काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको विषयमा नेपालले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) लाई समर्थन गरेको भन्नेबारे विरोधाभाष कुरा आएको जनाएको छ।
यसबारेमा विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको बेलामा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले नेपालले जीएसआईलाई समर्थन गरेको भन्नेबारे आधिकारिक बुझेपछि मात्रै बोल्ने बताए।
उनले नेपाल प्रेससँग भने, ‘दुईथरी कुरा विरोधाभाष कुरा आएको छ, चिनियाँ पक्षले विज्ञप्ति नै निकालेको समर्थन जनाएको हो भनेका छन्। यताबाट एकतर्फी भनेका छन्, त्यसलाई भेरिफाइ गरेर मात्रै बोल्छौं ।’
प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी जिनफिङबीच शनिबार भएको भेटवार्तापछि बेइजिङले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालले जीएसआईमा समर्थन जनाएको उल्लेख छ। कतिपयले नेपाल चीनको ग्लोबल सुरक्षा रणनीतिमा सहमत हुनु भएको सैन्य गठबन्धनमा सहभागिताको अर्थमा पनि टिप्पणी गरिरहेका छन्।
यद्यपि, जीएसआईको विषयमा नेपालमा बहस र विवाद भएको यो पहिलो पटक भने होइन। विवाद चलिरहेको बेलामा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडाले जीएसआईमा नेपालले समर्थन नजनाएको प्रष्टीकरण दिएका छन्।
प्रधानमन्त्रीको भ्रमण दलमा रहेको खतिवडाले सहमति नै नभएको विषयमा नेपाल जीएसआईको पक्ष बन्यो भन्ने ढङ्गले प्रचार गरिनु गलत हुने बताए। यसैबीच गृहमन्त्री रमेश लेखकले कुनै पनि देशको सैन्य रणनीतिमा नेपाल सहभागी नहुने प्रष्टीकरण दिएका छन्।
वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामी कुनै पनि देशको सैन्य रणनीतिमा सामेल हुँदैनौँ । यो कुरा पहिल्यै हामीले भनिसकेका छौँ। कुनै पनि देशको सैन्य रणनीतिमा नेपाल सहभागी हुँदैन। हामी सबैको मित्र छौँ, हाम्रो कसैसँग शत्रु भाव छैन। यसबारेमा प्रधानमन्त्री फर्केर आइसकेपछि पनि आफ्नो कुरा भन्नुहुनेछ।’

Leave a Reply