले सकारात्मक सहयोग गर्दा बहुवर्षीया टेन्डर प्रक्रिया अघि बढ्न सक्ने उनको भनाई छ । यस्तै, रंगशालालाई डीपीआर अनुसार सम्पन्न गर्न आवश्यक सहयोग र पहलकदमी निरन्तर गर्न राखेपलाई उनको सुझाव छ ।

मल्लले नेपालको भौगोलिक र पूर्वाधारका हिसावले काठमाडौंपछि सिद्धार्थ क्रिकेट मैदानको भविष्य सबैभन्दा राम्रो भएको जनाए । लुम्बिनी, गौतमबुद्ध विमानस्थल, स्तरीय होटल र मुलुककै दोस्रो ठूलो भन्सार नाकाले गर्दा पनि भैरहवामा ठूला र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिने उनको भनाई छ ।

यसका लागि सबैभन्दा पहिला रंगशाला निर्माणको काम सक्नु पर्ने उनको आग्रह छ । निरीक्षणका क्रममा संघका उपाध्यक्ष धीरज क्षेत्री, सदस्यहरु विजयसिंह ज्ञवाली, मनोज भण्डारी, उदयकुमार मल्लिकलगायत सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *