५० लाख खर्चेर खिचिएको ‘माइतीघर’ को रिमेक गीतः पुरानोभन्दा कति फरक ?

काठमाडौं । रिलिजको पर्खाइमा रहेको चलचित्र ‘माइतीघर’ को शीर्ष गीत ‘यो हो मेरो माइतीघर’ आज सार्वजनिक गरिएको छ । पुरानो चलचित्र माइतीघरको कालजयी गीतको रिमेक हो यो ।

ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा भारतीय गायिका सञ्जिवनीले स्वर दिएकी छन् । किरण खरेलको शब्दमा स्वर्गीय जयदेवले संगीत दिएका छन् ।

यो गीतको ओर्जिनल भर्सनमा अर्की भारतीय गायिका आशा भोस्लेको स्वर थियो । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायिकाद्वय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको आकर्षक नृत्य देख्न सकिन्छ । पुरानो गीतमा माला सिन्हासँगै अभिनेता सीपी (चिदम्बर प्रसाद) लोहनीलाई समेत देखाइएको थियो ।

चलचित्रका निर्माता रोहित अधिकारीले यो गीतको भिडियो खिच्न ५० लाख खर्च भएको बताएका थिए । एउटै गीत खिच्न ११ दिन लागेपछि भिडियोको बजेट बढेको उनको भनाइ थियो ।

यति ठूलो रकम खर्च गरिएको गीतको भिडियो कस्तो छ तरु मेकिङ हिसाबले हेर्ने हो भने उत्कृष्ट नै छ । चलचित्र निर्माण टिमले यो गीतको भिडियोको लागी राम्रै मेहेनत गरेको देखिन्छ । भिडियोमा हरेक शब्दले खोजेको लोकेशन छनोट गरिएको छ । लोकेशन र छायांकन पक्षले पनि दर्शकलाई आकर्षित गर्न सक्छ ।

तर, पुरानो गीतमा कलाकार र लोकेसन परिवर्तन गर्दैमा गीतले धमाका गर्छ भन्न सकिदैन । पुराना गीतलाई रिमेक गर्दा सोचेजस्तो सफल नभएका धेरै उदाहरणहरु छन् । त्यसैले, ‘माइतीघर’ को यही गीतले मात्र ५० लाखको लगानी रिकभर गर्छ या गर्दैन वा दर्शकले यो रिमेकलाई पुरानो गीतलाई झैं स्विकार्छन– स्विकार्दैनन्, त्यो हेर्न भने केही दिन कुर्नुपर्नेछ।

५९ वर्षअघि र अहिलेको गीतमा के फरक छ ?

धेरैको नोस्टालजियामा रहेको गीत हो, ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’। वि.सं. २०२३ सालमा प्रदर्शित ‘माइतघर’ चलचित्रको शीर्ष गीत हो यो । पुरानो गीतमा माला सिन्हाको एकल नृत्य थियो । नयाँ गीतमा दुई गाउँले युवतीले डाँडाकाँडा, खोला छहरामा गीत गाउँदै र नाच्दै हिँडेका छन् । गीतको कोरियोग्राफीमा निकै मिहेनत गरिएको छ । कोरस नृत्यलाई राम्रोसँग संयोजन गर्न खोजिएको छ । श्यामाश्रीलाई भन्दा उपासनाले बढी स्क्रिन टाइम पाएकी छन् ।

गीतमा दुवैजनाको क्लोजअप सटहरु पनि छन् । यी सटहरुमा दुवैको अनुहारको एक्सप्रेसन राम्रो मिलिरहेको देखिँदैन । लङ सटहरुमा अलिअलि यस्ता गल्ती हुन्छन् । तर, क्लोजअपमा सानातिना हेलचेक्राइँ नगरेको भए हुन्थ्यो ।

पुरानो गीतभन्दा नयाँ गीतको म्युजिक एरेन्जमेन्ट राम्रो छ । पुरानो गीतले अभिनेत्रीसँगै बेलाबेला अभिनेतालाई पनि फिचर्ड गरेर ससपेन्स सृजना गर्न खोजेको थियो । नयाँ गीतमा भने दुई अभिनेत्रीलाई नचाइएको मात्रै छ । चलचित्रमा उपासना र श्यामाश्रीको अलवा धिरज मगर, केदार घिमिरे माग्ने बूढा, प्रकाश सपूत लगायत कलाकारको अभिनय रहेको छ ।

रोहित पौडेल निर्माता रहेको चलचित्रको निर्देशन मिलन तामाङले गरेका हुन्।यो गीतमा भिडियो प्रतियोगीताको समेत घोषणा भइसकेको छ । ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउनेमध्ये एक जना उत्कृष्ट दर्शकलाई ५ लाख नगद पुरस्कार दिने घोषणा चलचित्रका प्रस्तुतकर्ता रोहित अधिकारीले गरेका हुन् । गीत सार्वजनिक भएसँगै अब दर्शकले भिडियो बनाउन सक्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *