दाङ । सुर्खेतमा नेटवर्किङ व्यवसायको अवैध धन्दा गर्दै आएको स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.का संचालक र कर्मचारीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
जिल्ला अदालत सुर्खेतले वीरेन्द्रनगर ४ मुलपानीस्थित स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि. नामको कम्पनीले ग्लोबल ओरियन्स प्रा.लि.मा रोजगारी लगाइदिने प्रलोभनमा नेटवर्क सञ्जाल विस्तार गरी ठगी गरेको अभियोगमा कम्पनीका सञ्चालक र कर्मचारी २ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
३० साउन २०८२ मा जिल्ला अदालत सुर्खेतका न्यायधीश दीपक ढकालको इजलाशले डोटीको साइल गाउँपालिका २, घर भई वीरेन्द्रनगर ४ मा स्काइ ड्रिम इन्टरपेनर्सका सञ्चालन गर्दै आएका २६ वर्षीय नरेश बोहोरा र कन्चनपुर जिल्लाको बेलडाँडी १ कि २१ वर्षीया निर्मला धामीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
अदालतले मनिषा सिंहसँग ७ लाख ५० हजार, कमला चिमालासँग ६ लाख, कमल शाहीसँग ५ लाख, कृष्ण सिंहसँग १ लाख २५ हजार, सुनिता साउदसँग २५ हजार, रवीन्द्र शाहीसँग १० हजार धरौटी मागेर छाड्न आदेश दिएको थियो । अदालतले धरौटीमा थुनामुक्त गर्न आदेश दिएपनि उनीहरूले धरौटी नबुझाएकाले कारागार चलान भएका छन् । सुर्खेत प्रहरी प्रवक्ता डिएसपी मोहनजंग थापाका अनुसार उनीहरू विरूद्व जिप्रकामा पुनस् ठगीको उजुरी दर्ता भएकाले धरौटी बुझाए पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो । प्रहरी पक्राउ गर्ने तयारीको सुइको पाएपछि उनीहरूले धरौटी नबुझाएका हुन्।
पीडितहरूले ५ साउन २०८२ मा स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.मार्फत ग्लोबल ओरियन्स नेपाल प्रा.लि.मा सीप सिकाइ आकर्षक तलब सुविधासहित रोजगारी दिने प्रलोभनमा ठगिएको उजुरी दिएपछि उनीहरू पक्राउ परेका थिए ।
उनीहरू पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आफूहरू ठगिएको भन्दै ५१ जनाले मुद्दा दर्ता गराएका थिए ।
प्रहरीले ६४ लाख विगो र कैद सजायको माग गर्दै २७ साउन २०८२ मा जिल्ला अदालतमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

Leave a Reply