चिनियाँ राष्ट्रपति सीसँग ओलीले ‘लिपुलेक पास’ सम्झौताको विरोध गरेपछि भारतीय मिडियामा सरगर्मी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भारत र चीनबीच लिपुलेक पासबारे भएको सम्झौतामा आपत्ति जनाएपछि भारतीय मिडियामा बहस सिर्जना गरेको छ । भारत–चीनबीच यसअघि २०८० मंसिरमै लिपुलेकको मार्ग प्रयोग गर्ने सहमित भएको थियो । जसमा नेपालको सहभागीता थिएन । पुनः २०८२ भदौ ५ गते नेपालको स्वीकृतिबिनै उनीहरुले लिपुलेक पासको प्रयोगबारे सम्झौता गरेपछि सीमाको विषय फेरि सतहमा आएको हो ।

संयोग कस्तो रह्यो भने यही बेला चीनको सांघाई सहयोग संगठन (एससीओ) र जापानसँगको युद्धको ८० औं वर्षको स्मृति समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली चीन पुगे । लिपुलेकको उक्त सम्झौताबारे नेपालमा विभिन्नस्तरमा विरोध भएपछि प्रधानमन्त्रीले संसदमा औपचारिक जानकारी नै गराएर चीनका राष्ट्रपति सीसँग भेट्दा उक्त कुराप्रति नेपाल सरकारको दृढ धारणा राख्ने प्रतिवद्धता जाहेर गर्नुपरेको थियो । त्यस्तै, नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको भन्दै भारत–चीनले नेपालको संलग्नताबिना गरेको सम्झौताको विरोध जनाएको थियो ।

भदौ १४ गते चीनको तियान्जिन पुगेका प्रधानमन्त्री ओलीको त्यहाँ भव्य स्वागत मात्र भएन त्यसको केही समयमै राष्ट्रपति सीसँग उच्चस्तरीय भेटवार्ता भयो । उक्त भेटमा ओलीले भारत र चीनबीच भएको लिपुलेक पासको सम्झौताप्रति आपत्ति जनाएर नेपालमा गरेको प्रतिवद्धता पूरा गरे । उक्त भूभाग ऐतिहासिक दस्तावेज, सुगौली सन्धि र सहमितअनुसार नेपालको भएको र सो कुरा चीनले बुझ्नुपर्ने स्पष्ट अडान राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले जानकारी दिए । यसबारेमा नेपाल प्रेसले सार्वजनिक गरेको थियो ।

यो खबर नेपालमा यसरी फैलियो कि प्रधानमन्त्री ओलीलाई आभार दिन सामाजिक सञ्जालमा फोटो ट्रेण्ड नै चल्यो ।

नेपालमा एक किसिमको उत्साह र ऊर्जाको सञ्चार भइरहँदा उता भारतमा भने उक्त कुरा पाच्य भएन । त्यहाँका सञ्चारमाध्यमले भारत र चीनबीचको सम्बन्धमा नेपालले अड्को थापेकोसम्म भनेर समाचार प्रकाशित गरे ।

भारतको प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई)ले ओलीले सीसँग लिपुलेक पासको विषय उठान गरेको उल्लेख गरेको छ । त्यस्तै, द हिन्दूले नेपालका प्रधानमन्त्री ओलीले सीसँग चीन भारतको लिपुलेक सम्झौताप्रति कडा आपत्ति जनाएको भनेर लेखेको छ । वर्ल्ड इज वान न्यूजले भारत र चीनबीचकाे लिपुलेक सम्झाैताविरुद्ध दबाब दिएकाे भनेर लेखेकाे छ ।

त्यस्तै, लाइभ मिन्टले औपचारिक समाचार लेख्दै नेपालले भारत-चीनकाे लिपुलेक सम्झाैता न कुनै ऐतिहासिक दस्तावेज वा सन्धिसँग सम्बन्धित रहेको भन्दै विरोध जनाएको उल्लेख गरेको छ ।

उता नवभारत टाइम्सले त तल्लोस्तरको समाचार प्रस्तुत गरेको छ । उसले शीर्षकमै ‘भारत-चीन सम्बन्धमा नेपालको कस्तो आपत्ति भन्दै जिनफिङको सामुन्ने ‘बौलाए’ ओली, सार्वभौमताको राग सुनाए’ भन्दै सामाचार छापेको छ ।

त्यसैगरी, जागरणले ‘भारत-चीन सम्बन्धमा किन नेपालले विरोध जनाउँदै छ ? ओलीले सीसँग यसबारे आपत्ति जनाए …’ भनेर समाचार बनाएको छ ।

न्यूज १८ ले ‘चीन पुग्नेबित्तिकै नेपालले किन भारतकाे विराेध गर्न थाल्याे …’ भनेर समाचार प्रकाशित गरेकाे छ ।

त्यस्तै, जीन्यूज, ईटीभी भारत, ट्रिब्युनलगायतका मिडियाले नेपालले राष्ट्रपति सी सामु उठाएको लिपुलेकको विषयलाई प्राथमिकता साथ प्रकाशित गरेका छन् ।

उता चीनको विदेश मन्त्रालयले भने औपचारिक सूचना जारी गर्दै नेपालका प्रधानमन्त्रीले राष्ट्रपति सीसँग भेटवार्ता गरेको जनाएको छ । भेटमा दुई देशबीचको ७० वर्षदेखिका कूटनीतिक सम्बन्धदेखि बीआरआई परियोजनाको कार्यान्वयनबारे छलफल भएको भनेर उल्लेख गरेको छ । चीनले सीसँगको ओलीको उच्चस्तरीय भेटबारेमा ओलीले लिपुलेकको कुरा उठाएको भनेर किन चिनियाँ विदेश मन्त्रालयले उल्लेख नगरेको भनेर समेत प्रश्न उठेको छ ।

 

Comments

One response to “चिनियाँ राष्ट्रपति सीसँग ओलीले ‘लिपुलेक पास’ सम्झौताको विरोध गरेपछि भारतीय मिडियामा सरगर्मी”

  1. हलुवाकाका Avatar
    हलुवाकाका

    भारतीय मिडियाले बोलेको कुरा भन्दा नि अमेरिकामा गोठालो बसेका केही कोठे युटुवे हरुले र नेपाली डलरेहरले त रोइलो गरी राछन त – केपी ओलीले बोल्दै बोलेनन भनेर !! कसलाई साँची कसलाई झुठो मान्नु हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *