‘जनै हराएको मान्छे’ को ग्राण्ड प्रिमियर : चलचित्र हेरेर कलाकारकै रुवाबासी

काठमाडौं । अभिनेता बिजय बराल मुख्य भुमिकामा रहेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ग्र्याण्ड प्रिमियर सम्पन्न भएको छ। बुधबार नयाँ बानेश्वर स्थित वान सिनेमाजमा चलचित्रको भव्य प्रिमियर आयोजना गरिएको थियो।

प्रिमियरमा चलचित्र हेर्न कलाकार शुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकारद्वय कमलमणी नेपाल, लोकेन्द्र लेखक, किरण श्रेष्ठ, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज लगायतका चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित अधिकांश कलाकार तथा दर्शकहरू ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ हेरेर भावुक भएका थिए। चलचित्र हेरेर निस्किएका धेरैको आँखामा आँसु थियो। चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारी स्वयं आफ्नो चलचित्र हेरेपछी रुदै बाहिरिएकी थिइन् । हलभित्रै पनि उनको आँसु रोकिएको थिएन।

चलचित्र हेरेपछि गायिका अन्जु पन्त पनि हलबाट रुदै बाहिरिएकी थिइन् । चलचित्रले नोस्टाल्जिक बनाएको बताउँदै उनले भनिन,’चलचित्र हेरेपछी दाजुभाई-दिदीबहिनीको कुराले मलाई बढी छोयो। महिलाको पिडालाई चलचित्रमा निकै मिठो तरिकाले प्रस्तुत गरिएको छ। कति ठाँउमा भावुक भए। चलचित्र सकिन्जेल कति रोए रोए।’

त्यस्तै, चलचित्र हेरेर निस्किएका कलाकार जितु नेपालले पनि चलचित्रको खुलेर तारिफ गरे। उनले भने,’चलचित्र हेरेपछि मैले मेरो बुवालाई सम्झे। मलाई आफु कलाकार भएर मेरो बुवालाई देखाउने ठुलो रहर थियो। तर, त्यो अघि नै उहाँले हामीलाई छाडेर जानुभयो। चलचित्र पनि त्यस्तै कथामा छ। साह्रै मन छोयो। आमा-बुवाको महत्त्व बुज्न भएपनि एकपटक सबैले यो चलचित्र हेर्नुपर्छ।’

चलचित्र हेर्न पुगेका ‘भ्वाइस अफ नेपाल सिजन ६’ का विजेता प्रोसेश पाण्डेले पनि चलचित्र हेरेर आफू भावुक भएको बताए। चलचित्रको क्लाइमेक्समा बुवा बितेको दृश्यले आफ्नो मन छोएको उनले सुनाए।

चलचित्र हेरेर धरधरी रोएकी अभिनेत्री केकी अधिकारीको हल बाहिर पनि आँसु रोकिएन। उनी रोएको देखेर बेलाबेला गायिका अन्जु पन्तले उनको आँसु पुछिदिदै थिइन् । धरधरी रुदै केकी अधिकारीले भनिन,’धेरै महिलाहरुको याद आयो। हिँसामा परेको महिलाहरुलाई सम्झिए। हामी कति सजिलै महिलाहरुलाई जे पनि भन्दिन्छौ। कति समयपछी मुटु दह्रो पारेर आफुलाई भएको हिंसाबारे सुनाउदा पनि उल्टै समाजले महिलालाई दोष लगाउछन् ।’

यति भन्दा-भन्दै उनी भक्कानिइन र बोल्नै छाडिन। रोएर बोल्न नसकेपछि उनी नबोली निस्किइन।

चलचित्र हेरेपछि बुवा-आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथाले आफुहरुलाई समेत भावुक बनाएको अभिनेता बिजय बराल र गौरव पहाडीले बताए । श्रीमतीसहित चलचित्र हेर्न पुगेका गौरवले चलचित्र हेरेपछि आफुले आँसु थाम्न नसकेको बताए। बिजयले पनि चलचित्र हेरेपछि आफुलाई शान्त महशुस भएको सुनाए।

त्यस्तै, चलचित्रले आफूहरू जस्तै दर्शकको पनि मन छुने र आँसु बगाउन बाध्य बनाउने उपस्थित अधिकांशको भनाई थियो।

भोलि शुक्रबारबाट रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा केकी अधिकारी, विजय बरालसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् भने चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *