एक महिनापछि धकेलियो ‘शिवांश: च्याप्टर–१’ को रिलिज मिति

काठमाडौं । निर्देशक सन्तोष कुमार आत्रेय निर्देशित चलचित्र ‘शिवांश: च्याप्टर–१’ को रिलिज मिति एक महिना पछाडि धकेलिएको छ। दशैंको छेको पारेर असोज २४ गते प्रदर्शनमा आउन लागेको यो चलचित्र अब तिहारको तीन हप्तापछि अर्थात कात्तिक २७ गते रिलिज हुने भएको छ ।

पछिल्लो समय दशैंमा रिलिज हुने भनिएका कतिपय चलचित्रको रिलिज मिति सरिरहेका छन् । हिजोमात्र दशैंको छेको पारेर असोजमा आउन लागेको गायक तथा नायक प्रकाश सपूतको चलचित्र ‘सोल्टिनी’को पनि रिलिज मिति एक महिना पछाडि धकेलिएको थियो। सायद दशैंमा प्रतिक्षित भनिएका चलचित्रहरु प्रदर्शनमा आउन लागेकाले, केही चलचित्रहरुले धमाधम आफ्नो चलचित्रको रिलिज मिति पछाडी सारेको हुन सक्ने अनुमान लगाउन सकिन्छ।

निर्माणपक्षले चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको नयाँ रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा कैलाश पर्वत देखाईएको छ, जहाँ शिव र निधारमा त्रिशूलसहितको शिव वाहन साँढे छन् । पोस्टरमा शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको देखाईएको छ।

पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश’ यतिबेला पोस्टप्रोडक्सनमा छ। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय चलचित्र हो।

अञ्जान केसी निर्माता रहेको यो चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने, विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय छ । चलचित्रको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *