काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयका मुद्दाको चापमध्ये बैंकिङ कसुरको रफ्तार उच्च हुँदा आत्महत्याको दरमा भने केही कमी आएको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्दै उपत्यका प्रहरी प्रवक्ता एसएसपी शेखर खनालले उक्त विवरण पेश गरेका हुन् ।
वर्ष २०८१/०८२ मा बैंकिङ कसुरका ८ हजार ६८ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको भन्दा ५.८७ प्रतिशतका दरले यस्तो मुद्दाको चाप बढेको विवरण खनालले प्रस्तुत गरे ।
उपत्यकामा आत्महत्याको दरमा भने प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८१/०८२ मा काठमाडौं उपत्यकामा ५२७ जनाले आत्महत्या गरे ।अघिल्लो आर्थिक वर्षभन्दा ५.०४ प्रतिशतका दरले आत्महत्यामा कमी आएको विवरण खनालले प्रस्तुत गरे ।
मुद्दाको दोस्रो चाप सार्वजनिक हितविरुद्धको कसुरमा रहेको तथ्यांक प्रवक्ता खनालले प्रस्तुत गरे । उक्त कसुरमा एक वर्षमा १२ सय ३६ मुद्दा चलेको उनले सुनाए ।
काठमाडौं उपत्यकामा १० हजार २७ प्रहरी जनशक्ति कार्यरत रहेको विवरण प्रस्तुत गरेका खनालका अनुसार एक प्रहरीले ३०१ नागरिकको सेवा गर्नुपर्ने अवस्था चित्रण गरे ।
आर्थिक अपराधअन्तर्गत हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएर उपत्यका प्रहरीले ५ करोड ९२ लाख ४१ हजार ७ सय ६ रुपैयाँ बिगो कायम गरेको जनाएको छ । अनलाइन सट्टेवाजीतर्फ ९ अर्ब २४ करोड ३३ लाख ९८ हजार २३ रुपैयाँ बिगो कायम गरिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा काठमाडौं उपत्यकामा जबर्जस्ती करणीका ३४३ मुद्दा चलेका छन् । अघिल्लो आर्थिक वर्षको भन्दा जबर्जस्ती करणीको मुद्दामा ४।१८ प्रतिशतले कमी आएको हो । ज्यान मार्ने घटनामा १७७ मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ ।
उपत्यका प्रहरीअन्तर्गतका विभिन्न प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयनका क्रममा फरार अभियुक्त पक्राउमा पनि प्रगति हासिल गरेको छ । ६ हजार ३२१ कसुरदार पक्राउ पर्दा उनीहरूबाट ३८ करोड ३५ लाख ४४ हजार २ सय ४५ रुपैयाँ असुल भएको विवरण प्रस्तुत भएको छ । अघिल्लो आर्थिक वर्षमा पक्राउ संख्या १४५३ मात्रै थियो । फैसला कार्यान्वयनका क्रममा व्यक्ति पक्राउमा उपत्यका प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलनामा ३३५ प्रतिशतले प्रगति गरेको हो ।
सवारी दुर्घटनामा आर्थिक वर्ष २०८१.०८२ मा उपत्यकामा १९० ले ज्यान गुमाए । ७ हजार ६३१ जना घाइते भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । सवारी दुर्घटनामा सबैभन्दा बढी संख्या मोटरसाइकलको छ । ६ हजार ५३७ मोटरसाइकल दुर्घटना हुँदा ३ हजार ५८४ कार, जिप रहेका छन् । ९४१ बस उपत्यकामा दुर्घटनामा परे । टिपरको दुर्घटना दर १९७ छ । २८९ वटा माइक्रो दुर्घटनामा परेका छन् ।

Leave a Reply