काठमाडौ । हालै अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘जेरी अन टप’ को एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरियो । सार्वजनिक भएको टिजरले चलचित्रमा त्रिकोणात्मक प्रेम सम्बन्धसहित हिमाल आरोहणको कथा रहेको संकेत गर्छ ।
चलचित्रको टिजरले राम्रै चर्चा र प्रशंसा पाइरहेको छ । अहिलेसम्म युट्यूवमा १० लाखभन्दा बढी भ्यूज पनि प्राप्त गरेको टिजरमा चलचित्रको मेकिङ उच्चस्तरको देखिन्छ । टिजर आएपश्चात अनमोलका फ्यानहरु रिलिजको व्यग्र पर्खाइमा छन् ।
चलचित्रमा अनमोलका अलावा केदार घिमिरे माग्नेबूढा, भुवन केसी, आँचल शर्मा र जसिता गुरुङ मुख्य भूमिकामा छन् । टिजरमा माग्ने बुढालाई भने धेरै स्पेस दिइएको छैन । झण्डै दुई मिनेट लामो टिजरमा उनी एक दुई सिनमा झल्याक झुलुक मात्रै देखिन्छन् ।
अनमोलभन्दा महंगो पारिश्रमिक लिन थालेको भनेर चर्चा कमाएका माग्नेबुढालाई प्रचार सामग्रीमा कम महत्व दिनुमा निर्माण पक्षको आफ्नो रणनीति हुन सक्छ । जे भए पनि माग्नेबुढाका फ्यानहरु टिजर हेरेर अलिकति खिस्रिक्क परेका छन् ।
माग्ने बुढाको लिड रोल रहेको चलचित्र ‘माग्ने राजा’ अहिले हलहरुमा सफलताका साथ प्रदर्शन भइरहेको छ । यो फिल्म हिट हुँदा पुरा क्रेडिट माग्नेबुढाले पाउने छन्, जसले अन्तत्वगत्वा ‘जेरी अन टप’ लाई पनि फाइदा पुग्ने निश्चित छ । नेपाली फिल्म इन्डष्ट्रीका सर्वाधिक महंगा दुई कलाकारलाई दर्शकले एकसाथ हेर्न पाउने छन् ।
यद्यपि, पोस्टर र टिजरबाट माग्नेबुढाका फ्यानहरु अलिकति खिस्रिक्क परेका छन् । अब चलचित्रको ट्रेलरमा माग्नेबुढालाई न्याय मिल्ने उनीहरुको आशा छ । माग्ने बुढा स्वयम्ले भने यो विषयमा कुनै पनि गुनासो गरेका छैनन् । उनी टिजर रिलिज कार्यक्रममा उत्साहसाथ उपस्थित भएका थिए ।
चलचित्रको प्रदर्शन मिति आउँदो असोज ३१ गतेलाई तय गरिएको छ । करिब ५० दिनको अवधिमा धेरै कामहरुको चटारोमा छ निर्माण टिम । गीतदेखि ट्रेलर सार्वजनिक गर्दै चलचित्रको प्रचारप्रसारमा पनि लाग्नुपर्ने छ ।
अर्कोतिर ‘जेरी अन टप’ को सुटिङ अझै सकिएको छैन । काँधको हड्डी फ्याक्चर भएर माग्ने बूढाले एक महिना आराम गर्नुपर्ने भएपछि चलचित्रको बाँकी सुटिङलाई असर गर्नसक्ने देखिएको छ । हिजो मात्रै ब्याडमिन्टन खेल्ने क्रममा माग्नेबूढा घाइते भएका थिए । आज अस्पताल जाँदा उनको काँधको हड्डी फ्याक्चर भएको रिपोर्ट आएको छ भने डाक्टरले कम्तीमा चार हप्ता आराम गर्नुपर्ने सुझाव दिएका छन् ।
आफूले एक महिना आराम गर्नुपर्ने भएपछि ‘जेरी अन टप’ को बाँकी सुटिङ रोकिएको माग्ने बूढाले नेपाल प्रेसलाई बताए । उनले भने, ‘हड्डी फ्याक्चर भएकाले जेरी अन टपको बाँकी सुटिङ रोकिने अवस्था आयो ।’
चलचित्रको निर्देशन सुयोग गुरुङले गरेका हुन् ।

Leave a Reply