‘सदनलाई लयमा फर्काउन सरकार र दल पनि जिम्मेवार बनिदिनुस्’ (भिडिओ)

काठमाडौं । सभामुख देवराज घिमिरेले भिजिट भिसा प्रकरणमा आन्दोलनरत दल र सरकारबीच सदनको अवरोध हटाउन हुनुपर्ने छलफल र संवाद नभएकोमा चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकको सुरूमै सहमतिका लागि आफैँले सबै पहल र संवादको मार्ग अपनाएको बताए ।

उनले भने, ‘यसरी बैठक सुरू हुनासाथ असहमति प्रदर्शन गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीनरूपमा हानिकारक साबित हुनसक्छ । हामी भविष्यलाई के सन्देश दिइरहेका छौं भन्ने विषयमा सबै सचेत रहनु आवश्यक छ । संसद केवल असहमति अभिव्यक्त गर्ने स्थलमात्र होइन राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो ।’

अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने प्रयोजनका लागि संघीयतासँग प्रत्यक्ष सम्बन्धित विधेयकहरूलाई पारित गर्ने प्रक्रियामा रहेको बताए ।

उनले भने, ‘यी विधेयकहरूमा सबै माननीयज्यूहरूको गम्भीर र रचनात्मक बहस अपरिहार्य छ । समितिहरूमा जस्तै सभामा पनि संसदको गर्भमा रहेका यी कानूनले सबै माननीयहरूकोबहस खोजिरहेको महसुस गरेको छु । आज सम्माननीय प्रधानमन्त्रीले सभामा बोल्नका लागि समय लिनुभएको छ । सबै माननीयहरूलाई बैठकमा सहभागी हुन आग्रह गर्दछु ।’

उनले सरकार, प्रतिपक्ष र सत्तापक्षमा रहेका दल तथा सबै सांसदहरुलाई संवादको वातावरण सृजना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउन अपील गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *