काठमाडाैं । नेकपा एमालेका तथा प्रतिनिधिसभा सांसद योगेश भट्टराईले ‘माग्ने राजा’ चलचित्र हेरेका छन् ।
साथै आफूलाई चलचित्रको कथावस्तु मन परेको बताएका छन् । चलचित्रले दिन खोजेको सन्देशबारे उनले भने, ‘देश, समाज र विकासका लागि राजनीतिलाई राम्रो बनाउनुपर्यो । पार्टीभित्र देखिएको, सरकारमा देखिएको र समाजमा देखिएका विकृतिहरुलाई सबै मिलेर हटाउनुपर्यो । राम्रो कथावस्तुमा बनेको फिल्म छ । सकरात्मक सन्देश छ ।’
तर, चलचित्रमा देखाइएजस्तै मात्रै राजनीति नभएको उनले बताए । चलचित्र काल्पनिक साहित्य भएको उनको भनाइ छ । यद्यपि समाजका कतिपय कुरा चलचित्रमा प्रतिबिम्बित भएको बताए ।
उनले केदार घिमिरेको अभिनयको प्रशंसा गर्दै भने, ‘केदार जीले बुलन्द खेल्नुभएको छ । कमेडीमा खेल्दासम्म उहाँ माग्ने बूढा हुनुहुन्थ्यो । अब नाम बदलिएर राजा भयो । चलचित्रले पनि टन्नै पैसा कमाएको छ ।’
‘माग्ने राजा’ हलमा हेरिरहँदा हलबाहिर ‘राजा फर्काउने’बारे भएका गतिविधिको प्रसंग निकाल्दै भट्टराईलाई पत्रकारले सोधे, ‘देशमा राजाको सम्भावना कत्तिको देख्नुहुन्छ ?’ भट्टराईले सीधा जवाफ दिए, ‘राजा भनेको इतिहास हो, त्यसलाई इतिहासकै रुपमा राख्नुपर्छ ।’
ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’ अहिले हलहरुमा दोस्रो सातामा चलिरहेको छ । चलचित्रले ४ करोडको आँकडा पार गरिसकेको निर्माताको दाबी छ । चलचित्रमा केदार घिमिरेको अलवा वर्षा शिवाकोटी, विल्सन विक्रम राई लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा सामिप्यराज तिमल्सेनाले लेखेका हुन् ।

Leave a Reply