रास्वपाका आकांक्षीले दुई-दुई जना पालो गरेर रविलाई भेटे, सुलभ भन्छन्- केही छनक दिनुभएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही-३ मा उम्मेदवार बन्न चाहेका ९ आकांक्षीहरूले आज सभापति रवि लामिछानेलाई कारागारमा गएर भेट गरिरहेका छन् । भेटघाटका लागि उपलब्ध गराइने नियमित समयमा उनीहरूले भेटेका हुन् ।

कारागारमा हरेक दिन ११ बजेदेखि ३ बजेसम्म थुनुवाहरूलाई भेट्न पाइन्छ । रास्वपाका ९ जना आकांक्षीहरू ११ बजे नै कारागार पुगेका थिए । त्यसपछि उनीहरूले एकपटकमा दुईजना गरी आलोपालो गरी भेटिरहेका छन् । एक्लाएक्लै भेट्दा धेरै समय लाग्ने भएकाले कारागार प्रशासनले २-२ जना भेट्न आग्रह गरेको थियो ।

स्रोतका अनुसार प्रत्येकले करिब १० मिनेट कुराकानी गरेका छन् । सुलभ खरेल र पार्थिबेन्द्र उपाध्यायको जोडीले सबैभन्दा बढी समय (करिब आधा घन्टा) लिएका थिए ।

भेटेर निस्किएपश्चात खरेलले सभापतिले उम्मेदवारका विषयमा कुनै पनि संकेत नगरेको बताए ।

उनले भने, ‘मलाई आशा थियो उहाँले केही संकेत गर्नुहुन्छ भन्ने । तर, कुनै पनि छनक दिनुभएन ।’

अरुभन्दा बढी समय कुराकानी गरेको बारे उनले भने, ‘हामी दुवै जना कानूनको विद्यार्थी र राजनीतिक ज्ञान पनि बढी भएकाले अलि धेरै समय छलफल गर्ने अवसर पायौं । सभापतिज्यूले पनि धेरै कुराहरु जान्न खोज्नुभएकाले समय लाग्यो ।’

खरेलका अनुसार रविले आफूलाई पनि को उम्मेदवार बन्छ भन्ने थाहा नभएको बताएका थिए ।

‘दिउँसो सचिवालय बैठक बसेर टुंग्याउने हो, मलाई पनि सचिवालय बैठक पछि मात्रै थाहा हुन्छ, भन्नुभयो’ उनले सुनाए ।

रास्वपाका कतिपय सचिवालयका नेताहरूलाई समेत जनताले चिन्दैनन् तर तपाईंहरु सबै तिर परिचित भइसक्नुभयो भन्दै रविले आकांक्षीहरुलाई हौस्याइरहेका छन् ।

एक आकांक्षीका अनुसार रविलाई राखिएको कोठाको ढोका आज खुल्ला छोडिएको थियो र उनीहरूले बसेरै आरामसँग कुराकानी गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *