प्रश्न
१) यसै यसै हिँडिरहनु पनि जीवनको लय बन्यो भने के हुन्छ ?
२) त्यो लयमा विलय हुन सकियो भने के हुन्छ ?
३) त्यो कस्तो आलय हुन्छ ?
नोट: प्रश्नमात्र दिएर मलाई मज्जा लाग्दैन । उत्तर पनि खोज्न मन लाग्दछ । धेरै आर्टिकलहरूले प्रश्न मात्र जन्माए । अब उत्तर पनि दिनु पर्दछ भन्ने लाग्दछ । हुन त प्रश्नको आधा उत्तर प्रश्नमै हुन्छन् । माथिको प्रश्नको उत्तर यस्तो लाग्यो । यहाँहरू झनै रचनात्मक र सिर्जनशील हुनुहुन्छ । यहाँहरूले थप्नुभयो भने झन् खुशी हुन्छु ।
उत्तर
यी तीन प्रश्नजस्तै भए लय वा विलय भई सृष्टिको मूल कारणमा मिल्ने प्रक्रियामा समाहित होइन्छ तर त्यो प्रलयमा भने हैन । पैसा, पद, प्रतिष्ठाभन्दा पर रहेर यसै यसै हिँड्नुले पनि जीवनमा एक आलय बनाउँदछ । आजकल हाइकिङ र ट्रेकिङमा हिँड्न पाइरहँदा (आफ्नै खुट्टाले पनि सधैँ हिँड्न पाइँदैन नि !) मलाई यस्तो लाग्न थालेको छ ।
एक लयमा हिँडेको जीवनलाई पैदल वा सवारीसाधनले अर्को ठाउँमा पुर्याएर शरीर र दिमागलाई चङ्गा बनाउने प्रक्रिया हो यात्रा । जहाँ जीउ दुख्न सक्छ तर मन दुख्दैन । जहाँ हात खुट्टा फुल्न सक्छ तर मन प्रफुल्ल रहन्छ ।
सधैँ एकै मान्छे एकै ठाउँ एकै खानाले परिवर्तन खोजेपछि यात्रा सुरू हुन्छ । खाने समय एकै नहुनु । भेटिरहेका भन्दा नयाँ मान्छे भेट्नु । देखिरहेका भन्दा नयाँ ठाउँ देख्नु । सुतिरहेको समय गडबड हुनु । ब्युँझने समयमा क्रमभङ्ग हुनु ।
समय आफ्नो वशमा नभई यात्राको वशमा हुनु नै यात्राको मोहकता हो । कहाँ कहिले कस्तो घटना आउँछ छ र के बनाउँछ त्यो यात्राकै जिम्मामा छाडिदिँदा (त्यसो भनेर सावधानी नअपनाउने हैन) यात्रा झनै सूरम्यता र सुमधुरता हुन्छ ।
समय भङ्गता, स्थान भङ्गताले जीवनमा क्रमभङ्गता ल्याएर दिमागमा आनन्दको मसाज गराउने चिज हो यात्रा । कति नदेखेका मान्छे देखिरहँदा । नभेटिएका मान्छे भेटिरहँदा । नखाएको कुरा खाइरहँदा । त्यो स्थान, त्यो दृष्यहरू अनि तत्तत् मान्छेहरूको स्वर र रङ्गमा आफ्नो स्वर प्रकृतिको स्वर मिसिँदै जाँदा मन मनमगन हुन्छ ।
निस्वार्थ यात्राको लयमा विलय भएर नयाँ आलय बनाएका महान् पुरुषहरू संसारमा धेरै छन् । त्यस्तो बन्न नसकेर वा त्यस्तो बन्न खोजेर हिँडेको हैन म यसै यसै हाइकिङ र ट्रेकिङमा छु ।
यो पालाको हाइकिङको साढे अठार घण्टा यसरी बित्यो कि क्यालेन्डरको एक दिनको पाना एक छिनमा पल्टाए जस्तै लाग्यो । समय बित्दछ । त्यो समयको सम्झना नबितोस् भनेजस्तै साढे अठार घण्टा भयो ।
ह्याप्पी हाईकर्सले यो पाला भूत छाँगो लैजाने भनेर हाल्यो । नयाँ ठाउँ जाऊँ न त भन्ने लाग्यो । नाम हाल्न लगाए । बुधवार नाम राख्यो । शुक्रबार आइहाल्यो । क्रमभङ्गता सुरू भयो । बेलुका १०:३० मा सुत्ने म ८:३० मै सुत्न गए । बिहान ६/७ बजे उठ्ने म ४:०० बजे नै बिउँझिएँ (४:३० को अलार्म अगाडि नै निन्द्रा खुल्यो ) ।
५:२५ मा त चप्पल कारखानामा हाइकर्सको गाडी आइहाल्यो । साउने पानी अलिअलि परिरहेको थियो । रिमझिम पानीमा रौसिँदै रमाएर बस चढेँ । हाइकर्सको गाडीले एक राउन्ड नगर परिक्रमा गर्दछ । अनि चिनेका मान्छेका हल्ला, नचिनेका मान्छेका चुपचाप बसमा सुरू हुन्छ । त्यो देखेर होला एक साथीको म्यासेज आयो “लठाबज्र ताल दुःखी हाइकर्स हाहाहा…..।”
दुःखले एकाबिहानै आर्तनाद गरेर चिच्याए झैँ लाग्यो होला उनलाई र त यो म्यासेज पाए भन्ने लाग्यो । चक्रपथ, बसुन्धारा, सामाखुशी, लैनचौर, त्रिपुरेश्वर , कोटेश्वर गठ्ठाघरबाट मान्छे हालेपछि बसको घार भरियो ।
कृष्ण जन्माष्टमीको दिन थियो । कृष्णको भजन सुन्ने गाउने कोही भएनन् । जो बोल्यो त्यही कृष्ण झैँ थिए । राधाहरूको स्वर चुप थियो । बसका कृष्णहरूले बसमा म बुझ्नु भयो ? मैले गर्दा बुझ्नु भयो सुन्दै साँगाचोकगढी पुगियो । ठ्याक्कै ८:२७ मा गाडीबाट ओर्लियौं । लेखेको देखियो, काभ्रे-कोटडाँडा-गढी-भञ्ज्याङ सडक ।
१) बछला मन्दिर- ०.७१५ कि.मि
२) भन्ज्याङ पँधेरा – १.१५९ कि.मि
३) गढी- १.४०० किमी ।
खुशी लाग्यो । पीच गरेको त्यो सडक ७३,७८,१७९.५८ रुपैयाँमा पाँच महिनामै निर्माण भएको रहेछ । आयोजना सम्झौता मिति २०८१/०६/०३ र सम्पन्न मिति २०८१/११/३० मा सकिएको रहेछ । सडक डिभिजन चरिकोटलाई धन्यवाद दिन मन लाग्यो ।
यहाँ त समयमा काम नसकेर पैसा एडभान्स लिएर, अन्त चलाएर, सडकमा रोपाइँ गर्ने समय बनाएर हैरानीको डल्लो खाइरहने नेपालीहरूलाई यो समय देख्दा खुशी लाग्यो । फेरि सोचेँ, हाम्रा खुसी पनि कति साना भए है ! आफ्नै खुसी दुब्लाए झैँ लाग्यो ।
गेटबाट भित्र छिर्दै जाँदा रमाइलो उकालो आयो । आकाश खुलेको थियो । साउने झरी दर्काएर आकाश नीलो र सेतो भएको थियो । यो देखेपछि निकिता (बहिनी) बोलिन् “एक फोटो खिचिदिनु न कमल दाइ !”
खिच्न थालेपछि एक कहाँ हुनु ! भएन, यो त झनै भएन, यसरी खिचौँ भन्दा भन्दै दर्जन खिच्दा पनि चित्त बुझाउन सकिएन । बल्ल तल्ल एउटा ठिक लाग्यो उनलाई । उनको फोटो रोगले गर्दा हामी सबैभन्दा पछाडि परियो ।
बाटोमा अनेक नचिनेका फलहरू फलेका देखिए । दिउँसै जुनकिरी देखिए । फूलहरू देखिए । यसले थाहा भयो यहाँको पर्यावरण राम्रो रहेछ । सबै बाँचेका रहेछन् । शहरमा त मान्छेले आफूबाहेक अरुलाई बाँच्न दिँदैन । यहाँ धेरै प्रकृति , वनस्पति र जीव जीवाणु बाँचेका देखेँ । पृथ्वी उनीहरूको पनि त हो नि ! मेरो मन खुसी भयो ।
गणतन्त्रपछि गाउँका मन्दिर सुकिला भएका छन् । स्थानीय तहमा पुगेको बजेटले गाउँ गाउँको मन्दिर र बाटो राम्रो भएको छ । हामी पनि सुकिलो मन्दिर बच्छलादेवी पुग्यौँ । घन्टै घन्टले सजिएकी उभिएकी बच्छला बहुत् सुन्दर देखिएकी थिइन् । मन्दिरबाट मकैबारी हुँदै हल्का दश मिनेट उक्लिएपछि ऐतिहासिक साँगाचोकगढी आइपुग्यो ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दाताका पूर्वका जिल्ला समेट्न सैनिक राखेको साँगाचोकगढी भनेर इतिहासमा पढ्न पाइन्छ । त्यहाँ पुग्दा पृथ्वीनारायण शाह चाहिँ साँच्चै दूरदर्शी र आफैँ लड्ने लडाकु राजा नै हुन भन्ने लाग्यो ।
सेतो बादलमा नीलो आकाश । तल बगिरहेको खोला । हरियो पहाडमा लुटुपुटु गरिरहेका बादलहरू । पर कतै किरिङमिरिङ घरहरू । अग्लो ठाउँबाट होचो हेर्दा आफैँ अग्लो भए झैँ ठान्दै फोटोमा तँछाडमछाड गर्दै थिए साथीहरू ।
देखेँ, ओहो ! गढी त गेडागुडी झैँ भएछ । न कुनै शिलालेख छ । न कुनै भग्नावशेष छ । अलिकति भएको थुप्रिएको माटो पनि भत्किएछ । त्यहाँ त सिमेन्ट, मार्बल पो छ त ! सिँढीहरू सब नयाँ रहेछ । नयाँ बुद्ध बनेछ । यस्तो लाग्यो , कुन चाहिँ बुद्ध बनाउँछु र बुद्ध बन्छु भनेर किन यस्तो बुद्धु बनेर लद्दु काम गरेको होला ?

त्यहाँ त गढीबारे, इतिहासबारेका अनेक राखेर संरक्षण पो गर्नुपर्ने । पछिल्लो पुस्तालाई त्यो देखाउन पर्ने । पुर्खा हिँडेको बाटो थाहा पाउनु पुत्रपुत्रीहरूको परम अधिकार पनि हो । त्यो अधिकार किन त्यसरी छिनेको होला भन्ने लाग्यो । अब यो सिमेन्टमा यो मार्बलमा कहाँ इतिहास खोज्ने ? खर्च यत्रो भएको छ । डोजर लगाएर भग्नावशेषको शेष मात्रै बाँकी छ भनेर दिक्क लाग्यो । ऐतिहासिक साँगाचोकगढी अक्षरमा मात्रै देखेर मन दुःखी भयो ।
जबकि साँगाचोकगढीकै नाममा नगरपालिका बनाइएको छ । २०७१ वैशाख २५ गते नगरपालिका घोषणा गर्दा साबिकका चौतारा, कुभिण्डे, सानोसिरुबारी र पिपलडाँडा गाउँ विकास समिति (गाविस) हरू समावेश भए । विस्तारको क्रममा २०७३ फागुन २७ मा बिस्तार हुँदा स्याउले बजार, बतासे, ईर्खु, कदम बास, साँगा चोक र ठुलोसिरुबारी गाविस समावेश भए ।
यो गढी आफैँमा महत्त्वपूर्ण छँदैछ । यो नगरपालिकामा धेरै ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वका सम्पदाहरू छन् । यहाँको महत्त्व दर्शाउँदै यो ठाउँ कालान्तरसम्म दर्शनीय बनोस् भन्ने भाव व्यक्त गरे । गढीको ढिस्को पनि पानीले बगाउँदै लगेको छ ।
बन्ने एकै शब्दमा पनि खुसी र दुःख लाग्यो । अघि बाटो बन्दा यसै खुशी लागेको थियो । अहिले गढी बन्दा (बिग्रँदा) दुःख लाग्यो ।
त्यो गढीमा पहिले ब्रेक फास्ट के हुन्थ्यो होला र ? अहिले गढीबाट तल चोक आएर खाइयो रोटी, तरकारी, अण्डा र चिया मानेडाँडाको निखिल भाइको पसलमा बसेर । खाएपछि हिँड्ने चलनै हो । हामी पनि चल्यौँ । हिँडेको एक छिनमा ‘वेलकम भूत छाँगा रिसोर्ट’ लेखिएको तर स्वागत ताल्चाले गरेको देखियो । हिँड्दै जाँदा रात माटे बाटो छाडेर ओरालो आयो । गाउँहरू छल्दै लगभग डेढ घण्टा हिँडेपछि आयो सिँढीको बाटो ।
कानले भन्यो, छाँगो आयो । कानमा प्रकृतिको कुल कुलता कताकता मिठो धुनमा बजिरहेको थियो । निसास्सिएर ओरालो झर्दै छाँगोमा पुग्यौं । बाफरे बाफ ! पानीको बहाव गजबै लाग्यो । अनि सम्झिए भारतको मसूरीको केम्पटी फल्स । जहाँ लाखौँलाख पर्यटक जान्छन् भव्य झरना भनेर ।
केम्पटी फल्स भन्दा कहाँ हो कहाँ ठूलो झरनामा चरो मुसो छैनन् । केम्पटी फल्स भाग्यमानी झरना लाग्यो । दुई वटा ढलबाट बनाइएको कृत्रिम झरना जस्तोमा त्यत्रो मान्छे देखे थेँ । यहाँ मान्छे देखिन्न । स्वर्गमा भएर स्वर्गको खोजीमा भौँतारिएका हामी नेपालीहरू हौँ भन्ने लाग्यो यो झरनासँग देहरादुन मसूरीको केम्पटी फल्स सम्झँदा ।

साउने झरीमा रुझ्न मज्जा हुन्छ । वर्षात्को धुन सुन्न मज्जा हुन्छ । यत्रो झरनामा पुगेपछि झरना सुन्न र रुझ्न झनै मज्जा लाग्यो । झरनाको आवाजले कान र पानीले शरीर पखाल्दै मन शुद्ध पार्नलाई पस्यौँ झरनामा । महभीर झरनामा त मज्जाले साबुन लगाएर नुहाएका थियौँ । अगाडि पछाडि हेर्दा नरम पानीले हान्थ्यो ।
भुता छाँगोमा त भूत नै रहेछ कि क्या हो ? उसको अगाडि पर्नै नदिने भन्या । मान्छेले पिटे झैँ आँखामा र कानमा एकैपल्ट चड्याम्म हानेर हैरान पार्ने । पछाडि पछाडि फर्केर ढाड फर्काउँदै उसको नजिक जानुपर्ने, पूरै नजिक जानै नसक्ने । थोरै नजिक जाऊँ न अगाडिबाटै हेरौँ भनेको त छर्रा बारुदले हाने झैँ हानेर आँखा र कान नै सुन्नाउला भन्ने डर भो ! लुगा फुकालेर मज्जाले साउन्ड थेरापी र छाँगो थेरापी ढाडमा गरियो । निक्कै बेर चलेपछि थाकेर लखतरान हुँदै चिसो पानीमा नुहाइयो र फेरि फर्कियो उही बाटो ।

बाटोमा भेटिए निराजन थापा मगर (भुता छाँगा व्यवस्थापन समितिका अध्यक्ष) । उनले भने “यो भूतै बस्ने खालको खाल्डो थियो, हामी लहरा समातेर तल जान्थ्यौँ, यो डरलाग्दो थियो १० वर्ष अगाडि, भूत आउने हैन तर पुर्खाले बच्चाहरूले यो एकान्तमा जान्छन् र सिँढी पनि नभएको ठाउँमा परेर कोही पौडी खेलेर मर्लान् भनेर त्यहाँ इन्द्रेणी परेर भूत आउँछ नजानू भन्दा भन्दै भुता छाँगा रह्यो ।”
हामी पनि छक्कै थियौँ । नुहाइरहँदा इन्द्रेणी आइरहन्थ्यो । समात्न खोज्यो इन्द्रेणी परपर देखिन्थ्यो ।अगाडि पर्न नदिने र इन्द्रेणी देखिने समाउन नसकिने यो कुरा कुनै अनुसन्धानको विषय बन्ला न कि भूत भनेर भन्ने लाग्यो । त्यो झरनाको यो पानी झयाँग्रे खोला बन्दै दोलालघाटमा पुगेर इन्द्रावतीमा मिसिने रहेछ ।
बागमती प्रदेश सरकारले पचास लाख दिएर सुरू भएको यो योजना एक करोडको हाराहारीमा लगानी गरेर सिँढी मेचहरू राखिएको रहेछ । घले, मगर र अधिकारी रहेको यो टोललाई स्यानो सिरुवारी मगुवा खानीगाउँ(अहिले पनि राम्रो ढुङ्गा खानी चलिरहेको छ ) भन्ने रहेछ ।
त्यहाँबाट निक्लँदा यो यहाँको मात्रै सम्पत्ति हैन, संसारको बनोस् भन्ने भाव आयो । दार्जिलिङ, नगरकोट, मसूरीजस्तै हल्का चिसो, प्राकृतिक छटाले भरिपूर्ण यो ठाउँको पनि दिन आउनेछ भन्ने लाग्यो । जसरी काठमाडौंमा भूत खेल्छ भन्ने ठाउँमा मान्छेहरू खेल्न थाले यहाँ पनि भूता छाँगोमा मान्छेको छाँगो आउने दिन आउँछ भन्ने लाग्यो ।
सम्झेँ, मलाई पनि कत्तिले भूत लेखक भन्छन् । भूता छाँगोबाट नबुझेरै भनेको भूत लेखक पनि प्रिय लाग्यो । घोष्ट राइटर भनेको भूत लेखक हुँदै हैन । नेपालमा घोष्ट माने भूत राइटर माने लेखक भनेर माने घोकन्ते पढन्ते विद्याले घोष्ट राइटरलाई भूत लेखक बनायो । यो त एकदमै ब्रान्ड लेखन पद्धति हो ।



Leave a Reply