विराट सहकारी खारेज गर्नुपर्ने माग गर्दै रोहिणी गाउँपालिकालाई ज्ञापनपत्र

रुपन्देही। रुपन्देहीको रोहिणी गाउँपालिका-२ स्थित विराट कृषि सहकारी संस्था लि मलखाद भण्डारण तथा वितरण केन्द्रका सञ्चालकहरूले मलखाद वितरण कार्यमा अनियमितता र अपारदर्शिता गरिरहेको भन्दै स्थानीयले उक्त सहकारी खारेजको माग गरेका छन् ।

बुधवार रोहिणी गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले मल वितरण समानुपातिक रूपमा नगरी शेयर सदस्यलाई मात्र दिने, रातीको समयमा बोलाई आफूखुसी मनोमानी ढंगले वितरण गरेको आरोप लगाएका हुन् ।

मल ल्याई १५ दिनसम्म गोदामै थन्काउने कार्य गरी किसानलाई दुःख दिने कार्य भइरहेकोले उक्त सहकारी संस्था खारेज गर्नुपर्ने रोहिणी-२ का विनय कुमार यादवले बताए । उनले मल वितरणको वैकल्पिक व्यवस्था मिलाउनका लागि पहल गरिदिन समेत गाउँपालिकालाई आग्रह गरे ।

ज्ञापनपत्र बुझेपछि गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले आफू किसानको समस्या समाधान गर्न लागिपरेको बताए । उनले नियमसंगत रूपमा नै सहकारीले बनाएको किसान कार्ड भएका किसानलाई गाउँपालिकाको अगुवाइमा सोमबार मल वितरण गरिएको दाबी गरे ।

‘सहकारीले सही ढंगले मल वितरण गर्नुपर्छ । तर, यहाँ त राती १२ बजे आफ्ना नजिकका मान्छे बोलाएर मल दिने, बढी मूल्यमा मल विक्री वितरण गरिएको गुनासो आएको छ,’उनले भने । अध्यक्ष यादवले स्थानीयको माग बमोजिम मल सम्बन्धी समस्या समाधानका लागि गाउँपालिका अघि बढेको जानकारी दिए ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले मलखाद वितरणमा भएको अनियमितता, अपारदर्शीतालाई लिएर किसानले ज्ञापनपत्र दिएको र यसमा रोहिणी गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले गाउँपालिकाले सोमबार किसानको मागबमोजिम १/१ बोरा वितरण गरेको जनाए । विराट सहकारीले पाएको जिम्मेवारी पूरा नगरेको बताउँदै उनले कानूनअनुसार कारबाही हुने बताए ।

स्थानीयले ज्ञापनपत्र बुझाएपछि रोहिणी गाउँपालिकाको कार्यालय अगाडि विराट सहकारी खारेज गर, कालोबजारी बन्द गर भन्दै नाराबाजी गरेका थिए । यसअघि सहकारीले मल लुकाएको सूचना पाएपछि अध्यक्ष यादवले आफै ताला फोडेर किसानलाई मल बाँडेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *