रुपन्देही । २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको करिब तीन वर्षपछि प्रमुख राजनीतिक दलहरू फेरि शक्ति परीक्षणमा उभिन लागेका छन् । आगामी कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन हुँदैछ, जसलाई दलहरूले आगामी आम निर्वाचनको पूर्वाभ्यास र जनमत परीक्षणको रूपमा तयारी गरिरहेका छन् । कतिपयले यसलाई ‘मिनी जनमतसंग्रह’ नै घोषणा गरेका छन् । कांग्रेस, एमाले, रास्वपा, मधेसी मोर्चाको साथमा नाउपाका रेशम चौधरी पक्ष र बालेन टीमका उम्मेदवार नै अहिलेसम्मको मैदानमा बढी चर्चामा देखिएका छन् ।
२०७९ मा एमालेसँगको तालमेलमा राप्रपाका दीपक बोहराले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई २,६८१ मतान्तरले हराएका थिए । बोहराले ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत पाएका थिए । तेस्रो स्थानमा रास्वपाका जीतबहादुर गुप्ता तेली (५,७९६) र चौथो स्थानमा नागरिक उन्मुक्तिका तुलसीप्रसाद थारू (४,७५१) रहेका थिए । २०७९ चैत १९ गते बोहराको निधन भएपछि रिक्त भएको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेपछि दलहरू यसको तयारीमा लागेका हुन् । समानुपातिक र स्थानीय तहमा कांग्रेस यस क्षेत्रमा पहिलो दल बनेको थियो । समानुपातिकमा कांग्रेसले २० हजार २७९, एमालेले १६ हजार ९८६ र समानुपातिकमा तेस्रो स्थानको मत रास्वपाले १४ हजार १५४ मत ल्याएको थियो ।
दलगत उम्मेदवारको चर्चा
सत्तारुढ नेपाली कांग्रेसमा अघिल्लो पटक पराजित भएका खाँण आफै वा उनको सिफारिसमा मात्रै यहाँको टिकट टुंगो लाग्ने विषयमा कसैलाई शंका छैन । तर उनीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा चलेको मुद्दा किनारा नलागेकाले यसको निर्णयमा ढिलाइ भएको हो । दुई दिनअघि मात्रै उनले यो क्षेत्रमा रहेका ३६ वटा वडाका नेताहरू, यो क्षेत्रमा रहेका मुख्य नेताहरूसँग बसेर अहिलेको अवस्थाको विवरण लिएर फर्केका छन् । असारयता लगातार पेशीमा चढेको उनको मुद्दा छिटो टुंगो लाग्ने र उनैले नै टिकट पाउने आशामा उनी निकटस्थहरू छन् तर यसको छिनोफानो नभएपछि पछाडि हट्न नहुने एकथरिको दबाब छ । यो विषयमा खाँड आफैले मुख खोलेका छैनन् ।
केही दिनअघि नेपाल प्रेससँग उनले यसको टुंगो रुपन्देही पुगेर पार्टीका नेताहरूसँग बसेर लाग्ने बताएका थिए । उनी रुपन्देही पुगेर फर्केका छन् अब ११ भदौको पेशीपछि मात्रै उनले यसको टुंगो लगाउँछन् सायद । कांग्रेसबाट रामचन्द्र ढकाल, सुशील गुरुङ, प्रमोद यादव, अनिता शाहसहितका नेताहरू मुख्य दाबेदारका रूपमा चर्चामा छन् । खाँडको हकमा धेरैले दाबी नगरे पनि अन्यको हकमा धेरैले दाबी गर्ने र आपसी लडाई गर्नेमा नेताहरूको आंकलन छ । सो क्षेत्रका क्षेत्रीय सभापति रहेका सुशील गुरुङ भन्छन्–‘बालकृष्ण खाँड आफैले उम्मेदवार हुने विषयमा केही बोल्नुभएको छैन तर दुई दिनअघि मात्रै ३६ वटै वडाका सभापति र यो क्षेत्रमा रहेका अन्य नेताहरू तथा आकांक्षा राखेका नेताहरूसँग बसेर मसिनो छलफल गर्नुभएको छ, उहाँ आफै उम्मेदवार हुने हकमा धेरैको दाबी नरहला तर अरू भए धेरैले इच्छा राख्नुहुन्छ भन्ने लागेको छ, अहिलेसम्म आकांक्षी आफै मैदानमा आएको अवस्था छैन ।’
अर्को सत्तारुढ नेकपा एमालेबाट यसअघिको निर्वाचनमा टिकट नपाएका राष्ट्रिय सभाका पूर्वसांसद खिमलाल भट्टराई उम्मेदवार जसरी नै मैदानमा पुगेका छन् । यद्यपि पार्टीले कुनै निर्णय गरेको छैन । एमालेबाट शशी पौडेल बलियो दाबेदारका रूपमा रहे पनि उनी आफैले केही प्रचार गरेका छैनन् ।
सिनपाका पूर्वमेयर हरिप्रसाद अधिकारी र यज्ञजित शाह पनि पार्टीको क्षेत्रीय कमिटीको सिफारिसमा छन् तर भट्टराई र पौडेलमध्ये नै टिकट पाउने आंकलन नेताहरूको छ । ठूला दलको चुनौती बनेको रास्वपाले यो क्षेत्रका ०७९ मा समानुपातिकतर्फ १४ हजारभन्दा बढी मत ल्याएको आत्मविश्वाससहित यसपटक प्रत्यक्षमा बलियो उम्मेदवार उठाउने तयारीमा छ । पार्टीले १२–१३ भदौमा प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने गरी प्रक्रिया थालेको जनाएको छ । सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, डा. लेखजंग थापा, जीतबहादुर गुप्ता, पुनम अग्रवाल, कुसुम महर्जन, रचना क्षेत्री र मधुप्रसाद अर्याल यो प्रकृयामा सहभागी छन् । यसमध्ये पहिलो सूचिमा लेखजंग, सुलभ, ज्ञानु वा पुनम र मधु नै जानसक्ने आंकलन गरिएको छ । पार्टीले प्राइमरीमै ९ जनामध्येबाट ३ जनालाई पठाउनेगरी तयारी गरेको छ ।
राप्रपामा दिवंगत दीपक बोहराको परिवारबाटै उम्मेदवार उठाउने चर्चा छ । उनका छोराहरू प्रज्ज्वल र गौरव बोहरा तथा नातिनी स्वाती थापा प्रतिस्पर्धीका रूपमा अगाडि छन् । यद्यपि ६ जनाको नाम जिल्लाबाट सिफारिस भएर गएको छ । यहाँबाट माओवादीको धेरै मत यसअघि देखिँदैन तर पूर्वसांसद सोनिया यादवलाई अघि सारे केही मत सुरक्षा गर्नसक्छिन् भने नेकपा एसका महासचिव घनश्याम भुसालको पनि यही क्षेत्र भएकाले गठबन्धन गरेर उम्मेदवार बन्ने वा कसैलाई सघाउने निर्णय हुनसक्छ । यहाँबाट अन्य दलले पनि उम्मेदारी दिनेछन् भने केही स्वतन्त्र रूपमा पनि उम्मेदवार घोषणा गरेर मैदानमा गइसकेका छन् । उनीहरूले लिने मत कसको बाट काट्छन् भन्ने अहिले आंकलन गर्न सकिँदैन ।
कांग्रेसको आन्तरिक तयारी, किन छैन प्रचार ?
हरेक निर्वाचनमा मुख्य शक्ति मानिएको नेपाली कांग्रेसमा धेरै पहिले नै आकांक्षीहरुले आफू उम्मेदवार भएको विषय बाहिर ल्याउँदथे तर अहिले सबै दलमा आकांक्षीहरुको नाम छरपस्ट हुँदा पनि कांग्रेसमा भूमिगत शैलीमा उम्मेदवारको तयारी भएजस्तो कार्यकर्तालाई लागेको छ ।
२०७९ सालको आम निर्वाचनपछि भएका उपनिर्वाचनहरूमा जस्तै, १७ कात्तिकमा हुने रुपन्देही–३ को उपनिर्वाचनमा पनि नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई कमान्डर बनाएको छ । निर्वाचन आयोगले मिति तोकेसँगै शर्मा दुई पटक रुपन्देही–३ मा आएका छन् । यसको कुनै प्रचार नै गरिएको छैन । शर्मा आफैले पनि धेरै नेताहरूलाई खोज्दैनन् जे विषय लिएर आएका हुन् त्यही काम गरेर फर्कन्छन् र स्थानीय नेताहरूलाई केही दुःख पनि दिँदैनन् ।
उनले लुम्बिनी प्रदेश, जिल्ला, क्षेत्रीय समिति र ३६ वडाका सभापतिसहित नेताहरूसँग धेरै चरणमा बैठक बसेर यसको तथ्य लिएर गएका छन् । यी भेटघाटहरूमा उनले मुख्यतया पार्टीभित्रको असन्तुष्टि सम्बोधन, गुटगत मनमुटाब समाधान र चुनावी तयारीमा जोड दिन खोजेको जिल्लाका नेताहरूको आंकलन छ । क्षेत्रीय सभापति सुशील गुरुङका अनुसार पार्टीले व्यवसायी, पेशागत संघ–संगठन, पूर्वसैनिक, महिला र आईटी क्षेत्रमा सक्रिय कार्यकर्तासहित १२ वटा विषयगत समिति बनाएर तयारी थालेको छ ।
शर्माले उम्मेदवारको नामबारे छलफल नगरे पनि स्थानीय नेताहरूले युवापुस्ताबाट नयाँ अनुहार उठाउनुपर्ने दबाब बढाएका छन् । अघिल्लो चुनावमा पराजित बालकृष्ण खाँणलाई अहिले अगाडि सार्न नहुने गरी युवा पिँढीले बोल्न थालेका छन् । कांग्रेस विधानअनुसार क्षेत्रीय समितिले एक महिलासहित तीन नाम केन्द्रमा सिफारिस गर्नुपर्ने र केन्द्रले मागेपछि मात्रै त्यसलाई प्रक्रियामा अघि बढाउने क्षेत्रीय सभापति सुशील गुरुङ बताउँछन् ।
रुपन्देही–३ मा बुटवल उपमहानगरपालिकाका १४–१९ वडा, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाका ७–८ वडा, ओमसतिया २, सियारी १, २, ३, ६, ७ र तिलोत्तमा १३ र १४ पर्छन् । ग्रामीण र शहरी मतदाताको मिश्रण भएकाले प्रतिस्पर्धा जटिल हुने अनुमान छ । रुपन्देही–३ उपनिर्वाचन परम्परागत कांग्रेस–एमालेबीचको प्रतिस्पर्धा मात्र नभई नयाँ शक्तिहरूको उपस्थितिसहित त्रिकोणात्मक वा बहुकोणीय हुनसक्ने देखिन्छ ।
यसलाई आगामी २०८४ को आमचुनावको संकेतका रूपमा दलहरूले लिएकाले पनि बढी चासो दिइएको हो । सामाजिक सञ्जालमा धेरै चर्चामा रहेको यो निर्वाचन क्षेत्रका धेरै नागरिक भने यसको पहुँचमा छैनन् त्यसकारण पनि बाहिर चर्चा भएजस्तो निर्वाचनको आंकलन अहिले गर्न हतार हुन्छ तर स्थानीयमा बढेको निराशा चिर्ने गरी दलहरूले उम्मेदवार अघि नसारे र एजेण्डा तय गर्न नसके त्यसले चुनौती थप्नेछ ।

Leave a Reply