कवाडी व्यवसायीमाथि काठमाडौं महानगर प्रहरीको दुर्व्यवहार- संसदमा बहस (भिडिओ)

काठमाडौं । मेयर बालेन साहले महानगर प्रहरीको बलमा आतंकित पारेको र आफूहरूलाई गरिखान नदिएको भन्दै दुई वर्षदेखि आन्दोलित कवाड व्यवसायी पछिल्लो दिनमा फेरि सडकमा निस्किएका छन् ।

अदालतले समेत तत्काल कवाड नहटाउन महानगरलाई आदेश दिएको थियो । तर, नगर प्रहरीको दमन नरोकिएको भन्दै उनीहरू विभिन्न मागसहित आन्दोलनमा छन् ।

बालेन भर्सेस कवाड व्यवसायीको आन्दोलनले आज संसदमा पनि प्रवेश पाएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा महानगरले कवाडी व्यवसायीहरूमाथि अत्याचार गरेको भन्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले आवाज उठाए ।

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु शाहले सहरलाई सफा गर्न पैसा र जीवन सुम्पनेहरूलाई सम्मान गर्नुपर्ने ठाउँमा दण्डित हुँदा पनि सरकार बेखबर बनेको बताए ।

‘कवाड व्यवसायहरू एक सातादेखि आन्दोलित छन् । झरीको बेला सडकमा छन्, तर सरकारलाई दुख्दैन् । सरकारलाई छोएकै छैन । सरकार बेखबर जस्तो गर्छ । नेपालमा संवेदना मरेकै हो ? पीडितहरूले शान्ति सुरक्षा, क्षतिपूर्तिको र अदालतको आदेशसँग अपराधीहरूको कारबाहीको माग गर्दैगर्दा सरकार बेखबर हुन मिन्छ कि मिल्दैन् ?’, उनले प्रश्न गरे ।

काठमाडौंमा कवाड सञ्चालन गर्न पाउनुपर्ने र अदालतको आदेश पालना हुनुपर्ने उनको माग छ ।

‘अदालतको आदेशको पालना हुन्छ कि हुँदैन । अदालतको स्टे अर्डरलाई च्यातेर अवेज्ञा गर्दै कवाड व्यवसायमाथि आक्रमण हुन्छ । कुटपिट हुन्छ, डोजर आतंक हुन्छ । तीनिहरूमाथि कानून लाग्नुपर्छ कि पर्दैन । सरकारले शान्ति सुरक्षा गर्न सक्छ कि सुन्दैन यो सरकारले ?’

यस्तै, सत्तारुढ दल नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले कवाड श्रमिकहरूको आदर र सम्मान नगरेकोतर्फ ध्यानाकर्षण गराए ।

‘केही समयदेखि कवाडी क्षेत्रमा काम गर्ने श्रमिकहरूको पनि दुःख सुनिरहेका छौँ । उहाँहरूले गर्ने श्रमप्रति आदर, सम्मान गर्ने र सम्मानित भएको महसुस गर्ने गरी भइरहेको आन्दोलनका जायज माग सम्बोधन गरी निरन्तर कामका लागि सहज वातावरण बनाउनुपर्छ’, उनले भने ।

कवाड व्यवसायहरुको विषयलाई सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद नागिना यादवले नि सदनमा जोडतोडका साथ उठाइन् । अदालतको आदेशविपरीत महानगरले कवाड व्यवसायमाथि अत्याचार र दुर्व्यवहार गरेको उनको आरोप छ ।

सबै नागरिकले गरिखाने अधिकारका साथ सम्मानजनक बाँच्न पाउन अधिकार रहेको उल्लेख गर्दै उनले कवाड व्यवसायीहरुमाथि महानगरले ज्यादती गर्दा पनि सरकार मौन रहेको र सरकारले वार्तामा समेत नबोलाएको उनको भनाइ छ ।

यादवले प्रश्न गरिन् ‘महिनौदेखि काठमाडौं महानगरपालिकाले अदालतको आदेश विपरीत गरेको तोडफोडविरुद्ध कवाड व्यवसायी आन्दोलित छन् । उनीहरूमाथि महानगरले गरेको अत्याचार, दुर्व्यवहार र जनधनको क्षति भएको छ । यस्तो गतिविधि रोक्न सरकारले किन पहल गरिरहेको छैन ?’

राजु पाण्डेलाई लक्षित गर्दै उनले थपिन्, ‘नगर प्रहरी प्रमुखले कवाडी व्यवसायहरूलाई नेपाली भनेको गोरामात्रै हुन् काला नेपाली होइनन् भन्नु खेदजनक छ । रंगले नेपाली हुने होइन, जन्मस्थलले नेपाली हुने हो । हिमाल र तराईमा पनि काला छन् । वातावरणले असर गर्ने हो । यो विषय महानगरले छुट्याउने होइन् ।’

कवाड व्यवसायी र संकलक मजदुरमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको भन्दै महानगर प्रहरीले गरेको कुटपिट, सामान जफत र संरचना भत्काउने कार्य तत्काल बन्द गर्न उनीहरूको माग छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रेखा यादवले पनि कवाड श्रमिकलाई मधेशी नभनेर भारतीय भनी भारतले हेला गरिएको जिकिर गरेकी छिन् ।

शून्य समयमा बोल्दै उनले भनिन्, ‘नेपाली भएर पनि मधेशीहरूले कहिलेसम्म आइडेन्टिटी दिइराख्ने ? कवाडीहरूलाई मधेशी नभनेर भारतीय भनी अपहेलना गरिएको छ ।’

Comments

One response to “कवाडी व्यवसायीमाथि काठमाडौं महानगर प्रहरीको दुर्व्यवहार- संसदमा बहस (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रभु साहलाई यति पनि ज्ञान रहेनछ कि कबाडहरूको आन्दोलन महानगरसँग सम्बन्धित छ । यसले गाली गर्न, विरोध गर्न ओलि बाहेक अरू पाउदैन । यति पनि ज्ञान नहुनेले किन नेता हुँ भन्नू ? प्रभू साह राजनीति छोड दे । काम छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *