प्रधानमन्त्रीको चीन भ्रमणबारे परराष्ट्रविदसँग प्रेस चौतारीको बहस, सीमा विवादमा एकजुट हुनुपर्नेमा जोड

काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य तथा वैदेशिक मामिलाका विशेषज्ञ डा. राजन भट्टराईले सीमा विवादका विषयमा कुनै पनि हालतमा सम्झौता नगर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे परराष्ट्रविदसँग अन्तसंवाद’ कार्यक्रममा उनले भने, ‘अघिल्लो पुस्ताले ज्यान दिएर जोगाएको भूमि आजका पुस्ताले अडानका साथ सुरक्षित राख्नुपर्छ। एकताबद्ध प्रयास नगरे देशको रक्षा सम्भव छैन, यो केवल व्यक्ति विशेषको होइन, सम्पूर्ण देशभक्त नागरिकको साझा जिम्मेवारी हो ।’

डा. भट्टराईले लिपुलेक लगायतका भूभागमा नेपालको दाबी कदापि छाड्न नहुने स्पष्ट गरे । उनका अनुसार देशभक्त नागरिकको हिसाबले उक्त भूभागको दाबी हामीले छोड्नु हुँदैन। सीमा विवाद टुङ्गिन समय लाग्न सक्छ, तर अडान छाड्न हुँदैन। अन्य राष्ट्रिय विषयमा विवाद हुन सक्छ, तर यस्ता मुद्दामा सबैले एकमत हुनु आवश्यक छ ।

भारत–चीनबीचको सहमतिमा लिपुलेकलाई व्यापारिक नाका बनाउने निर्णय नेपालका लागि अस्वीकार्य भएको उनले प्रष्ट पारे । साथै, चीनले नेपालका चासोलाई बेवास्ता गर्न नहुने र नेपाललाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले सबै खालका समस्याको समाधान संवादबाट मात्र सम्भव हुने जोड दिए ।

नेपाल-भारत सम्बन्ध बहुआयामिक भए पनि सीमा विवादमा नेपाल स्पष्ट रहेको डा. भट्टराईले भने, ‘नेपालको भूमि कसैले पनि मिच्न पाउँदैन । राष्ट्रिय स्वाभिमानका सवालमा सम्झौता गर्न सकिँदैन । राजनीतिक दल, बौद्धिक समुदाय र नागरिक समाजले साझा दृष्टिकोण बनाउनुपर्छ । वार्ता र कूटनीतिक माध्यमबाट मात्र स्थायी समाधान सम्भव छ ।’

कार्यक्रममा नेपाल–भारत सीमा अध्ययन समितिका संयोजक डा. विष्णु उप्रेतीले पनि ठूला छिमेकी राष्ट्रहरूले साना मुलुकसँग सम्मानजनक व्यवहार गर्नुपर्ने बताए । उनले लिपुलेक क्षेत्र ऐतिहासिक रूपमा नेपालको भूमि भएको प्रमाण पर्याप्त रहेको उल्लेख गर्दै भारत र चीन दुवैले नेपाललाई हेपाहा व्यवहार गर्न नहुने टिप्पणी गरे ।

त्यस्तै, सीमा विज्ञ डा. बुद्धिनारायण श्रेष्ठले पनि प्रमाणसहित दाबी निरन्तर अघि बढाउनुपर्नेमा जोड दिए । उनका अनुसार, सीमा विवाद केवल दुई देशबीचको कूटनीतिक समस्या नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको मुद्दा भएकाले सरकारले स्पष्ट र दृढ अडान लिनुपर्छ।

कार्यक्रम प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । सहभागी विज्ञ र परराष्ट्रविद्हरूले प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा राखेको लिपुलेकबारेको स्पष्ट अडानबारे उल्लेख गर्दै नेपालका विषयलाई पाण्डेले विश्वमा स्पष्ट आफ्ना कुरा राख्न सक्ने नेतृत्व भएकाे जनाउँदै नेपालले आफ्ना हित र सार्वभौमसत्ता जोगाउन अडान निरन्तरता दिनुपर्ने निष्कर्ष प्रस्तुत गरे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *