रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचनमा उम्मेदवारका आकांक्षी मधु अर्यालले आफू भूगोलले मागेको उम्मेदवार भएको दाबी गरेका छन् । आइतबार बुटवलमा आयोजित पत्रकारसँगको साक्षात्कारमा उनले यस्तो बताएका हुन् ।
पार्टीको क्षेत्रीय सभापतिसमेत रहेका अर्यालले पार्टी स्थापनाकालदेखि नै रुपन्देही–३ मा संगठन निर्माणमा सक्रिय भूमिका खेल्दै आएको उल्लेख गर्दै क्षेत्रका समस्या र सम्भावना राम्ररी पहिचान गरेकाले आफूले टिकट पाए क्षेत्रलाई कायापलट गर्ने भिजन तयार गरेको बताए ।
अर्यालका अनुसार सुरुमा ५ सय जति पार्टी सदस्य रहेको रुपन्देही–३ मा आफू क्षेत्रीय सभापति बनेपछि करिब २८ सय सदस्यसम्म संगठन विस्तार भएको छ । अहिले सो क्षेत्रमा रास्वपाको टिकटका लागि अर्यालसहित ९ जनाले आकांक्षा राखेका छन् ।
पार्टीले गरेको ब्लुप्रिन्ट संवादमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्दै भैरहवामा पर्यटन क्षेत्रमा गरिएको लगानीलाई सुरक्षित गर्ने, विमानस्थललाई सडकमार्गसँग सशक्त रूपमा जोड्ने, लुम्बिनी र खेल पर्यटनमार्फत रुपन्देहीलाई एकीकृत रूपमा विकास गर्ने एजेन्डा प्रस्तुत भएको उनले जानकारी दिए ।
त्यससँगै कृषिलाई व्यवसायीकरण गर्दै माछा सुपर जोन, प्राङ्गारिक खेती र आधुनिकीकरणमा जोड दिने आफ्नो योजना रहेको बताए ।
अर्यालले मतदाताको घरदैलोमा पुग्दा अधिकांशले रास्वपाबाट परिवर्तनको आशा गरेका बताएका भन्दै चुनावी माहोल रास्वपामय बनेको दाबी गरे ।
भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने, जनताको पक्षमा कानून र नीति निर्माण गर्ने तथा संसद्मा सशक्त प्रतिपक्षीको भूमिका खेल्दै २०८४ सालको आमचुनावमा रास्वपाको बहुमतको बाटो खोल्ने उद्देश्यसहित आफू उपयुक्त उम्मेदवार भएको उनको दाबी छ ।
रुपन्देही–३ मा नदी दोहन र ढुंगा, गिटी, बालुवा चोरीरतस्करीको समस्या रहेको बताउँदै त्यसलाई नियन्त्रणका लागि नीतिगत पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गर्दा रुपन्देही–३ का ३६ वडामध्ये २ वटामा मात्रै समिति रहेकोमा अहिले आफ्नो सक्रियतामा ३४ वटै वडामा संगठन विस्तार भएको अर्यालले बताए ।
‘पार्टीले अपनाएको उम्मेदवार छनोट विधिअनुसार प्राइमरी इलेक्सन र अन्य मापदण्डमा अब्बल छु, कार्यकर्ताको चाहना र सुझावअनुसार उम्मेदवार बन्न खोजेको हुँ’, उनले भने ।
अर्यालका अनुसार उनी अन्य आकांक्षी जस्तै ठूला सपना बाँड्ने होइन, यथार्थपरक योजनासहित अघि बढ्न चाहन्छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजना भन्दै सञ्चालन र नीतिगत पहलका लागि प्रतिनिधिसभा सदस्यका रूपमा अभिभावकत्व लिन तयार रहेको उनले बताए ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई विमानस्थलसँग जोडेर आध्यात्मिक पर्यटन र बुद्ध सर्किट विकास गर्ने, तिनाउ दानव नदीलाई प्रकृति र मानव जीवनसँग जोड्ने, ग्रामीण क्षेत्रमा कृषिलाई प्राथमिकता दिने योजना उनले प्रस्तुत गरेका छन् ।
उनले निर्वाचन क्षेत्र नम्बर ३ मा मल र सिँचाइको पहुँच, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने योजना समेत बनाएका छन् । प्राविधिक प्रयोगमार्फत कृषिको आधुनिकीकरण, उत्पादन वृद्धি र बजार व्यवस्थापनमा विशेष ध्यान दिने अठोट उनले व्यक्त गरे ।
अर्याल रास्वपाको संगठन विस्तारमा रुपन्देही मात्रै नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानमा समेत सक्रिय छन् । पार्टी सभापति रवि लामिछानेसँगै उनले विभिन्न अभियानमा सहभागी हुँदै नारायणगढ–बुटवल सडक विस्तारका लागि गरिएको पैदलयात्रा, जाजरकोट–रुकुम भूकम्प राहत तथा उद्धार कार्यमा समेत प्रत्यक्ष खटेका थिए ।
पाल्पा, अर्घाखाँची, कपिलवस्तु लगायत जिल्लामा रास्वपाका कार्यक्रममा पनि सक्रिय रहेका उनी बेल्जियमको एन्ट्रोपसिटी, पोल्याण्डको वार्सा र ब्रसेल्समा समेत संगठन विस्तारमा संलग्न भएका थिए ।
बुटवल–१७ निवासी मधुप्रसाद अर्याल पेशाले अभियन्ता, लेखक र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता हुन् ।
सामाजिक रूपान्तरणका लागि राजनीतिमा सक्रिय भएका उनी करिब १५ वर्षदेखि बालबालिकासँग सम्बन्धित क्षेत्रमा काम गर्दै आएका छन् । बालबालिकामा देखिने संवेदनशील समस्या ‘अटिजम’ विषयमा विद्यावारिधि गरिरहेका उनले अन्तर्राष्ट्रिय अनुसन्धान फेलोको रूपमा पनि काम गरेका छन् ।
काठमाडौंका विभिन्न कलेजमा प्राध्यापनसमेत गरेका उनले केही विद्यालय तहका पाठ्यपुस्तक लेखेका छन् । कक्षा ११ र १२ को अनिवार्य नेपाली ९२०६३० का सह–लेखक रहेका अर्यालको ‘टाकुरिएका नेपाली’ कविता संग्रह २०६१ सालमै प्रकाशित भइसकेको छ ।
रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन् । उम्मेदवार बन्न आवेदन दिनेहरुमा अर्यालसंगै शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा। लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर ९जेबी० गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री र पुनमकुमारी अग्रवाल रहेका छन् ।
उम्मेदवारका लागि आवेदन दिएकाहरु मध्ये कुसुम महर्जन पार्टी केन्द्रीय सदस्य हुन् । उनी गत आम निर्वाचनमा समानुपातिक उम्मेदवार थिइन् । भैरहवा माइती भई भक्तपुर बस्दै आएकी उनी अहिले उम्मेदवार बन्नकै लागि समानुपातिक सूचिबाट नाम हटाउन पार्टीमा निवेदन दिएकी थिइन् ।
भैरहवा निवासी जेबी गुप्ता रास्वपा रुपन्देहीको संस्थापक मध्येका एक हुन् । २०७९ को चुनावमा रास्वपाबाट उम्मेदवार बनेर ५ हजार ७ सय ९६ मत ल्याएका थिए ।
सहकारी अभियान्ता ज्ञानु पौडेल भैरहवा निवासी हुन् । पौडेल लुम्बिनी विशिष्टीकृत सहकारीको अध्यक्ष,लुम्बिनी प्रदेशकै ठूलो जनउत्थान सहकारीकी पुर्व अध्यक्ष र केन्द्रीय वचत तथा ऋण सहकारी संघकी केन्द्रीय सदस्य हुन् । बुटवल १६ सेमलारका सुलभ खरेल अमेरिकाबाट उम्मेदवार बन्नकै लागि आएको चर्चा छ । पेशाले अधिवक्ता उनी यसअघि पार्टीमा सक्रिय थिएनन् ।
पार्थिवेन्द्र रुपन्देही क्याम्पस भैरहवाका क्याम्पस प्रमुख थिए । उम्मेदवार बन्नका लागि उनले पदबाट राजीनामा दिएका छन् । उनी अघिल्लो चुनावमा विवेकशील साझा पार्टीबाट रुपन्देही ३ मै संघीय सांसदको उम्मेदवार थिए ।
उनी नेकपा एमालेका स्वर्गीय नेता धनपति उपाध्यायका छोरा र सिद्धार्थनगरकी उपमेयर उमा अधिकारीका पति हुन् । उनी अधिवक्ता पनि हुन् । डा. लेखजंग थापा न्यूरो सर्जन हुन् । उनको भैरहवामा आफ्नै क्लिनिक छ । गत आम निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार थिए ।
रचना क्षेत्री पार्टीको जिल्ला कोषाध्यक्ष हुन् । उनी मन्टेश्वरी विद्यालय सञ्चालक हुन् । पुनमकुमारी अग्रवाल नेपालकै ठूलो प्रांगारिक मल उद्योगकी सञ्चालक हुन् । उनी विगत दश वर्षदेखि राजनीतिमा सक्रिय छन् ।
रास्वपामा उम्मेदवार छनोट विधि अन्तर्गत प्रारम्भिक निर्वाचन ९प्राइमरी इलेक्सन० को नतिजाको ५० अंक, समावेशिताको ५ अंक, पोलिटिकल प्रोक्सिमिटीको २० अंक र लिडरसिप एकेडेमीको नतिजाको २५ अंकका आधारमा उम्मेदवारको अन्तिम टुंगो भदौ १५ गते लाग्ने छ ।
भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते सांझ ७ बजेसम्म उम्मेदवार छनोटका लागि पार्टीको मोबाइल एपबाट अनलाइन भोटिङ ९प्राइमरी इलेक्सन० हुने पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
प्राइमरी इलेक्सनमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतदानको ८० अंक, क्षेत्रभित्रका मतदाता रहेका पार्टीका तहगत समिति सदस्यको मतदानको १० अंक र केन्द्रीय समिति सदस्यको मतदानको १० अंकभार रहने छ । पार्टी सदस्यको मतदानमा साउन २६ सम्म पार्टी सदस्यता लिएकाले मात्र मतदानमा भाग लिन पाउने सहमहामन्त्री आचार्यले बताए ।

Leave a Reply