रुपन्देही । दुई वर्षदेखि हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि थप अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्ने त्यहाँ गएर फर्केको टोलीका सदस्यहरुले बताएका छन् ।
जोशीलाई हमासले कब्जामा लिएको स्थानको स्थलगत अवलोकनबाट फर्किएर आएकाहरुले उनको रिहाइका लागि अहिले भइरहेका प्रयासलाई थप बलियो बनाउनुपर्ने बताएका हुन् ।
जोशीको अवस्था बुझ्न गएकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य एवं अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्य स्वाती थापाले बिपिन जोशी हाल पनि हमासको नियन्त्रणमा जीवितै रहेको दृढ विश्वास रहेको बताएकी छन् ।
‘हामीले विपिनलाई अपहरण गरेको स्थानहरुका फुटेजहरु हेरेका छौं, त्यहाँको अवस्थाको बारेमा हेरेका छौं, अब इजरायललाई मात्रै होइन त्यसका छिमेकी देशहरुमा पनि रिहाईको दवाव बढाउनुपर्ने छ’ उनले भनिन् ।
उनले विपिनको रिहाइका लागि सरकारले अन्य मुलुकसँगसमेत सहयोग लिएर हमास नेतृत्वलाई दबाब दिनुपर्ने बताइन् । जोशीलाई हमासले नियन्त्रणमा लिदै गरेको लाइभ भिडियो देखाउँदै विपिनलाई हमासले जीवितै राखेको अनुमान गर्न सकिने थापाको भनाइ छ ।
इजरायलका परराष्ट्र मन्त्रालयका उच्चअधिकारीसंगको भेटमा विपिनको रिहाइका लागि त्यहाँको सरकारले पनि उच्च प्राथमिकतामा राखेको अनुभव गर्न सकिएको थापाले सुनाइन् । हमास नेतृत्वलाई दबाब सिर्जना गर्न नेपाल सरकारले अन्य मुलुकको सहयोग लिनुपर्ने थापाको सुझाव छ ।
लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका विपिन जोशीसहितलाई ७ अक्टोबर २०२३ मा नियन्त्रणमा लिएको थियो ।
उनलाई जीवितै रिहा गराउन नेपाल सरकार, इजरायली सरकार र अन्र्तराष्ट्रिय समुदायले समेत पनि कुटनीतिक पहल गरिरहेका छन् । यही क्रममा विपिनकी आमा र बहिनीसमेत केही दिन अघि इजरायल पुगेर फर्केका छन् ।
उनीहरुले इजरायलका राष्ट्रपति आइज्याक हर्जोगसँग भेट गरी विपिनको सुरक्षित रिहाइका लागि अपील गरेका छन् । जवाफमा राष्ट्रपति हर्जोगले विपिनलाई आफ्नै नागरिकसरह मानेर उनको रिहाइका लागि निरन्तर प्रयास गरिरहेको बताएका छन् ।
विपिनको रिहाइका लागि निरन्तर प्रयास भइरहेपनि उनको ठोस अवस्थाबारे भने नयाँ जानकारी सार्वजनिक भएको छैन ।
राप्रपा नेतृ स्वाती थापाले विपिनकी आमा र बहिनीसँग इजरायलमै भेटेको र त्यहाँको अवस्थाबारे छलफल भएको बताइन् ।

Leave a Reply