कुनै बेला एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे झलनाथ खनालकालीन पार्टी संस्थापनको स्वार्थमा धक्का लागेपछि जननेता मदन भण्डारी र जनताको बहुदलीय जनवादको लिगेसी बोकेकी तत्कालिन उपाध्यक्ष विद्या देवी भण्डारीमाथि धावा बोल्दै उत्तराधिकार समन्धी भद्दा नमूना मानिएको माओ र माओको कान्छी श्रीमती च्याङ चुङको प्रसंग उप्काएर कटाक्ष गर्नुहुन्थ्यो ।
२०७१ साल असार १५ गतेदेखि ३० गते सम्म सम्पन्न एमालेको नवौँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे महासचिव पदका लागि आमनेसामने हुँदा सिर्फ १२ मतको अन्तरले पोखरेल विजयी हुनुभएको थियो । तीन तियाड महाबिगार ! एमालेमा बासी भैसकेको ७० वर्षे र दुई कार्यकालको बखेडा झिकेर अहिले तीन विपरीत ध्रुवको अल्पकालीन र अप्राकृतिक गठजोड जमेको छ । यस अप्राकृतिक गठजोडको मक्सद प्रष्ट छ- ‘असार आयो बाबा, गोरु बेचौँ’ शैलीमा अध्यक्ष ओलीको विस्थापन ।
अहिले ओलीको अपरिहार्यता बोधमा र सघाउनमा विष्णुप्रसाद पौडेल र शंकर पोखरेलको लोभलाग्दो साझेदारीको युग सुरू भएको छ । बहुदलीय जनवादीहरू बीच अभेद्य एकताको आवश्यकताको सही निर्णयको जादु देखिन थालेको छ ।
यसलाई ‘मुखमा राम-राम, बगलीमा छुरा’ भन्दा पनि हुन्छ । शुरूमा अध्यक्ष ओलीकै समर्थनमा पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने भनेर ढाँटियो । ‘ओली महान् हुनुहुन्छ’ भनेर प्रशंसाका गीत बजे । अनि, ‘ओलीको विकल्प छैन, कार्यकर्ता ओलीलाई नै चाहन्छन्, तर विधान बाधक भयो’ भनेर काइते तर्क अघि सारियो । गठजोडको दिवालियापन र दोहोरो चरित्रको स्तर यति टीठलाग्दो छ ।
आफूप्रतिको लोयल्टी नरहेका सहायकहरू साइड लगाउने पुटिन र सी जिनपिनको मात्र होइन, मोदी र ओलीको पनि आ-आफ्नै शैली छ । आफूप्रति सहायकहरूको निष्ठा र नियतको जाँचकी गर्ने र ‘यू टर्न’ लिने सुविधा मूल नेतृत्वसँग हुन्छ । केही दिन्छु, केही दिन्न भन्नु उत्तराधिकारीको नाडी छमाई हुनसक्छ ।
‘नाइँ, मलाई त्यही केटी चाहिन्छ…’ को जिद्दी, ‘…नत्र, जानेका छौँ’ को धमास, ‘खेलौना दिन्छु भन्यो, पछि बोली फेर्यो भने…’ जस्तो रोइकराई उम्दा, अब्बल र परिपक्व उत्तराधिकारीका लक्षण होइनन् । यस प्रकारका बखेडा र चलखेलबाट एमालेको इतिहासमै सबैभन्दा शक्तिशाली अध्यक्ष ओलीप्रतिको आफ्नो निम्छरो निष्ठा र बाङ्गो नियत सतहमा ल्याउनुबाहेक कर्तालाई कुनै फाइदा भएको छैन ।
अप्राकृतिक गठजोडको शृङ्खला
घात, प्रतिघात र अपवित्र गठबन्धन एमालेमाथि भारी परेका छन् । एक हिसाबले एमालेको इतिहास मदन, मनमोहन र ओली त्रिकोणविरुद्ध निकम्मा, गद्दार र छद्म भेषीहरूको हमला, शक्ति ऐँठन र पलायनले भरिएको छ । एमालेसँग सब थोक छ, तर एमालेकै माड खाएर बटारिएका पाखुरा एमालेमाथि नै प्रयोग गर्न लाजघीन नमान्ने राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री भइसकेका नेताको निरन्तरको गनगन, गद्दारी र बहिर्गमन एमालेलाई भारी परेको छ ।
शुरूमा अप्राकृतिक गठजोड, त्यसपछि बाह्य बतास, त्यसपछि अर्को घरको धुवाँ ल्याएर आफ्नो चुलोको आगो निभाउने वितण्डा र अन्ततः बहिर्गमन एमालेका कमजोर तन्तुहरूको नियति बनेको छ ।
एमालेमा घात प्रतिघातको पहिलो घटना माले कालमै २०३९ साल साउनमा भयो । कुनै पनि हालतमा सीपी मैनालीलाई महासचिवबाट हटाउनु हुन्नथ्यो । शालीन आवरणका विश्वासघाती नेता झलनाथ खनालप्रतिको भरोसा नै सीपी मैनालीको महासचिव पदबाटको गलहत्ती र पतनको मोटो कारण बन्यो । महासचिवको पद आफ्नो पोल्टामा आउने भएपछि झलनाथ खनालले शल्य सेनापति चरित्र देखाएर ‘यु टर्न’ लिएपछि सीपीले एकबारको जुनीमा तीतो भोगाइ भोग्नु परेको थियो ।
त्यसपछि एमालेमा घात प्रतिघातका घटनाले अपवित्र गठबन्धनलाई टेको बनाएको पाइन्छ । जननेता मदन भण्डारी विरुद्ध कुनै बेलाका कट्टर दुश्मन सीपी र झलनाथको अपवित्र गठबन्धन एमालेले बेहोरेको पहिलो अपवित्र गठबन्धन थियो । मदनको मति, गति र सरस्वती र विरोधीको दुर्मतिमाथि प्रकाश पार्नुअघि त्यति बेलाको परिवेशको चर्चा आवश्यक छ ।
माधव र झलनाथको जहाज डुब्न छाँटकाँट देखिएपछि भगौडा जर्नेलको रूपमा आएपछि जर्नेली कायमै राखेर जबज रक्षक बटालियनले ओत दिएको थियो । कित्ता अदल बदलको खेलोफड्को भातमा सीमित रहनु पर्ने भाँड्नतिर मोडिएको छ । भीरबाट हामफाल्नेलाई, रिँगिरहेको घट्टमा औँलो कोच्नेलाई राम राम मात्र भन्न सकिन्छ ।
२००७ सालदेखि नै लोकतन्त्रको निम्ति अथक प्रयास गरिरहेको बीपीप्रेरित नेपाली कांग्रेस लोकतन्त्रप्रति अटल निष्ठा भएको एक अर्को भरपर्दो जनआन्दोलनकारी सहयात्री दल पाइरहेको थिएन । २०१७ सालको प्रतिगमनपछि सशस्त्र कारबाही, जनमत सङ्ग्रह र सत्याग्रहजस्ता अभियानमा निरंकूश राजतन्त्र र दरबारद्वारा पालित-पोषित मण्डलेहरूको क्लबको रूपमा रहेको पञ्चायती व्यवस्थासामु कांग्रेस निकै रक्षात्मक देखियो । नेपाली कांग्रेस लोकतन्त्र ल्याउनका लागि वामपन्थी पार्टीहरूसँग सहकार्य गर्न मानिरहेका थिएन ।
शायद बीपीलाई सेनापति काण्ड र सत्ता कब्जाको असफल प्रयास गरेर एक्काइसौँ शताब्दीको कोतपर्वको तयारी गर्ने प्रचण्ड जन्मिने छन् भन्ने थाह थियो । निर्वाचनको सिँढी चढेर अधिनायकवादका लागि आस, त्रास, भ्रम, जाल, निन्दा र प्रशंसाका कुनै पनि हर्कतमा उत्रिन धक नमान्ने प्रचण्डप्रवृतिको जन्म हुनेछैन भनेर वामपन्थीहरूले पनि विचार निर्माणका हिसाबले र व्यवहारले विश्वस्त पार्न सकेका थिएनन् ।
उग्र वामपन्थ लोकतन्त्रको निम्ति गलगाँडको रूपमा खडा हुनेछ भन्ने भयले नै बीपीले राजासँग आफ्नो घाँटी जोडिएको छ भनेका थिए । सुरूमा नेकपा एमाले आचरण, समर्पण र जनसमर्थन सबै हिसाबले कांग्रेसभन्दा लोकतान्त्रिक र उम्दा हुनेमा कांग्रेस नेतृत्वलाई विश्वासै थिएन । फलतः उसले कुनै पनि निरंकूशताविरोधी अभियानमा वामपन्थी शक्तिसँग सहकार्यको आवश्यकता देखेन ।
२०४६ साल असोजमा जननेता मदन भण्डारी र नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको एक ऐतिहासिक भेटले कांग्रेस र वामपन्थी शक्तिका बीचका बार-बन्देज तोडेर सहकार्यको नयाँ युगको सूत्रपात गरिदियो । ‘बोकेको कुकुरले मृग खेद्दैन’ भनेजस्तो दरबारबाट पालित-पोषित बुख्याँचाले जनताको आकाङ्क्षा पूरा गर्न सक्ने कुरै थिएन । जनताको सेवा गर्छु भन्ने पञ्च, महापञ्चहरू जनताको सर्वोच्चता र जनताको युगका बाधक थिए । जनताको जागरणको भौतिक तयारी र वामपन्थी शक्ति र नेपाली कांग्रेसको सहकार्यको आत्मगत तयारीले २०४६ सालको जनआन्दोलन सफल भयो ।
२०४७ साल वैशाखमा तत्कालीन मालेको प्रवक्ता र महासचिवको रूपमा मदन भण्डारी खुला राजनीतिमा आएपछि नेपाली जनताको दबिएको आवाजले एक अद्वितीय कण्ठ पायो । जनताको चेत, शक्ति र सर्वोच्चता मदन वाणी भएर गुन्जिन थाल्यो ।जनताको जागरणले एक कुशल नेता, प्रवक्ता, विचारक र संगठक भेटायो । जनपक्षीय राजनीतिले मदनको सङ्गीत, लय, मति, गति र सरस्वतीको ब्राण्ड पायो । दैव, दरबार, दिल्लीको लीला अपरम्पार ठान्ने भ्रमको बाक्लो तुवाँलो हटाउँदै जननेता मदन भण्डारीले भगवानको स्थानमा जनता जनार्दनलाई स्थापित गर्नु भयो । उहाँले भन्नु भयो, ‘हाम्रा भगवान् भनेका नबोल्ने ढुङ्गाका देउताहरू होइनन्, जीवित जनता हुन् ।’
‘आँ’ गर्दा ‘अलङ्कार’ झल्किन्छ त्यसै भनिएको होइन । खुला राजनीतिको चार वर्षको छोटो राजनीतिमा प्रतिस्पर्धा र पहलकदमीमा खरो उत्रिँदा मदनले गरेका निर्णय र न्याय आगामी पुस्ताको लागि मार्गदर्शन बनेका छन् । २०४७ सालको अन्तरिम सरकार र संविधान निर्माण आयोगमा पात्र चयन, संविधान निर्माणका लागि चाहिने खबरदारी, अन्तरिम सरकार सञ्चालन, सहकार्य र सङ्घर्षको संयोजन, २०४७ सालको संविधान निर्माण र घोषणा, नेकपा (माले) र मार्क्सवादी बीच एकीकरण गरी आजको नेकपा (एमाले) को बलियो जग निर्माणमा मदनको कुशाग्रताको महत्त्वपूर्ण भूमिका छ ।
कांग्रेससँग कम्तीमा पनि केही सिटमा चुनावी तालमेलका लागि इमानदार पहल, उत्कर्षकालको कांग्रेसले गरेको उपेक्षाको काउन्टरमा २०४८ सालको चुनावी सक्रियता, निर्वाचनमा बहालवाला प्रधानमन्त्रीलाई पराजित गरी ‘म्यान अफ दी इलेक्सन’ को स्थान, महाकाली सन्धिसम्बन्धी विवादमा देशभक्तिपूर्ण अडानलगायतका काममा देखाएको सौर्य, साहस, सङ्कल्प र परिपक्वताले मदनको व्यक्तित्वलाई सगरमाथाको उचाइमा पुर्याइ दियो ।
२०४९ सालको स्थानीय चुनावको खराब परिणामले मदनलाई सुखमा नमात्तिने र दुःखमा नआत्तिने नेताको रूपमा प्रस्तुत गर्यो । संकटलाई अवसरको रूपमा उपयोग गर्दै उहाँले रचनात्मक भूमिकालाई जारी राखी मार्क्स मन्टेस्क्यु, महात्मा गान्धी र माओका विचारधारासम्मलाई समेटेर जनताको बहुदलीय जनवाद जस्तो मार्क्सवादको पुनर्व्याख्या मानिने प्रगतिशील र लोकतान्त्रिक विचार निर्माण गर्नुभयो । कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण मदनको अद्वितीय देन हो ।
निरन्तर सकारात्क राजनीतिक पहल गर्नु र आफ्नो भन्दा अरुको टहल गर्नु मदनको सद्गुण शृङ्खलाको चुरो थियो । चाहेको भए अन्तरिम सरकारमा झलनाथ खनाललाई नपठाई ३७ वर्षीय युवा मदन भण्डारी तलतल गरेर आफैँ जान सक्ने अवसरको ढोका खुलै थियो । त्याग, सुझबुझ, सावधानीमाथि पर्दा हालेर, कसैप्रति आभारी नभई यो त मेरो हक नै हो भनेर, उस्तै परे मारमुग्रीमा अब्बल कहलिएर र हत्कण्डा प्रयोग गरेर स्वार्थपूर्ति गरेर छाड्न सक्ने सुविधा र अवसर उपलब्ध थिए । त्यही बाण निकै अघि बढ्छ जो तन्काइएको ताँदोसँगै पछि हट्न जान्छ ।
झलनाथका लागि मन्त्री पदको बाटो खुला गरिदिने त्यागले मदनलाई अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग राजनीति र चुनावी सङ्ग्राम दुवै मैदानमा आमनेसामने हुने नैतिक बल र हैसियतको अखण्ड शक्ति प्रदान गर्यो । जनआन्दोलनको महान् मित्रको उपकार बिर्सने उत्कर्षकालको नेपाली कांग्रेसलाई जवाफ दिन यदि भट्टराई क्याबिनेटमा मदन गएको भए टाट्नाको गोरुको मालिकसँगको गोरुको विद्रोहजस्तो हुने थियो ।
जो, जति उचाइमा पुग्छ, त्यति टाढा देख्छ । कमजोर संगठन भएको पार्टी नेकपा (मार्क्सवादी), ढल्दो उमेर, जीर्ण काया, सहायकको खडेरीको सामना गरिरहेका उक्त पार्टीका महासचिव मनमोहन अधिकारी जीवनको उत्तरार्द्धमा आजका मोहनविक्रम सिंह र मोहन वैद्यजस्तै चपाइएको अनुहार हुने खतराले घेरिएको स्थिति थियो ।
मनमोहन अधिकारीका लागि युवा शक्तिको धनकुवेर पार्टी नेकपा (माले) को एक नम्बरको वरीयता त्याग्ने मदनको त्याग, सुझबुझ, धैर्य र दूरदर्शीता अद्भूत र अनन्य थियो । मदनको त्यही त्याग र सुझबुझका कारणले गर्दा देशले मनमोहन अधिकारीजस्तो राष्ट्रको कोषलाई शासकहरूको शानसौकत र ब्रह्मलुटमा पूर्णविराम लगाएर गरिब जनताको चुलो र जीविकामा पुगाउने इतिहासकै सर्वाधिक जनप्रिय प्रधानमन्त्री पायो ।
फूलको बासना वरिपरि मान्छेको बासना डाँडापरि । जननेता मदन भण्डारीको निधनपछि टाइम्स अफ इन्डियाले लेख्यो, ‘मदन भण्डारी न त राजा थिए, न प्रधानमन्त्री, तर गएका चार वर्षमा काठमाडौंमा शासन उनकै रह्यो ।’
यहाँ प्रसङ्ग अपवित्र गठबन्धनको थियो । एमाले यस्तो दुर्भाग्यपूर्ण इतिहासले अभिसप्त छ, जहाँ जननेता मनन भण्डारी विरुद्ध पनि साजिस हुन्थ्यो र अपवित्र गठबन्धन भयो । जुन झलनाथ खनाललाई मदनले अन्तरिम सरकारको मन्त्री बनाएर पोस्नुभयो, जुन झलनाथ खनाल सीपी मैनालीलाई अपदस्थ गरी महासचिव बनेका थिए, तिनै खनालको मदनलाई रोक्न र फ्याँक्न सीपी मैनालीसँग जोडी जम्यो ।
अहिले विधानको पाई पाई हिसाब गरेर न्वारनदेखिको बल खर्चिने पोखरेललाई २०५६ सालमा मनमोहन अधिकारीको मृत्युपछि विधान मिचेर अध्यक्ष पद रिक्त राखेकोमा आनन्द आएको थियो । मनमोहनको सम्मानका लागि पद रिक्त राखिएको हो भने २०५० साल जेठमा मदन बितेको एक हप्ता नबित्दै उक्त पदमा माधवको थपना के मदनको अपमान थियो त ?
मदन र जबज रोक्न २०४९ माघमा सम्पन्न एमालेको पाँचौँ महाधिवेशनमा दुई पूर्वमहासचिवहरू विपरीत ध्रुवको एकताको नमूना भएर मैदानमा उत्रिएको देखियो । आज ओलीका विरुद्ध जसरी बाहिरी हावा चलाइएको छ, त्यसरी नै त्यति बेला पनि बाह्य हावा पनि मदनको विरुद्धमा चल्यो चलाइयो । सीपी, जेएन सच्चा कम्युनिस्ट हुन् र मदन गोर्वाचोभ हुन् भनेर उग्रवामपन्थीहरूले ढोल पिटेकै हुन् । निकम्मा नेताको पक्षमा, सबल र अब्बलको विपक्षमा बाहिरी हावा चल्छ ।
महाधिवेशनको उद्घाटन सत्रमा मदन भण्डारीलाई सम्बोधन गर्न नदिने हत्कण्डाको तमासा प्रदर्शन भयो । तर के गर्नु ? एमाले कार्यकर्ताको अदालतले युगको साउती बुझ्छ । पाँचौँ महाधिवेशनमा दुईतिहाइ भन्दा भारी बहुमतका साथ जनताको बहुदलीय जनवाद पारित भएरै छाड्यो ।
मदनको अवसानपछि षडयन्त्र झन् तीव्र भयो । एमाले सङ्कटको मुहान नेतृत्व तह रहँदै आयो । जबकि जुझारु, निर्लाेभी र वैचारिक कार्यकर्ताको सापेक्षतामा नेतृत्वपंति झन् तेजतरार रहनुपर्थ्यो । २०४६ सालपछिको नेपाल मूलतः एमाले र कांग्रेसको नेतृत्वको नेपाल हो । २००२ सालदेखि २०३९ सालसम्म विश्वेश्वर प्रसाद कोइरालाबाट निरन्तर प्रेरित रहेकाले नेपाली कांग्रेसलाई उभिनलाई टुँडिखेल जस्तो जब्बर जमिन छ ।
छिमेकीले च्याप्न नसक्ने, दलालको दम नपुग्ने, किनबेच नचल्ने, नदी कटान, बाढी, पहिरो, भासिने समस्या नभएको टुँडिखेल जस्तो जमिन भएको नेपाली कांग्रेससँग प्रतिस्पर्धामा रहेको एमालेले उभिने जमिनको संकट बेहोर्नु परेको छ ।
गद्दार, लाचार र मन्द बुद्धिका नेताहरूको निरन्तरको शक्ति ऐँठन, अपवित्र गठबन्धन, गनगन, गद्दारी र पलायनको संकटका कारण एमालेको विशाल जमिनमा कतै गैरी खेतको शिरै हान्यो शैलीको नदी कटान, कतै तीनजुरेको जस्तो पहिरो, कतै पार्किङमा राखेको गाडी नै गायब पार्ने मकवानपुरको जस्तो जमिन भासिने समस्या, कतै हिमताल विस्फोटपछिको बाह्रबीसेको बाढी, कतै बादल फाटेर विनाशलीला बेहोरेको भारतको उत्तराखण्डको धरालीको जस्तो जमिनजन्य संकट एमालेले बेहोर्दै आएको छ ।
मदनले एमालेलाई आन्तरिक संकटरहित पार्ने समय नै पाउनु भएन । एमालेलाई सुदृढ र सुरक्षित राख्ने दायित्व जनताको बहुदलीय जनवादका अटल हिमायतीको हो । मदनको अवसानपछि महासचिवको उपहार चिट्टा माधव नेपाललाई पर्यो । सीपी र जेएन जस्ता भूतपूर्व महासचिव छँदाछँदै माधवले एमालेको महासचिवको कार्यभार पाउनुको मूल आधार जबजप्रतिको उनको ओठेभक्ति थियो ।
माधवले बहुदलीय जनवादीहरूको एकतामा आफ्नो भविष्य देखेनन् । महासचिव हुन गरिएको आग्रहलाई अस्वीकार गरी आफूलाई महासचिवका रूपमा अघि सार्ने केपी ओलीको त्यागप्रति उनले कहिल्यै कृतज्ञता देखाएनन् । लोभ गर्दा सिद्धि गुम्छ । मदनले जस्तै पहिले देश, जनता, पार्टी र साथीको चासो र चिन्ता होइन आफू प्रथम माधवको मक्सद थियो । यसको परिपूर्तिका लागि माधव गिरिजा प्रसाद र सूर्य बहादुर थापाको धोका धाउनेदेखि राजालाई प्रधानमन्त्री पदका लागि बिन्ती पत्रसम्म उत्रिए ।
यसले मदनले मजबुत पारेको एमालेको स्वाभिमानी मेरुदण्डलाई धुलो र लुलो पार्यो । राजनीतिक घ्राण शक्ति कमजोर भएका दर्ता चलानीहरूको भीड जम्मा पारेर लुई चौधौँको जस्तो अहंकार प्रदर्शनमै महत्त्वपूर्ण समय बर्बाद भयो । माधव नेपालको नेतृत्वकालमा दुई बन्दुक उठे । प्रतिगामी निरंकूश शक्ति र परिचालित अधिनायक शक्तिलाई सुदृढ हुने मौका दिएकाले माधव नेपालको चौध वर्ष लामो महासचिवीय कार्यकालको अन्तिम दिनसम्म आइपुग्दा एमालेको आँगनमा औँसीको अवतरण भयो ।
ओलीविरुद्धको महाभारतको अन्तिम किस्ता
पुटिनका हजार कमजोरी होलान् एक विश्व महाशक्तिका रूपमा रुसलाई पुनर्जीवन दिएको श्रेय पुटिनलाई जान्छ । ओलीका कमजोरी र सीमाहरू होलान् तर युगदेखि युगसम्म माधव र झलनाथको अपवित्र साँठगाँठले गर्दा भीरको डिलमा पुगेको एमालेले पाएको पुनर्जीवन ओली नभएको भए असम्भव थियो । माधव, झलनाथ, प्रचण्डको बहिर्गमनपछि एमाले सङ्लो र सग्लो रहनुपर्ने हो तर धमिलिएको छ र भंगालको अनिष्ट देखा परेको छ ।
दुर्योधन धराशायी हुनु महाभारत युद्धको समाप्तीको निर्णायक बिन्दु थियो त र समाप्ती नै थिएन । बचेखुचेका तीन महारथि अश्वत्थामा, कृपाचार्य र कृत बर्माले पाण्डव शिविरमा घुसेर ठूलो क्षति पारेका थिए । प्रचण्ड, माधव, झलनाथको बहिर्गमनसँगै ओली विरुद्धको महाभारत सकिएको रहेनछ । एमालेमा पछिल्लो तरङ्ग र अपवित्र गठबन्धनले एमालेको धरातल कमजोर पार्ने खेलो नरोकिएतिर संकेत गरेको छ ।
गोरु मूलतः असारमा चाहिन्छ भनेर वर्षभरि पालिन्छ । असार आयो बाबा गोरु बेचौँ शैलीमा ओली विस्थापनका चेष्टा र सुन्दर आवरणहरू माधवकालीन एमालेदेखिको ओली विरोधी महाभारत नसकिएको प्रमाण हो । एमालेलाई एक दुई दशक सत्ता बाहिर राख्ने प्रभुसामु भाका कबोल गरेर पार्टी फोरेकासँगको हिमचिम र वाम ध्रुवीकरणको बाँसुरीको कुनै दम छैन ।
नेपाली कांग्रेस, कांग्रेस आई, भाजपा जस्ता दलसँग लोकतान्त्रिक आचरणका हिसाबले प्रतिस्पर्धामा टक्कर छ । ती दलहरूले पूर्वराष्ट्रपतिको सम्मान, टहल र व्यवस्थापनमा अंगीकार गरेको प्रयोग र अनुभवलाई उपेक्षा गरेर एमाले र जबजको लोकतान्त्रिक चरित्रलाई लाभ छैन । सेनापति काण्ड असफल भएर मात्र लोकतन्त्रको कित्तामा चित्त नबुझेर पनि बस्न बाध्य भएको माओवादीको लहैलहैमा एमालेले लाग्नु छैन ।
वामदेव र ईश्वरका ती चुकहरू
नेकपा (एमाले) लाई २०४८ सालतिर केटाकेटीको अपरिपक्व पार्टी भन्ने गरिन्थ्यो । मदनले परिपक्वताले उत्तर दिनु भयो । उहाँको अवसानपछि त्यति बेला चालीस पैँतालीस वर्षको उमेर समूहका एमाले नेताहरूबाट अपरिपक्व व्यवहार प्रदर्शन भए । उपमहासचिव पदको अवैधानिक सृजना र लाभ हानी हेरेर गरिएको खारेजी, बहुदलीय जनवादी कित्ताका वामदेव गौतमको जबज विरोधी कित्ताका सीपी र झालनाथ कित्तासँगको अपवित्र गठबन्धन, माधव नेपालको जबज पक्षधर हस्ती केपी र वामदेवमाथिको भैँसीको मासु सिङको अचानो गर्ने चरम उपयोगितावादी नीति, महासचिव हटाऊ अभियान र उदीयमान पार्टीको अवाञ्छित विभाजन मूलतः अपरिपक्व नेतृत्वका फसलहरू थिए ।
माधवमा मात्र नभई वामदेवमा पनि त्याग, सुझबुझ र धैर्य देखिएन । सी.पी. र झालनाथ जस्ता जबजप्रति निष्ठा नभएका हस्तीसँगको हिमचिम वामदेव गौतमको मदनप्रतिको गद्दारी थियो । जसले एमालेलाई विभाजनसम्म पुगायो ।
२०५४ साल पछिको द्वन्द्वको चुरो ओली विरुद्धको माधव र झलनाथको अप्राकृतिक गठबन्धन थियो । सही निर्णय गर्ने सवालमा ईश्वर पोखरेलको चूकले पनि अपवित्र गठबन्धनलाई मलजल दियो । बहुदलीय जनवादीको एकताको सट्टा सुलभ र सजिलो बहुमतको आगोमा महत्त्वाकाङ्क्षाको रोटी सेक्ने हतारोले काम पायो । आफ्नो चेहरामा मदनको तृष्णा मेट्ने बहुदलीय जनवादीहरूको मनोविज्ञान पढ्न नसक्दा पोखरेललाई आज गाह्रो परेको छ । चरो अरुले थापेको पासामा पर्छ तर मान्छे आफ्नै फन्दा फस्छ ।
छिमेकीले च्याप्न नसक्ने, दलालको दम नपुग्ने, किनबेच नचल्ने, नदी कटान, बाढी, पहिरो, भासिने समस्या नभएको टुँडिखेल जस्तो जमिन भएको नेपाली कांग्रेससँग प्रतिस्पर्धामा रहेको एमालेले उभिने जमिनको संकट बेहोर्नु परेको छ ।
अहिले विधानको पाई पाई हिसाब गरेर न्वारनदेखिको बल खर्चिने पोखरेललाई २०५६ सालमा मनमोहन अधिकारीको मृत्युपछि विधान मिचेर अध्यक्ष पद रिक्त राखेकोमा आनन्द आएको थियो । मनमोहनको सम्मानका लागि पद रिक्त राखिएको हो भने २०५० साल जेठमा मदन बितेको एक हप्ता नबित्दै उक्त पदमा माधवको थपना के मदनको अपमान थियो त ? अध्यक्ष पदपूर्ति गर्दा अध्यक्ष र महासचिव मध्ये एक पद केपीको पोल्टामा पर्ने भएकोले हिसाबकिताब सहित षडयन्त्र रचिएको थियो ।
किनकि जबजविरोधी झालनाथ खनालसँग माधवको अपवित्र गठबन्धन जमेको थियो । उहिले मिचिएको विधानको बारेमा विवेक बन्धकमा राख्ने र अहिले नमिचिएको विधानको बारेमा कोकोहोलो मच्चाउने पोखरेलको यु टर्नको मक्सद जसरी पनि केपीलाई थला पार्नु देखिएको छ ।
माधव र झलनाथको जहाज डुब्न छाँटकाँट देखिएपछि भगौडा जर्नेलको रूपमा आएपछि जर्नेली कायमै राखेर जबज रक्षक बटालियनले ओत दिएको थियो । कित्ता अदल बदलको खेलोफड्को भातमा सीमित रहनु पर्ने भाँड्नतिर मोडिएको छ । भीरबाट हामफाल्नेलाई, रिँगिरहेको घट्टमा औँलो कोच्नेलाई राम राम मात्र भन्न सकिन्छ ।
महाभारतमा जता कृष्ण उतै विजय भए जस्तै एमाले महाभारतमा जता ईश्वर उतै विजयको हाउगुजी छ । कृष्णले बरु स्थिति हेरी जरासन्धसँगको युद्धमा मैदान छोडेर भागेको पाइन्छ तर कित्ता बदलेको पाइँदैन । पोखरेलको सीप निशाना साँध्नमा थिएन, जसले मृग मार्ने लक्षण देखायो, सुँघेर त्यहीँ पुगी भाग सुरक्षित पार्नमा थियो । अब दिन उस्ता रहेनन् । माधव र झलनाथको बहिर्गमनपछि ओलीमय एमालेमा पोखरेलको स्थिति कृष्णको मृत्युपछि सामान्य भिल्लबाट पराजित भएपछि आत्महत्या गर्ने मनस्थितिमा पुगेका अर्जुनको जस्तै हो ।
विष्णु र शंकरको सही निर्णय
नोकिया धराशायी भएको र आईफोन जमेकोबारे जियाद जियाब्राको भनाई चर्चित छ- ‘तपाईँले केही गल्ती गर्नु पर्दैन, तपाईँको प्रतिद्वन्द्वीले लिएको एउटै सही निर्णय तपाईँको पतनको कारण बन्न सक्छ । आईफोन बनाउने एउटै सही निर्णयले गर्दा नोकिया धराशय भयो ।’ एक समय पेलानमा परेर पनि जबजको धुनी जगाउने शंकर पोखरेल र प्रदीप ज्ञवालीको सही निर्णय कालान्तरमा वामदेवपछि ईश्वरको त्यो चूकमाथि हाबी भएको थियो ।
शुरूमा अप्राकृतिक गठजोड, त्यसपछि बाह्य बतास, त्यसपछि अर्को घरको धुवाँ ल्याएर आफ्नो चुलोको आगो निभाउने वितण्डा र अन्ततः बहिर्गमन एमालेका कमजोर तन्तुहरूको नियति बनेको छ ।
अहिले ओलीको अपरिहार्यता बोधमा र सघाउनमा विष्णुप्रसाद पौडेल र शंकर पोखरेलको लोभलाग्दो साझेदारीको युग सुरू भएको छ । बहुदलीय जनवादीहरू बीच अभेद्य एकताको आवश्यकताको सही निर्णयको जादु देखिन थालेको छ । शिव धनुष भाँचिएको प्रसंगमा रामको उदयसँग परशुरामको कान्ति क्षय भए जस्तै विष्णु र शंकरको राम-लक्ष्मणको जस्तो महामेलले विचार छोडेर बलिया व्यक्ति र बहुमत बोक्ने वामदेव गौतम, ईश्वर पोखरेल र विद्या भण्डारीका पुस्ताको चेहराको सदाको लागि कान्ति क्षय गराएको छ ।
माओ, नेहरू, बीपी, विहारी र केपी
आधुनिक राष्ट्र राज्यमा बलियो, भरपर्दो र विश्वासिलो राजनीतिक दलको मौजुदा एक अनिवार्य सर्त मानिन्छ । रिपब्लिकन र डेमोक्रयाटिक पार्टी छन् तब न महाशक्ति अमेरिका छ । सीपीसी छ तब उदीयमान महाशक्ति चीन छ । भाजपा र कांग्रेस आई छन् तब न आधुनिक भारत छ । नेपाल अटल रहन भरपर्दा लोकतान्त्रिक दलको मौजुदा अपरिहार्य छ । भरपर्दो लोकतान्त्रिक दलको निर्माण एक लामो र जटिल प्रक्रिया हो । माओत्सेतुङलाई यथेष्ट समय दिने चीन र नेहरूलाई मौका दिने भारत उठे भने जुल्पिकर अली भुट्टोको अलोकतान्त्रिक विकल्प खोज्ने हतारोले एउटै समयमा स्वतन्त्र भएको पाकिस्तान र पाकिस्तानी प्रजातन्त्र प्रताडित छन् ।
बीपीले देशलाई थिति र विधिमा राख्न नपाए पनि सिङ्गो जीवन दिएर नेपाली कांग्रेसमा थिति र विधिको बलियो जग बसालेकाले बीपी कांग्रेस लगायतका बगावत र भँगालोबाट नेपाली कांग्रेसलाई हाइसन्चो छ । अटल विहारी बाजपेयीको दीर्घ साधनाले गर्दा आजको भाजपा दक्षिण एसियाको मानक पार्टी बनेको छ ।
एमाले कार्यकर्ताको अदालत पनि कम कुशाग्र छैन । माओ, नेहरू, बीपी र विहारीले पाएको सुविधा ओलीलाई दिँदै आजीवन ओली अरु भोलिको सही निर्णय लिएको छ । कार्यकर्ताको अदालतले काँडेतारको बार लाएनि एक लामो यात्रा तय गरिसकेको छ ।

Leave a Reply