ट्रम्पको दाबी- मोदीलाई मैले रिंगटा छुटाइदिन्छु भनेपछि पाकिस्तानसँग युद्धविराम गरे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिएर आफूले पछिल्लो भारत पाकिस्तान युद्ध रोकेको दाबी गरेका छन् ।

बुधवार ह्वाइट हाउसमा आफ्नो क्याबिनेट बैठकका क्रममा ट्रम्पले भारतसँग व्यापार सम्झौता रद्द गर्ने र सोच्नै नसक्ने कर लगाइदिने चेतावनी दिएपछि युद्ध विरामका लागि बाध्य भएको बताए ।

उनले भारत पाकिस्तान युद्धका क्रममा ७ वटा लडाकु विमान खसालेको बताए । यद्यपि उनले कसका लडाकु विमान खसालिए भनेका छैनन्,तर अमेरिकी मिडियाले भने भारतका कम्तीमा ४ वटा फ्रान्समा बनेका लडाकु विमान खसालेको दाबी गरेका थिए ।

बैठकमा सम्बोधन गर्दै ट्रम्पले भने- म एकजना खास शानदार व्यक्तिसँग कुरा गरिरहेको थिएँ, उनी भारतका मोदी थिए । मैले उनलाई के हालचाल छ भनेर सोध्दा पाकिस्तानसँग धेरै घृणा फैलिएको छ र यो लामो समय लडाई जानसक्छ भनेका थिए । मैले भने कि, भोलि फेरि मलाई फोन गर्नुस् तर एउटा कुरा के याद गर्नु भने तपाईँहरूसँग हाम्रो कुनै व्यापार डिल हुँदैन । म यति कर लगाइदिन्छु कि तपाईँको टाउको रन्थनिएर घुम्नेछ । यति भनेपछि उनीहरू ५ घण्टामै युद्ध विरामका लागि तयार भए । मैले यस्तै धम्की पाकिस्तानलाई पनि दिएको थिएँ ।

अमेरिकी राष्ट्रपतिले पटकपटक यसबीचमा आफूले भारत पाकिस्तान युद्ध रोकेको दाबी गरिरहेका छन् । भारतले पनि सिधै उनको दावीलाई स्वीकार गरेको छैन । त्यसो त भारत पाक युद्ध विरामको घोषणा पनि अमेरिकाले नै गरेको थियो ।

पछिल्लो समय भारतमाथि अमेरिकाले ५० प्रतिशत कर लगाएको छ । रुससँग तेल खरिद गरेको भन्दै उसले कर बढाएको हो । यदि रुसी तेल खरिद कायम राखेमा अहिलेको कर बढ्न चेतावनी समेत दिएपछि भारत पछिल्लो समय चीन र रुससँग नजिकिएको छ । भारतलाई ५० प्रतिशत कर लगाएको अमेरिकाले पाकिस्तानलाई भने २४ प्रतिशत लगाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *