काठमाडौं । कुनैबेला हजारौँ युवाको जस्तै सपना बोकेर सुमन बस्याल पनि विदेशिन तयार थिए। १२ कक्षामात्रै पास गरेका ती युवकलाई लाग्थ्यो—‘विदेश गएपछि जीवन सुरक्षित हुन्छ।’ यही विश्वासले उनी रुपन्देहीबाट राजधानी काठमाडौंसम्म आइपुगे। विदेश जाने भीडमा हराउन लागेको उनको पाइला भने एक मोडमा अडियो। त्यही मोडबाट सुरु भयो अर्को यात्रा—विदेशको रेमिट्यान्स होइन, आफ्नै माटोमा पसिना बगाएर केही नयाँ सिर्जना गर्ने संकल्प।
फर्कँदै गर्दा उनले नयाँ संकल्प गरेका थिए– देशभित्रै केही गर्न सकिन्छ । उनले उद्यमको बाटो खोज्न थाले । बजार हेर्दा एउटा कुरा प्रष्ट देखियो, ‘नेपालमा हेल्मेटको माग त हरेक दिन बढिरहेको छ, तर सबै आयातमै निर्भर’ । विदेशी ब्रान्डका हेल्मेट महँगा मात्रै नभई सामान्य प्रयोगकर्ताको लागि सहज पनि थिएनन् । यही अभावलाई अवसर ठानेर उनले हेल्मेट उत्पादन गर्ने सोच बनाए ।
नेपालमै पहिलो पटक हेल्मेट उत्पादन गर्ने उद्योग स्थापना गरेर उनले ‘केपीआई हेल्मेट’को यात्रा सुरु गरे । परिवारबाट सानो लगानी संकलन गरे, प्राविधिक सहयोग जुटाए र बुटवलमै उद्योगको जग बसाए । अनि जन्मियो विदेशी हेल्मेटको दबदबा रहेको बजारको भिडमा नेपाली हेल्मेट ‘केपीआई’ ।

विदेश जान काठमाडौंमा बसेर आइइएलटीएस गरिरहेका उनलाई परिवारका सदस्यले भने सधैँ विदेश नजान आग्रह गर्ने पनि गर्थे । उनका बुवाको चाहाना पनि छोराले नेपालमै केही गरोस् भन्ने थियो । बुवाको बारम्बारको आग्रहपछि अन्ततः विदेशका लागि हिँडेका उनका पाइला रुपन्देही फर्किए ।
‘२०६० सालमा एसएलसी सकेपछि काठमाडौं आए । त्यसबेला अष्ट्रेलिया जाने लहरमा थियो । आईईएलटीएस पनि गरे । तर घरको आग्रहलाई नकार्न सकिएन । अहिले नेपालमै उद्यमीको परिचय बनाए’, उनले भने ।
नेपालमै पहिलो पटक स्थापना भएको यो हेल्मेट उद्योग अहिले नेपाली बजारमा परिचित छ । स्थानीयस्तरमै बनेको भएकाले मूल्य सहज छ, गुणस्तरमा पनि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने लक्ष्य राखिएको छ ।
विदेश जाने बाटोमा रहेकाे पाइला माडेर उद्यमी बनेका उनको उद्यमको यात्रा अरू युवाका लागि प्रेरणादायी बनेको छ । वैदेशिक रोजगारी होइन, आफ्नै देशमा नयाँ सम्भावना खोज्न सकिन्छ भन्ने सन्देश उनीहरूको उद्योगमार्फत फैलिन थालेको बस्यालको भनाई छ ।
‘केपीआई हेल्मेट’को यात्रा: एयर कुलरदेखि आत्मनिर्भर उद्योगतर्फ
‘केपीआई हेल्मेट’ केवल सुरक्षा उपकरण मात्र नभएर बुटवलका एउटा परिवारको सपना, संघर्ष र मेहनतको प्रतीक पनि हो । जहाँ एक बुवाको सपना, छोराको दृढता र उद्योगमा गरेको अथक संघर्ष छ ।
बुटवलबाट सुरु भएको एउटा सपनाको उद्योग आज नेपालको पहिलो हेल्मेट उत्पादन उद्योगको रूपमा स्थापित भएको छ । एयर कुलर उत्पादनबाट सुरु भएको यात्रा दर्जन बढी मोडलको हेल्मेट र ५० हजार स्क्वायर फुटको अत्याधुनिक प्लान्टमा परिणत भइसकेको छ ।
बुटवलबाट सुरु भएर देशभर फैलिएको ‘केपीआई हेल्मेट’ले नेपालीपन झल्काउने र आत्मनिर्भर उद्योगको उदाहरण दिने कोहिनूर मेटल इन्डस्ट्रिजका निर्देशक बस्याल बताउँछन् ।
उनका अनुसार कोहिनूर मेटल इन्डस्ट्रिज वि.सं २०४४ सालमा बस्याल परिवारले एयर कुलर उत्पादन गरेर सुरु गरेको थियो । त्यसपछि २०५७–५८ तिर नेपालमै पहिलो पटक मोटरसाइकलका लेगगार्ड उत्पादन गर्दै आयातलाई प्रतिस्थापन गर्न सफल भएको उनको दाबी छ ।
लेगगार्डमार्फत बनेको बजार र नेटवर्कले बस्याल परिवारलाई हेल्मेट उत्पादनमा प्रवेश गर्न प्रेरित गर्यो । वि.सं २०७०–७१ सालमा बुटवल औद्योगिक क्षेत्रमा कोहिनूर प्लास्टिक इन्डस्ट्रिज (केपीआई) मार्फत हेल्मेट उत्पादन सुरु भयो ।
पछि औद्योगिक क्षेत्रको साँघुरो स्थान पर्याप्त नभएपछि तिलोत्तमा–१७, गंगोलियामा ५० हजार स्क्वायर फुट क्षेत्रफलमा अत्याधुनिक कारखाना स्थापना गरियो । अहिले त्यहाँ १३ वटा मोडलका हेल्मेट उत्पादन भइरहेका छन् । जसलाई आईएसआई र अमेरिकी डीओटी मापदण्डले प्रमाणित गरेका छन् ।

