यूएईमा सम्पन्न प्रथम अजमान खुल्ला तेक्वान्दोमा नेपालकी शान्तिलाई रजत पदक

यूएई । संयुक्त अरब इमिरेट्सको अजमानमा सम्पन्न प्रथम अजमान खुल्ला तेक्वान्दो प्रतियोगितामा नेपाली प्रतिस्पर्धी शान्ति भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्न सफल भएकी छन् ।

अजमान सरकारको।स्पोर्ट्स एकेडेमीको सम्पन्न सो प्रतियोगितामा जुनियरदेखि सिनियरसम्मका विभिन्न उमेर र तौल समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो।

 प्रतियोगितामा भारत, फिलिपिन्स, नेपाल, यूएई, बहराइन, ओमान, प्यालेस्टाइन, पाकिस्तान, बंगलादेशलगायत १५ भन्दा बढी देशका गरी करिब ५१५ खेलाडीहरूले सहभागिता जनाएका थिए।

शान्तिले सिनियर महिला ५७ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले प्रारम्भिक चरण, क्वाटर फाइनल र सेमिफाइनलमा विजयी हुँदै फाइनलमा प्रवेश गरेकी थिइन् । यद्यपि  फाइनल खेलमा बहराइनकी हफ्सा जबल्ला हसनसँग प्रतिस्पर्धा गर्ने क्रममा हेड किकमार्फत अंक गुमाउनुका साथै सामान्य घाइते भएका कारण खेलमा पूर्ण नियंत्रण हुन नसक्दा शान्ति अन्ततः रजत पदकमा सीमित भइन् ।

यद्यपि लगातार दुई खेल जितेर फाइनलमा पुगेकी शान्तिको प्रदर्शन सराहनीय मानिएको प्रशिक्षक जगन अधिकारिले बताए ।

यस उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपाली तेक्वान्दो खेलाडीहरूको क्षमताको परिचय दिन सहयोग पुर्‍याएको आयोजकहरूले बताएका छन् ।

प्रतियोगितामा दोस्रो स्थान कब्जा गरी रजत पदक विजेता भण्डारी मध्यपूर्वमा पहिलो दुई तल्ले बिग बस् चलाउने महिला समेत हुन् ।

ओखलढुङ्गामा जन्मेकी भण्डारीले हाल दुबईमा दुई तल्ले बिग बस चलाउँदै आएकी छन् । मध्यपूर्वको पर्यटन प्रबर्द्धनमा  समेत उनी उत्तिकै चर्चित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *