काठमाडौं । राष्ट्रिय सभाका सांसदले सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनुपर्नेमा एकमत भएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमाथीको दफाबार छलफलका क्रममा बिहीबारको बैठकमा समितिका सदस्य एवम संशोधनकर्ताले सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका हुन् ।
प्रतिनिधि सभाले भने सहसचिवमा खुला प्रतिस्पर्धा गर्न नहुने व्यवस्था सहित विधेयक पारित गरिसकेको छ । जसमा १५ प्रतिशत अन्तर तह र ८५ प्रतिशत बढुवाबाट सहसचिव पदपूर्ति हुनुपर्ने व्यवस्था छ । प्रस्तावित विधेयकमा भने १० प्रतिशत खुला, १० प्रतिशत अन्तरतह र ८० प्रतिशत बढुवाबाट सहसचिव पदपूर्ति गर्ने व्यवस्था थियो ।
सशोधनकर्ता सांसद डा।बेदुराम भुुसाल, जयन्तीदेवी राई, भुवनबहादुर सुनार, मृगेन्द्रकुमारसिंह यादव, पदम परियार लगायतका सांसदले सहसचिवमा १० प्रतिशत खुला राख्नुपर्नेमा बिहीबारको बैठकमा जोड दिएका छन् ।
समितिका सदस्य कृष्णबहादुर रोकाय, सांसद झक्कुप्रसाद सुवेदी, डा।बेदुराम भुसाल, आनन्दप्रसाद ढुंगाना लगायतले सहसचिवमा खुला गर्नुपर्नेमा जोड दिए । यद्यपी समितिका सभापति तुलसाकुमारी दाहालले भने शुक्रबार बस्ने बैठकमा निर्णय गर्नेगरी तयारी गरेर आउन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री तथा मन्त्रालयका सचिवलाई अनुरोध गरेकी छन् ।

Leave a Reply