सुरुवाती चरणमा ८–१० करोडको लगानीबाट सुरु भएको उद्योग अहिले करिब ७० करोडको पुगेको छ । सुरुमा इन्डियन मेसिन प्रयोग भएपनि पछि जापानी अत्याधुनिक मेसिन ल्याएर फुल्ली अटोमेटिक उत्पादन प्रणाली लागू गरियो ।
तर यो यात्रामा सजिलो थिएन । नेपालमै पहिलो हेल्मेट उद्योग बनाउँदा सबै कच्चा पदार्थ यहाँ उपलब्ध थिएनन् । सुरुवातमा प्याकेजिङ कार्टुनसम्म इन्डियाबाट ल्याउनु पर्ने अवस्था थियो । तर, विस्तारै धेरै कच्चा पदार्थ नेपालमै उपलब्ध हुँदै गएको उनले जानकारी दिए ।
हाल केपीआईको दैनिक उत्पादन क्षमता ५ हजार हेल्मेटसम्म पुगेको छ । जुन नेपालकै मागभन्दा धेरै हो । त्यसैले बस्याल भन्छन्, ‘हामी अहिले आत्मनिर्भर भइसकेका छौँ । अब हामी निर्याततर्फ पनि अघि बढिरहेका छौँ ।’
नेपालीपन झल्काउने हेरिटेज सिरिज, ४० करोडको कारोबार
हाल केपीआईको वार्षिक कारोबार ४० करोड रुपैयाँ पुगेको छ । ‘केपीआई हेल्मेट’ देशभरका डिलर नेटवर्क र सोरुममार्फत बिक्री वितरण हुँदै आएको छ । लेगगार्ड उत्पादनमा पाएको अनुभवले हेल्मेट बजार विस्तार गर्न सजिलो भएको उनी बताउँछन् ।
नेपाली उपभोक्ताले ‘नेपाली उत्पादनको गुणस्तरीय’बारे प्रश्न उठाउँदै आएका छन् । तर बस्याल दाबी गर्छन्, ‘हाम्रो हेल्मेट आईएसआई र डीओटी दुवै सर्टिफाइड छन् । ल्याबमा परीक्षण गरेर मात्र बजारमा पठाइन्छ । उपभोक्ताले निर्धक्क प्रयोग गर्न सक्नुहुन्छ ।’
केपीआईका हेल्मेट अग्नि ग्रुप, त्रिवेणी ग्रुप, बजाजलगायतले प्रयोग गर्ने गरेका छन् । केपीआईले दुई जनाभन्दा बढीलाई रोजगारी समेत दिएको छ ।
कोहिनूरले बजारमा सामान्य हेल्मेट मात्र ल्याएको छैन, नेपालीपन झल्काउने विशेष शृङ्खला पनि ल्याएको छ । ‘हेरिटेज एडिसन’मा धरहरा, दरबार स्क्वायर, पशुपतिनाथ, लालीगुराँस, कर्णाली पुलदेखि ‘मुस्ताङ एडिसन’सम्मको झल्को पाइन्छ ।
‘हामीले हेरिटेज एडिसन भनेर नेपाल, नेपाली बजारमा पहिलो पटक ल्यायौँ । अन्य विभिन्न राष्ट्रिय सम्पदाहरू झल्किने किसिमका हामीले कर्णाली पुल, लालीगुराँस, जानकी मन्दिर, रोयल बंगाल टाइगरदेखि लिएर धरहरा, दरबार स्क्वायरहरू, हैन, स्वयम्भू, पशुपतिनाथ एडिसन निकाल्यौँ । अहिले मुस्ताङ सिरिज भनेर मुस्ताङ एडिसन पनि निकालेका छौँ’, उनले भने ।

केपीआईका हेल्मेट नेपाली बजारमा एक हजार ५ सय रुपैयाँदेखि तीन हजार पाँच सय रुपैयाँसम्मका छन् । नाडा अटो शोमा सहभागी भएको केपीआईले अहिले २५ प्रतिशत छुट समेत दिइरहेको छ ।
आयातित हेल्मेटले थपेको चुनौती
सरकारले नेपाली उद्योगलाई प्रोत्साहन गर्ने भनेपनि व्यवहारमा भने नदेखिएको उनको गुनासो छ । ‘सरकारको एउटा बोली अनि काम अर्कै हुने गरेको छ । नेपाली उद्योगलाई प्रोत्साहन गर्ने भनेपनि व्यवहारमा देखिएको छैन’, बस्यालले भने, ‘नेपाली उद्यमीहरूलाई कसरी आत्मनिर्भर गराउन सकिन्छ भन्ने कुराहरूमा सरकारले अलि बढी चासो दिनुपर्छ । सरकारको साथ पाए नेपालका उद्यमीहरू सबै खुसी हुने थिए ।’
आयातित हेल्मेटसँग प्रतिस्पर्धा गर्नु ठूलो चुनौती बनेको छ । बस्याल भन्छन्, ‘कोहिनूर र केपीआईका हेल्मेटहरू पूर्णरूपमा मेड इन नेपाल उत्पादन हुन् । सरकारबाट आवश्यक नीतिगत सहयोग पाएमा हामी अझै प्रतिस्पर्धी भएर अगाडि बढ्नेछौँ ।’
उनका अनुसार नेपालीभन्दा आयातित हेल्मेट सस्ते पर्ने गरेको छ । खुल्ला सिमानाका कारण ग्रे मार्केटिङ बढी हुने गरेकाले अन्डर–भ्यालु प्राइसिङ गरेर ल्याउ गरिएको छ । जसले गर्दा नेपाली उद्योगलाई प्रतिस्पर्धा गर्न समस्या सिर्जना हुने गरेको छ ।
केपीआईले हालसम्म १३ मोडल बजारमा ल्याइसकेको छ । प्रत्येक वर्ष नयाँ मोडल थप्दै सम्पूर्ण रेन्ज उपलब्ध गराउने लक्ष्य छ । साथै निर्याततर्फ विस्तार र ग्राहकसँगको साझेदारीलाई अझ मजबुत बनाउने योजना रहेको बस्याल बताउँछन् ।

‘हामीसँग १३ वटा मोडल भइसकेको छ । हरेक वर्ष एउटा या दुइटा थपिरहेका छौँ । जतिपनि मोडलहरू बजारमा चलिरहेका छन् अथवा जुन आउने क्रममा छन्, त्यो चिजहरू हामीले उत्पादन गर्ने प्रयत्न गरेका छौँ’, उनले भने, ‘हाम्रो ग्राहकहरूका लागि सन्तुष्ट पार्ने गरेर उत्पादन गरिरहेका छौँ ।’
उद्योग शुरु गर्दा थुप्रै चुनौती रहेको सुनाउँदै बस्याल भन्छन्, ‘बजारमा सुरुवाती क्रममा धेरै चुनौती थियो । तयारी वस्तुभन्दा कच्चा पदार्थ धेरै महँगो भन्सार तिरेर ल्याउनुपर्ने हामी बाध्यतामा थियौँ । विस्तारै त्यो कुराहरू क्रमिक रूपमा सुधार त भइरहेको छ । र अझै पनि हामीले सरकारबाट उद्यमीका अन्य समस्या समाधान गरिदिन अनुरोध गर्दछु ।’

Leave a Reply