काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीले पहिलोपटक अभ्यास गरेको उम्मेदवार छनोट प्रक्रियामा केही कमीकमजोरी भएका हुन सक्ने स्वीकार गरेका छन् । त्रुटिको आशंका भएपछि त्यसको निरुपण गर्नुपर्ने उनको राय छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सम्भावित त्रुटि ‘नियत’ को नभएर ‘नियती’ को होस् भन्ने कामना गरेका छन् ।
यसअघि आम निर्वाचनमा पार्टीले समानुपातिक सांसद छनोट गर्दा भएको त्रुटिपूर्ण निर्णयले आफू धपाइएको स्मरण गर्दै कार्कीले अहिलेको प्रक्रियामा पनि जान–अञ्जानमा त्रुटि भएको हुनसक्ने संकेत गरेका हुन् ।
कार्कीले लेखेका छन्, ‘पार्टीको समानुपातिक सांसद छनौट १२ क्लस्टरमा चुनाव भएर नतिजा निकालिएको थियो । पछि सांसद छान्दा ६ क्लस्टर बनाइयो र म धपाइएँ । त्यसैले मैले आफु अलग्गै रहेर यसपटकको उम्मेदवार छनौटको प्रक्रिया चासोका साथ हेरेका थिएँ ।’
प्रक्रियामा कुनै त्रुटि भएको जस्तो आफूलाई नलागेको र अहिले पनि त्यस्तो निस्कर्षमा पुगिनसकेको उनको भनाइ छ ।
‘यद्यपि केही कमजोरी भएका हुन सक्छन्, जसको छानविन र निष्कर्ष आवश्यक छ । पहिलेको समानुपातिक सांसद छनौटको विवाद पनि समाधानमा पुगेन, जुन बेला–बेला भिन्न स्वरूपमा कच्पल्टिइरहन्छ । यसले नयाँ प्रणाली निर्माणमा शंका बढाउँछ । त्रुटी हुने वा भएको आशंका हुने तर त्यसको निरूपण नहुने हो भने ति थुप्रिदै गएर थामी नसक्नुका बन्छन्,’ उनले भनेका छन् ।
रास्वपाले रुपन्देही ३ मा उम्मेदवार खडा गरेका लेखजंग थापाको निजी जीवनबारे उत्पन्न विवादमा पनि कार्कीले प्रतिक्रिया दिएका छन् ।
उनको भनाइ यस्तो छः
बहुविवाहका सन्दर्भमा पहिलेको श्रीमतीसँग छोडपत्र भइसकेको तर सम्बन्ध चै अहिले पनि सुमुधुर रहेको भन्ने जानकारी प्राप्त गरेको छु । कानूनीरूपमा सम्बन्ध विच्छेद भएको भए अन्य त व्यक्तिगत र पारिवारिक सन्दर्भको बिषय भइहाल्यो । एउटा सम्बन्ध ‘बिग्रिए पछि’ कि मर्नु कि एक्लै जिन्दगीभर बस्नु भन्ने कसैले पनि चाहदैन भन्ने मानेको छु ।

Leave a Reply