काठमाडौं । नेपाली कांग्रेस सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंहले पदबाट राजीनामा दिएका छन्। वन मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएकाले सिंहले आज पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर केन्द्रीय कार्यालय सानेपामा राजीनामा दिएका हुन्।
राजीनामा पत्रमा भनिएको छ, ‘दुई कार्यकाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको उपसभापतिको रूपमा जिम्मेवारी निर्वाह गरेपछि विंसं २०७८ साल फाल्गुण २९ गते देखी नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पार्टी सभापति भएर आफ्नो जिम्मेवारी बहन गरिरहेको छु। तर पछिल्लो पटक म माथि लगाइएको मुद्दाको सन्दर्भमा सम्मानित अदालतले निर्णय गरेको अवस्था छ।’
अदालतले गरेको निर्णय मान्ने आफ्नो कर्तव्य भएको भन्दै उक्त निर्णयले अन्याय गरेकाे पत्रमा उल्लेख गरेका छन्।
पत्रमा भनिएको छ, ‘म माथि भएको अन्यायको, म व्यक्तिगत रूपमा मेरो कानुनी तथा न्यायिक लडाइ लडिरहनेछु। साथमा मेरो राजनीतिक लडाइ जारी नै रहनेछ। यद्यपि, सम्मानित अदालतको निर्णय, नेपालको प्रचलित कानुन र पार्टीको विधान बमोजिम म सभापतिको रूपमा आफ्नो जिम्मेवारीमा निरन्तर रहने अवस्था रहेन। यसकारण म नियम कानुन र पार्टीको बृहत्तर हितलाई मध्यनजर गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पार्टी सभापति पदबाट राजीनामा दिएको जानकारी गराउँछु ।’
राजीनामा पत्रमा आफूले २०७६ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको हस्ताक्षरबाट पार्टी सदस्यता लिएको उल्लेख गरेका छन्।
अदालतबाट दोषी ठहर हुँदा पनि सभापति पदबाट राजीनामा नदिएको भन्दै पार्टीभित्रै चर्को आलोचना भइरहेको थियो भने नेता डा। शेखर कोइरालाले हालै बसेको केन्द्रीय समितिको बैठकमा समेत यो कुरा उठाएका थिए।

Leave a Reply