त्रिशक्ति सेक्युरिटिजले बुटवलबाट थाल्यो सेवा

रूपन्देही । नागरिकलाई पुँजीबजारमा उत्प्रेरित गर्ने उदेश्यले त्रिशक्ति सेक्युरिटिज लिमिटेडले बुटवलबाट सेवा थालेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जल कसजु, नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम र नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले संयुक्त रुपमा वुटवल शाखाको उद्घाटन गरेका हुन्।

लगानीकर्तालाई छिटोछरितो, सहज र प्रभावकारी सेवा प्रदान गर्दै, ग्राहक सेवा विस्तार गरी अघि बढ्ने योजना रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जल कसजुले पुँजीबजार देशको अर्थतन्त्रको ऐना रहेको र जनतामा भएको पैसा पुँजीबजारमा आउँदा ठूला परियोजना निर्माणमा लगानी गर्ने वातावरण बन्ने अवस्था रहेको बताए।

नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजीबजारवाट आउने वातावरण बन्दै गरेको र लगानीको सुरक्षाका साथै व्यवस्थित र दिगो पुँजीबजारको निर्माणमा लाग्नुपर्ने बताए ।

नेपाल चेम्वर्स अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले नेपालको पुँजीबजार सकारात्मकतर्फ जाँदा लगानीको वातावरण बन्ने र पुँजी परिचालन हुने राम्रो पक्ष रहेको बताए ।

कार्यक्रममा त्रिशक्ति सेक्युरिटीजका संस्थापक अध्यक्ष टंकप्रसाद गौतम र प्रबन्ध निर्देशक गोविन्द प्रसाद दाहालले आर्थिक केन्द्रको रुपमा विकास भइरहेको बुटवल क्षेत्र मोफसलको पुँजीबजारको हव बन्नसक्ने सम्भावना देखेर बुटवलमा शाखा कार्यलय सञ्चालन गरेको र लगानीकर्तालाई पुँजीबजार सम्वन्धी उत्कृट सेवा दिने प्रतिवद्वता व्यक्त गरे ।

त्रिशक्ति सेक्युरिटिजले केन्द्रीय कार्यालय पुतलीसडक, शाखा कार्यालयहरु पोखरा, महेन्द्रनगर, हेटौंडा, ललितपुर, बनेपाबाट डिम्याट,टिएमएस्लगाएत शेयर कारोबार सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको संचालक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *