काठमाडौं । नेपालमा कुनै पनि चलचित्रको एउटा गीतको भिडियो खिच्न बढीमा कति लाग्ला ? १० लाख, २० लाख वा तीस लाखसम्मको आँकलन गर्न सकिन्छ ! तर एउटै चलचित्रको गीतको भिडियो खिच्न ५० लाख लाग्यो भन्दा पत्याउन कि नपत्याउने ?
सन्दर्भ हो, असोज १३ गते रिलिज हुन लागेको चलचित्र ‘माइतीघर’ को । यसका निर्माता रोहित अधिकारीले आफनो चलचित्रको एउटा गीत सुट गर्न ५० लाख खर्च भएको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो दाबी गरेका हुन् ।
‘माइतीघर’ मा ‘पुरानो माइतीघर’ को कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ लाई नै रिमेक गरेर शीर्ष गीतको रुपमा समावेश गरिएको छ । गीत अर्को साता सार्वजनिक हुने भए तापनि निर्माणपक्षले भने केही समयअघि नै यो गीतमाथि एक प्रतिस्पर्धाको आह्वान गरिसकेको छ ।
निर्माण टिमले उक्त प्रतिस्पर्धाको विजेतालाई पाँच लाख नगद पुरस्कार दिने घोषणा गरेको छ । उक्त गीतमा डान्स गरेर ४० सेकेन्डदेखि दुई मिनेटसम्मको उत्कृष्ट भिडिओ बनाउनेले यो पुरस्कार पाउनेछन् ।
चलचित्रमा समावेश यही शिर्ष गीतको भिडियो खिच्नका लागि ५० लाख खर्च भएको हो । चलचित्रका निर्माता रोहित अधिकारीका अनुसार यो एउटै गीत खिच्न ११ दिन लागेको थियो । ४ दिनको सेडयुल बनाएर गए पनि, मौसम र करिब डेढ सय जनाको जम्बो टिमको कारण गीतको छायांकन ७ दिन लम्बियो ।
यो गीतको पहिलो दिनको छायांकन बाग्लुङमा गरिएको थियो । तर, कारणवश त्यहाँ खिचिएका कुनै पनि दृश्य गीतमा राखिएन । भिडियो सबै नयाँ शैलीमा नै खिच्ने सल्लाह भएपछि बाग्लुङमा खिचिएका दृश्यहरु हटाइएको उनी बताउँछन् ।
एउटै गीतको भिडियो खिच्न किन यत्रो खर्च ? भन्ने प्रश्नको उत्तर दिँदै निर्माता अधिकारी भन्छन्, ‘भिडियोमा चलचित्रका मुख्य कलाकारहरु उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाबाहेक ६० जना कोरसलाई नचाइएको छ । मौसमका कारण एउटै दृश्य खिच्न दिनभरी कुर्नुपथ्र्यो । त्यहीँ भएर पनि लागत बढेको हो ।’
अधिकतम २० लाखको बजेट तय गरेर गए पनि माहोल सोचेअनुरुप नभएपछि ५० लाख माथि खर्च भएको रोहित सुनाउँछन् ।
‘ऐतिहासिक गीत भएकाले पनि भिडियो मेकिङमा कुनै सम्झौता गर्न चाहेनौं । यो गीत बिग्य्रो भने बर्बाद हुन्छ भन्ने थियो,’ उनले जोडे, ‘त्यही भएर सक्दो न्याय दिन खोजेका छौं । गीतले हिमाल, पहाड, झरना, आदि जस्ता थुप्रै नेपालको प्राकृतिक सौन्दर्यको कुरा गरेको छ । ती सबै समेट्दा पनि समय लाग्यो ।’

भारतीय गायिका सञ्जिवनीको स्वर रहेको यो गीतको भिडियोमा नाच्न अधिकारीले जम्बो कोरस टीम काठमाडौंबाटै लगेका हुन् । उनीहरुका लागि प्रतिदिन ५ लाख खर्च भएको उनको भनाइ छ । यति महँगो रकम खर्च गरेर एउटै भिडियो बनाएको आफूलाई अहिलेसम्म थाहा नभएको उनी बताउँछन् ।
रोहित अधिकारी फिल्मसको व्यानरमा निर्माण भएको यो चलचित्रको बजेट पनि ठूलो छ । कलाकारमा बढी खर्च भएकाले झन्डै ५ करोड बजेट पुगेको अधिकारी सुनाउँछन् ।
मिलन तामाङको निर्देशन रहेको यो चलचित्रमा कलाकारहरु केदार प्रसाद घिमिरे (माग्ने बुढा), प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्दी तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतको अभिनय छ ।
चन्द्रकुमार दोङको कथा र रामशरण पाठकको पटकथा तथा संवाद रहेको चलचित्रमा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन र रविन शेरचन र धिरज तामाङको लगानी छ ।


Leave a Reply