काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री आनन्द प्रसाद पोखरेल नयाँ पुस्तक ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ लिएर आएका छन् ।
नेकपा एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा पुस्तक सार्वजनिक हुने लेखक पोखरेलले बताए ।
पुस्तकमाथि एमाले स्कुल विभाग प्रमुख तथा उपमहासचिव प्रदीप ज्ञवालीले टिप्पणी गर्नेछन् ।
एमाले काठमाडौं जिल्ला कमिटी र दोलखा काठमाडौं सम्पर्क मञ्च आयोजक भएर पुस्तक विमोचन गर्न लागिएको हो ।
पोखरेलका प्रकाशित ग्रन्थहरूमध्ये “गन्तव्य समाजवाद” राजनीतिक वृत्त र विचारकहरूले रुचाएको पुस्तक हो । त्यस्तै ‘प्राकृतिक सम्पदा’ नामक मासिक प्रकाशनले जलवायु न्याय र वातावरणका विषयमा लामो समयदेखि आवाज उठाउँदै संविधानमा संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेका थियो ।
प्रस्तुत कृति पनि उनको राजनीतिक दृष्टि, अनुभव, कम्युनिस्ट आन्दोलन, सङ्गठन निर्माण र समाजवादी विचारलाई उजागर गर्ने अर्को महत्त्वपूर्ण प्रयास भएको एमाले जिल्ला कमिटी काठमाडौंका अध्यक्ष दीपक निरौलाले बताए ।
को हुन् पोखरेल ?
वि सं २०१६ मा दोलखा जिल्लाको तामाकोशी गाउँपालिका ३, जफे, लप्सेमा जन्मेका आनन्द प्रसाद पोखरेल नेपाली राजनीतिका प्रखर नेता र समाजवादी विचारक हुन् ।
२०३२ सालदेखि कम्युनिष्ट राजनीति र जनसेवामा सक्रिय योगदान दिँदै आएका पोखरेल प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा रहँदा पर्यटन, कृषि, प्राकृतिक स्रोत व्यवस्थापन, ऊर्जा, वन तथा सामुदायिक विकासका क्षेत्रमा नीति निर्माण गरी उल्लेखनीय योगदान पुर्याएका छन् ।
राजनीतिक सङ्घर्षका विभिन्न चरणमा पटक पटक भूमिगत र जेल जीवन बिताएर विद्यार्थी आन्दोलनदेखि राष्ट्रिय राजनीतिसम्मको यात्रामा अग्रपङ्तिमा रहँदै आएका पोखरेल हाल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पोलिटब्युरो सदस्यको जिम्मेवारीमा छन् ।

Leave a Reply