२६ करोड ६५ लाखमा निर्माण हुँदै आदर्शको आधारभूत अस्पताल

डोटी । धनगढी-दिपायल-चैनपुर-उरैझन्ज्याङ्ग द्रुतमार्ग अन्तरगत दिपायल मौवा सडक खण्डसँगै एउटा ठूलो कंक्रिट वालले सुरक्षित गरेको जमिन, जमिनमा बन्दै गरेको दुई तले ठूलो भवन टाढैबाट देखिन्छ ।

उक्त भवन १५ शैयाको आधारभूत अस्पतालका लागि निर्माण हुँदैछ । २०८० साल असार २६ गतेदेखि निर्माण कार्य सुरु भएको उक्त भवन २६ करोड ६५ लाख १६ हजार रुपैयाँको लागतमा बन्न लागेको गाउँपालिकाका सूचना अधिकारी डवल भाटले जानकारी दिए ।

भाटका अनुसार २०८३ साल असार १५ गतेभित्र निर्माण भईसक्नु पर्ने उक्त भवनको हालसम्म ७५ प्रतिशत कार्यसम्पन्न भइसकेको छ ।

भवन निर्माणका लागि संघीय सरकारबाट १८ करोड रुपैयाँ र बाँकी गाउँपालिकाले व्यहोर्ने गरी काम भईरहेको उनले जानकारी दिए ।

गाउँपालिकाको केन्द्र रहेको वडा नं. २ को मौवानगरदहमा निर्माण भईरहेको उक्त भवनमा चालु आर्थिक वर्षभित्रै अस्पताल सञ्चालनमा ल्याउने लक्ष रहेको गाउँपालिकाका अध्यक्ष गणेशवहादुर खड्काले भने । उनले चार रोपनी ६ आना जग्गामा अस्पताल निर्माण भईरहेको जानकारी दिए ।

‘त्यो जग्गा तत्कालीन ग्रामिण समिति (हाल अस्तित्वमा नरहेको) को नाममा रहेको थियो, हामीले मालपोत कार्यालयसंग समन्वय गरी गाउँपालिकाको नाममा नामसारी गरेका छौं’, अध्यक्ष खड्काले भने ‘लामो समयदेखि स्थानीयबासीहरुले अतिक्रमण गरी भोगचलन गर्दै आएको जग्गा अस्पताल वनाउनका लागि खाली गराईएको हो ।’

सरकारी गज्जामा व्यक्तिले लगाएका ९ वटा घर टहरा भत्काएर अस्पताल निर्माण कार्य सुरु गरिएको उनको भनाइ छ । उनी भन्छन्, ‘लामो समयदेखि बस्दै आएका व्यक्तिहरुलाई हटाउन अलि बढी समय लागेकाले भवन निर्माण कार्य अलि ढिलो गरी सुरु भएको हो ।’

सुविधा सम्पन्न भवन निर्माण भएसँगै विशेषज्ञ चिकित्सकको दरबन्दीसहित सेवा उपलब्ध गराउने तयारी भइरहेको खड्का बताउँछन् ।

‘भवन निर्माण भईसकेपछि अस्पताल सञ्चालनमा ल्याउन एक करोड रुपैयाँ संघीय सरकारले उपलब्ध गराउने भनेको छ’, गाउँपालिका अध्यक्ष खड्काले भने, ‘अस्पताल सञ्चालनका लागि प्रदेश सरकार र निक साईमन लगायत बिभिन्न गैरसरकारी संस्थाहरुसंग कुरा भईरहेको छ ।’

उनले गाउँपालिकाको केन्द्रमा हाल सञ्चालित स्वास्थ्य चौकीमा एक जना मेडिकल अधिकृत, प्रयोगशाला र एक्स-सेवा लगायतका सेवाहरु प्रवाह भइरहेको बताउँदै भवन निर्माण भईसकेपछि सेवाहरु थप हुने बताए ।

नयाँ भवनमा टायल लगाउने, लाईटिङ्ग, आँगन सम्याउने लगायतका केही कामहरु मात्र बाँकी रहेकोले ति कार्य सकिएलगत्तै अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए । उनी भन्छन्, ‘स्रोत साधनको कमीले गर्दा अस्पताल सञ्चालन गर्न चुनौती पक्कै पनि छ तर स्थानीय जनताको आवश्यकता अनुसार अस्पताल छिट्टै सञ्चालनमा ल्याउनु पर्ने बाध्यता छ ।’

अस्पताल सञ्चालनमा आएपछि आदर्श संगसंगै सायल गाउँपालिकाका जनतालाई समेत सहज हुने बताउँछिन् गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकाया । उनी भन्छिन्, ‘चाँडै सेवा सुरु गर्न आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसंग छलफल भइरहेको छ ।’

अस्पताल सञ्चालन भएपछि सामान्य उपचारका लागि पनि दिपायल सिलगढी पुग्नु पर्ने बाध्यता अन्त्य हुने आशामा छन् स्थानीयबासीहरु । राज्यको ठुलो धनराशी खर्चिएर निर्माण भईरहेको भवनमा छिट्टै अस्पताल सञ्चालन हुनु पर्ने माग राख्छन् ।

३० करोड ११ लाख रुपैयाँको अनुमानित लागत रहेको उक्त भवनको ठेक्का प्रक्रियामा रोयल कन्स्ट्रक्सन घनगढीले २६ करोड ६५ लाख १६ हजारमा वनाउने कबोल गरेको थियो ।

डोटी जिल्लाका नौ स्थानीय तहमध्ये हालसम्म कसैले पनि आधारभूत अस्पताल सञ्चालनमा ल्याउन सकेका छैनन् । पूर्वीचौकी गाउँपालिकाले अस्पतालको भवन निर्माण सम्पन्न गरेपनि अस्पताल भने सञ्चालन भएको छैन । उक्त भवनको गत साता स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गरेका थिए ।

Comments

One response to “२६ करोड ६५ लाखमा निर्माण हुँदै आदर्शको आधारभूत अस्पताल”

  1. Hemanta Kumar Avatar
    Hemanta Kumar

    धेरै धेरै धन्यवाद छ आदर्श गाउँ पालिका लगायत सबै सहयोगी हात हरु आशाछ अबको केही समय पछि सेवा सुबिधा प्रदान हुनेछ भन्य मा🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *