उपनिर्वाचनमा मधेसी मोर्चाको साथ पाएको नाउपा दल दर्तामा अयोग्य भएसँगै रेशमलाई सहज

रुपन्देही । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले रुपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने भएका छन् ।

आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि नाउपा निर्वाचन आयोगमा दर्ता हुन नसकेपछि चौधरीले संयुक्त लोकतान्त्रिक मोर्चाको साथ लिएर स्वतन्त्र उम्मेदवारी दर्ताको तयारी गरेका हुन् ।

आन्तरिक विवादमा फसेको नाउपा उपनिर्वाचनका लागि दलका रूपमा मान्यता पाउन अयोग्य ठहर भएको आयोगले जनाएको छ । यस निर्वाचनमा भाग लिन २७ दलले निवेदन दिएकोमा २६ दललाई योग्य ठहर गरिएको छ ।

नाउपाले चाहिँ दर्ताका लागि आवश्यक विवरण पेश नगरेकाले अयोग्य घोषित भएको आयोगकी प्रवक्ता निता पोखरेलले बताइन् । उनका अनुसार नाउपाले केन्द्रीय समितिको निर्णयसहितका आवश्यक कागजात प्रस्तुत गरेको थिएन ।

नाउपाभित्रको आन्तरिक विवादले पनि दल दर्तामा समस्या निम्त्यायो । संरक्षक चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ गते निवेदन दिएका थिए भने अध्यक्ष रञ्जिता श्रेष्ठले अन्तिम दिन साउन २७ गते निवेदन दिएकी थिइन् । तर निर्वाचन आयोगले रेशम चौधरी पक्षले साउन १४ गते गरेको राष्ट्रिय भेला अवैध ठहर गर्दै त्यसबाट चयन भएका लालवीर चौधरी नेतृत्वलाई मान्यता दिन अस्वीकार गर्‍यो । सो भेलामा रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाइएको थियो । तर आयोगले संस्थापक सदस्य नभएको व्यक्तिले अध्यक्ष बन्न नसक्ने निर्णय गरेपछि दल दर्ताको निवेदन खारेज गरियो ।

त्यस्तै, रञ्जिता श्रेष्ठले पनि दल दर्ताका लागि निवेदन दिएकी थिइन् तर उनले पनि आवश्यक कागजात पेश नगरेकाले आयोगले मान्यता दिएन । आयोगका अनुसार उनले केन्द्रीय समितिको अनुमोदन र वार्षिक लेखापरीक्षण प्रतिवेदनसमेत पेश गरेकी थिइनन् । पार्टीको संस्थापक सदस्य २१ मध्ये १३ जना रेशम चौधरी पक्षमा रहेका कारण रञ्जितासँग पनि बहुमत छैन ।

समयमै आवश्यक कागजात प्रस्तुत गर्न नसक्दा दल दर्ता हुन नसकेपछि रेशम चौधरी पक्षले अब स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको हो । रञ्जिता पक्ष भने अन्योलमै छ । यसबीचमा नाउपाभित्रको किचलोले संघीय लोकतान्त्रिक मोर्चा पनि असमन्जसमा परे पनि रेशमकै उम्मेदवारलाई सघाउने संकेत दिएको छ ।

जसमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नाउपा, जनमत पार्टी, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी गरी सात दल थिए । तीमध्ये जनमत पार्टीले अलग उम्मेदवारी दिने जनाइसकेको छ भने बाँकी दलहरूले रेशम चौधरीले उठाएको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

मोर्चाका केही नेताहरूले मोर्चाले रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्नुपर्ने बताएका छन् । लोसपाका उपाध्यक्ष तथा रुपन्देही ४ बाट प्रतिनिधि सभा सदस्य बनेका सर्वेन्द्रनाथ शुक्लले नाउपाको आन्तरिक झगडामा नअलमलिने र त्यो पूर्वसमझदारी रेशम चौधरीसँगै भएकोले उनकै निर्णयअनुसार जाने नेपाल प्रेसलाई बताए । ‘नाउपा, त्यो पनि रेशम चौधरीले उठाएको उम्मेदवारलाई नै मोर्चाको समर्थन दिनुपर्ने हुन्छ, हामीले उहाँसँगै बसेर समझदारी गरेका हौ, थारू बाहुल्य क्षेत्र हो, हामीले उहाँसँग कमिटमेन्ट पहिले गरेका छौँ, दल दर्ता नभए पनि स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेर जान सकिने छ, उहाँले नै उम्मेदवार दिन नसके मात्रै विकल्प खोज्ने हो मोर्चाले ।’

रुपन्देही–३ को उपनिर्वाचनमा असोज २१ गते उम्मेदवारी दर्ता हुने तालिका छ । ०७९ मा यस क्षेत्रमा नेकपा एमालेको साथमा राप्रपाका दीपक बोहरा विजयी भएका थिए उनको मृत्यु भएपछि रिक्त पदमा कार्तिक २७ गते उपनिर्वाचन हुन लागेको हो । आयोगमा हालसम्म २६ दल दर्ता भइसकेका छन् ।

नाउपाको दल दर्ता नहुनुमा आफ्नो कमजोरी नभएको रेशम चौधरीले प्रष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत उनले यसको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने बताएका छन् । ‘निर्वाचन प्रयोजनको लागि दल दर्ता नहुनु मेरो कमजोरी होइन । म अध्यक्ष हो र ? केन्द्रीय समितिको बैठक बसाएर निर्णय बुझाएको भए हुन्थ्यो । न त बैठक बसाउने, न लेखापरीक्षण गराउने, न पार्टीलाई सञ्चालन गर्ने । अनि दोष सबै मेरो थाप्लोमा थुपार्ने रु अहिले पनि तुरुन्त केन्द्रीय समितिको बैठक बोलाए भइहाल्छ । बाँकी काम पनि सजिलै समाधान हुन्छ,’ उनले भनेका छन् ।

रुपन्देहीमा उम्मेदवारी दिनेसम्बन्धी कुनै भ्रम नरहेको चौधरीले बताएका छन् । ‘हाम्रो उम्मेदवार उठ्छ । म राजनीतिक व्यक्ति हुँ । यसै सातादेखि प्रचारप्रसारमा खटिन रुपन्देही आउँछु । समस्या चर्काउने होइन, समाधान गर्ने बाटो रोजौँ । पार्टी विभाजनका सहयोगीलाई दल र समूह दुवैबाट बहिष्कार गरौँ,’ उनले भनेका छन् ।

रुपन्देही ३ मा केही दिनअघि मोर्चामा रहेका सबै दलका शीर्ष नेताहरूलाई लिएर चौधरीले सभा आयोजना गरेका थिए । त्यो कार्यक्रममा उनले स्थानीय क्षेत्रमै रहेका चौधरीलाई नै उम्मेदवार बनाउने घोषणा गरेका थिए । चौधरीको यो घोषणाले नाउपामै रहेका मधेशी समुदाय भने केही झस्केका थिए जो उम्मेदवारका आकांक्षी थिए । नाउपाकै केन्द्रीय सदस्य तथा रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राकेश कोइरीले आफू पनि आकांक्षी भएकाले चौधरी नै उम्मेदवार हुने भन्ने घोषणा उचित नभएको जनाएका छन् ।

नाउपाले दल दर्ता नपाएपछि रास्वपालाई सघाउनसक्ने पनि आंकलन गरिएको थियो तर रेशमकै भनाइले त्यसलाई खण्डन गरेको छ । यसअघि ०७९ को निर्वाचनमा पनि रेशमले आफ्नो बुवा लालवीरलाई स्वतन्त्र रूपमै उम्मेदवारी दिलाएर जिताएका थिए । पार्टीभित्र अध्यक्ष रन्जितासँग कुरा नमिलेपछि दल दर्ताको प्रक्रियाअघि नै रेशमले आफ्नो पक्षको उम्मेदवार उठाउने तयारी गरेको विषय बाहिर आएको थियो । अहिले आयोगले नै अस्वीकृत गरेपछि उनले चाहेजस्तो भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *