‘माग्ने राजा’ मा हल्का रमाइलो !

‘माग्ने बूढा’ भन्नासाथ गरिबी र अभावले थिचिएको तर अरुलाई हँसाउने पात्रको इमेज दिमागमा आउँछ । मैला लुगा र कानेटोपी लगाउने, अगाडिको दाँत फुस्केको, ङिच्च हाँस्दै ‘हल्का रमाइलो…’ भन्ने, वल्लो घर-पल्लो घर ऐंचो पैंचो गरेर गुजारा चलाउने, मौका पाए चोरचार समेत गर्ने माग्नेबुढा पात्र हामी सबैको नोस्टाल्जियामा गहिरोसँग गढेर बसेको छ ।

यो पात्रले हास्य रससहित गाउँले परिवेशमा गाउँकै गरिबी बोल्थ्यो, त्यसैले दर्शकमाझ लोकप्रिय बन्यो । अहिले पनि उत्तिकै लोकप्रिय छ । यही लोकप्रियताले खडा गरेको आधारस्तम्भमा निर्मित चलचित्र हो, ‘माग्ने राजा’, जो अहिले हलहरूमा चलिरहेको छ ।

हिजो टिभीमा आउने माग्नेबूढा ‘माग्ने राजा’ मा कुवेर शर्मा बनेर ठूलो पर्दामा छाइरहेको छ । फरक यत्ति हो, चलचित्रमा माग्ने बूढाको हँसी दाँतमा कालो लगाइएको छैन, टाउकोमा काने टोपी लगाएको छैन । बोल्ने शैली र कमेडीलाई भने टपक्क टिपेर ल्याइएको छ । अनि माग्ने बूढालाई चलचित्रको फ्रेममा ढाल्नलाई एउटा कथा निर्माण गरिएको छ ।

‘माग्ने राजा’ को सबैभन्दा सबल पक्ष नै कथा हो । माग्ने बूढाको कमेडीको आवरणमा चलचित्रले समसामयिक राजनीतिक मुद्दाहरूलाई पनि समेटेको छ । पछिल्लो समय फाट्टफुट्ट रूपमा युवाहरूले उठाइरहेको ‘नो नट अगेन’ र निर्वाचनमा ‘राइट टु रिजेक्ट’ मुद्दालाई पनि समेटेको छ । तथापि चलचित्रको मूल मर्म भने कमेडी नै हो । कमेडीको माध्यमबाट दर्शकलाई मनोरञ्जन दिनु नै ‘माग्ने राजा’ को मूल उद्देश्य हो । यो उद्देश्यमा चलचित्र एक हिसाबले सफल पनि भएको छ ।

हाकाहाकी भन्ने हो भने माग्ने बूढाको क्रेजको ब्याज खानलाई बनाइएको चलचित्र हो यो ।

कथा सिम्पल छ, मगन्त नारायणको जीवनमा अचानक करोडौं पैसा आइपुग्छ । बाजेले खाएको ऋण तिर्न नसकेर गाउँलेबाट भागिरहेको मगन्त नारायणले एक्कासी करोडौं पाएपछि के गर्ला ? कथा यही प्रश्नको मियोमा घुमिहिँडेको छ ।

सामान्य वित्तीय ज्ञानसमेत नभएको मगन्त नारायणले बाबुले गाडेको पुलिकको भाँडो फेला पर्छ । उक्त पुलिक बिक्री गरेर ऊ रातारात करोडपति बन्छ । करोडपति बनेपछि उसको जीवनमा आउने उतारचढावको कथामा केन्द्रित छ, ‘माग्ने राजा’ ।

ऊ साइनोले मीत भान्जा (विल्सनविक्रम राई) सँग पैसाको व्यवस्थापनमा लाग्छ । सहकारीमा लगेर करोडौं पैसा राख्छ । करोडौंको बीमा गर्छ । आलीसान बंगला किन्छ । हेलिकप्टरमा गाउँ गएर गाउँलेलाई लाखका लाख बिटा पैसा बाँड्छ । आमा ऊसितै सहर जान मान्दिनन्, एक्लै सहर फिर्छ । कागजको टुक्रा जसरी पैसा उडाउँछ । सहरको मोजमस्तीमा रमाउँछ ।

सारा चिजको व्यवस्थापनका लागि सेक्रेटरी श्री (वर्षा शिवाकोटी) लाई राख्छ । ऊसँग जोडिएका सारा मान्छेको गिद्धे नजर भने मगन्त नारायणको पैसामा परेको हुन्छ । पैसाकै लागि ऊसँग सबै मान्छे जोडिएका हुन्छन् । पैसाको उन्मादले लठ्ठ परेको उसले यतातिर ध्यानै दिँदैन ।

यहीबेला उसको कान्तिपुर नगरपालिकाका मेयरसँग टकराव पर्छ । वल्लो घर र पल्लो घरमा छिमेकी बनेर बसेका दुई बीचमा इगोले डेरा जमाउँछ । मेयरले डोजर ल्याएर घरको गेट नै उडाइदिन्छ । सम्पत्ति शुद्धीकरण विभागमा मुद्दा समेत हालिदिन्छ । अदालतले उसको बैंक खातादेखि सम्पूर्ण सम्पत्ति रोक्का गरिदिन्छ । यहाँबाट चलचित्रले राजनीतिक बाटो पनि समात्छ । ऊसँग स्वार्थले जोडिएकाहरूको मुखौटा खुल्दै जान्छ ।

मुद्दाहरू जे जस्तो ल्याएर घुसाए पनि ‘माग्ने राजा’ पूर्णतया कमेडी चलचित्र हो । यद्यपि चलचित्रमा राजनीतिक मुद्दाहरू घुसाएपछि त्यसलाई तर्कसंगत रूपले किनारा पनि लगाउनुपर्थ्यो ।

प्रोटागोनिस्ट र एन्टागोनिस्टबीचको द्वन्द्व सघन हुनलाई कारण पनि बलियो हुनुपर्छ । ‘माग्ने राजा’ मा मेयर र मगन्त नारायणबीचको टसल यति उत्कर्षमा पुग्छ कि मेयरकै विरुद्धमा चुनाव लड्ने अवस्थामा ऊ पुग्छ । उनीहरूबीचको यो टसलको जग भने एकदमै कमजोर छ ।

आफैँमा भ्रष्ट मेयरले सम्पत्ति शुद्धीकरण विभागमा आफ्नै छिमेकी मगन्त नारायणविरुद्ध उजुरी दिनुको कुनै तुक देखिन्न । उजुरी दिने, घरमा डोजर ल्याएर गेट उडाइदिने तहको उनीहरूबीचको द्वन्द्व राम्रोसँग स्थापित नै भएको छैन । मगन्त नारायणले मेयरको के बिगारिदियो, जसका कारण उसलाई सिध्याउनै लागिपर्‍यो ? यसको तर्कसंगत जवाफ चलचित्रले दिन सकेको छैन । बलियो कारणबिना नै दुईबीचको लफडालाई उत्कर्षमा पुर्‍याइएको छ ।

अर्कोतिर अमेरिकाबाट फिरेका व्यक्ति (आर्यन सिग्देल) मेयरले चुनावअघिका बाचा पूरा नगरेका कारण अनसनमा बस्छ । मेयरले जालसाजी गरेर उसको अनसन तोडाउँछ । अमेरिकाबाटै राजनीतिक महत्वकांक्षा लिएर फिरेको मान्छेले स्थानीय तहको निर्वाचनमा मगन्त नारायणलाई सघाउँछ । यहाँ ती व्यक्तिले आफू नउठेर मगन्त नारायणलाई सपोर्ट गर्नुका पछाडि अनुहार र हुलिया कारक रहेको हास्यास्पद तर्क गर्छ । जो मान्छे एजेन्डा र मुद्दालाई केन्द्रमा राखेर मेयरविरुद्ध उभिएको छ, उसैले अनुहार र हुलियाका कारण भोट आउने कुरा गर्छ ।

सामान्य वित्तीय ज्ञानसमेत नभएको मगन्त नारायणले बाबुले गाडेको पुलिकको भाँडो फेला पर्छ । उक्त पुलिक बिक्री गरेर ऊ रातारात करोडपति बन्छ । करोडपति बनेपछि उसको जीवनमा आउने उतारचढावको कथामा केन्द्रित छ, ‘माग्ने राजा’ ।

पैसाको व्यवस्थापन गर्ने क्रममा मगन्त नारायणले भान्जाको पछि लागेर करोडौं रूपैयाँ सहकारीमा राख्छ । पछि के भयो त मगन्तको त्यो बचत ? यसको जवाफ नदिइकन मगन्तले हाँसीखुसी सहकारी पीडितहरूलाई नै बाटो खर्च र बचत फिर्ता दिइरहेको हुन्छ ।

समग्रमा चलचित्र केदार घिमिरेले निर्वाह गर्ने पात्र मगन्त नारायण वरिपरि घुमेको छ । घिमिरेको अभिनय ठिकठाक छ । चलचित्रको सुरूवातमै मगन्त नारायण भरियालाई डोकोमा पैसा बोकाएर घोडामा गाउँ आउँछ । यो मगन्त नारायणले गरेको कल्पना मात्रै हो । तर, यस्तै कल्पना किन गर्छ त कोही कसैले ? यथार्थमा कतैबाट केही पार नलागेपछि, अभावै अभावको खाडलमा पुरिएपछि मान्छे यस्तो खाले कल्पनामा हराउन/रमाउन थाल्छ । चलचित्रको ओपनिङ दृश्य यही कारण विशेष छ ।

श्रीको भूमिकामा वर्ष शिवाकोटीको अभिनय ठिकै छ । भान्जाको भूमिकामा विल्सनविक्रमको अभिनय गज्जब छ । राईले अनुहारको भावभंगीमा राम्रोसँग मिहेनत गरेका छन् । आर्यन सिग्देलको भूमिका खास्सै लामो छैन, अभिनय पनि ठिकै छ । शिशिर बाङ्देलको मेयरको भूमिका रोचक छ ।

ब्याकग्राउण्ड स्कोर ठिकठाकै छ । केही ठाउँमा हल्का लाउड छ । ‘सुतेर उठेको पैसामा’ गीतलाई रमाइलोसँग कथामै जोडेर प्रस्तुत गरिएको छ । कमर्सियल नेपाली चलचित्र जसरी खिचिन्छ, त्यसरी नै खिचिएको छ । सिनेम्याटोग्राफीमा नयाँ, नौलोपन केही छैन । फेरि सिनेम्याटोग्राफीमा खत्रै प्रयोग गर्न खोज्दै बनाउन लागिएको चलचित्र पनि होइन यो । हाकाहाकी भन्ने हो भने माग्ने बूढाको क्रेजको ब्याज खानलाई बनाइएको चलचित्र हो यो ।

ऋषि लामिछानेको निर्देशनका कारण भन्दा पनि कथाका प्लटहरूले चलचित्र हेर्नलायक बनेको छ । ‘मेरी बास्सै’ को माग्ने बूढाको प्रसंशकहरूलाई केदार घिमिरेमय बनेको चलचित्रले साढे दुई घण्टा दर्शकलाई होल्ड गरेर राख्न सक्षम छ । चलचित्रमा प्रशस्त मात्रामा रहेको ट्वीस्टहरूले दर्शकलाई खिचिरहन सक्छ । क्लाइमेक्स झनै रोचक छ, यसका लागि भने हलमै गएर चलचित्र हेर्नुपर्ने हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *