५९ वर्षे अहिल्यै लाग्दा मुख्य सचिवसहित यी सचिव लाभान्वित, १८ सय नयाँको ढोका बन्द हुने दाबी

काठमाडौं । सघीय निजामती सेवा विधेयकमा तत्काल ५८ वा ५९ वर्षे अवकाश उमेर लागू गर्ने भन्नेमा बहस भइरहँदा विधायन समितिमा सरकारी पक्ष ५९ वर्षेको अडानमा छ ।  कांग्रेस-एमाले ५९ वर्षे उमेर हद तत्काल लागू गरेर जानुपर्ने पक्षमा उभिएका छन् ।

तर, समितिको शुक्रबारको बैठकमा ५८ वर्षे अवकाश उमेर हद लागू गर्ने सर्वसम्मत निर्णय भइसकेको छ । तर, आइतबारसत्तापक्षको निर्णयबमोजिम मन्त्रीले ५९ वर्षे अवकाश उमेर यसै वर्षदेखि लागू गर्नुपर्ने प्रस्ताव राखिन् ।

५९ वर्षे अहिले लागू हुँदा भने मुख्यसचिवसहितलाई फाइदा पुग्छ । उनीहरू यसै वर्ष ५८ वर्षे उमेर हदका कारण घर जाँदै थिए । एक वर्ष जागिर लम्ब्याउन उनीहरूले मन्त्री र सत्तापक्षका सांसदलाई लचिलो बनिदिन अनुनय गरिरहेको बताइन्छ ।

५९ वर्षे उमेर हदमा को-को जाँदै छन् ?

निजामती विधेयक, २०४९ को व्यवस्था अनुसार ५८ वर्षे उमेर हदका कारण राष्ट्रिय कितावखानको विवरण अनुसार चालू आर्थिक वर्षमा मुख्यसचिव एक नारायण अर्यालसहित ७ जना सचिवबाट अनिवार्य अवकाशमा जाने छन् ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव फणिन्द्र गौतम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव डा.रामप्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव डा. केशवकुमार शर्मा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपकुमार खराल, नेपाल ट्रष्टको कार्यालयका सचिव रामआधार साह यसै वर्ष ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने सूचीमा छन् ।

सचिव मात्रै नभएर करिब ६५ जना सहसचिवको पनि ५८ वर्षे अवकाश उमेरहदका कारण यसै वर्ष अवकाशमा जानेछन् । सहसचिवभन्दा मुनि अर्थात् उपसचिवदेखि श्रेणिविहीन कर्मचारीसम्म गरेर करिब १८ सय कर्मचारी घर जाँदै छन् ।

तर, ५९ वर्षे अवकाश उमेर हद तत्काल लागू गरेको अवस्थामा उनीहरूको जागिर अवधि एक वर्ष लम्बिन्छ । जसले लोक सेवा अयोगबाट हुने करिब १८ सय विज्ञापन होल्ड हुने दाबी गरिएको छ ।

चालू आर्थिक वर्षमा मुख्यसचिवदेखि श्रेणीविहीनसम्म गरेर २ हजार २ सय ११ जना ५८ वर्षे उमेर हदका कारण अवकाशमा जाने सूचीमा रहेकोमा सचिवदेखि श्रेणीविहीनसम्म गरेर ३३० जना कर्मचारी आजको दिनसम्म अवकाशमा गइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *