दुर्गा प्रसाईं ‘राजा’सँग नाखुस, राजसंस्थाको एजेन्डा त्याग्ने संकेत

काठमाडौं । ‘दुर्गा प्रसाई अकबरे सुन हो । अकबरे सुन जहाँ लगेर घोट्दा पनि पहेलै आउँछ । तपाईंहरुको अगाडि अकबरे सुन छ । घोटेर पानी खानुस या कानमा लगाउनुस् । जे गरेर हुन्छ मलाई सदुपयोग गर्नुस्’, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो गुनगान गाउँदै आज एक पत्रकार सम्मेलनमा भने ।

जेलबाट छुटेपछि पहिलोपटक प्रसाईंले आफ्नै घरमा पत्रकार (युट्यूवर) हरु भेला गराएका थिए । उनको अभिव्यक्ति शैलीमा कुनै पनि परिवर्तन पाइएन । राजावादी दल राप्रपाविरुद्ध उनी खनिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनदेखि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सम्मलाई तथानाम गाली गरे ।

पूर्वराजा ज्ञानेन्द्रप्रति पनि असन्तुष्ट सुनिए प्रसाईँ । उनले अब राजसंस्थाको एजेन्डा त्यागिसकेको वा निकट भविष्यमा त्याग्न सक्ने स्पष्ट संकेत गरे । चैत १५ गतेको आन्दोलन राजावादीले भाँडेको उनको दावी थियो । आफू भने राजावादी नभएको प्रसाईंले बताए ।

‘म राजावादी होइन, राष्ट्रवादी हुँ,’ उनले दोहोर्याएर भने, ‘शरीरमा (राजाको) ट्याटु खोपेका राजावादीले चैत १५ को आन्दोलन बिगारेका हुन् । राजावादी, एमाले र माओवादीले मिलेर आन्दोलन भाँडे ।’

पूर्वराजासँग उनको अपेक्षा चाहिँ आफैं सडकमा नउत्रिएकोमा रहेछ ।

प्रसाईले भने, ‘रामचन्द्रले पनि सीता लिन जाँदा आफैं धनुकाँढ बोकेर जानुभएको हो । राजाको भूमिका कस्तो रहन्छ, त्यो उहाँको कुरा हो, मेरो कुरा होइन । राजा आइदिनुभयो भने उत्तम हो । आइदिनु भएन भने पनि उत्तमै मानेर जानुपर्छ ।’

परम्परागत राजावादीहरु ‘सरकार’ सम्वोधन गर्ने गरेको पूर्वराजा ज्ञानेन्द्रलाई प्रसाईंले ‘तपाईं’ र ‘उहाँ’ भनेर सम्वोधन गरेका थिए ।

प्रसाईंले नयाँ पार्टीको घोषणा पनि गरेका छन् । उनले आफ्नो पार्टी राजावादी नभएर राष्ट्रवादी हुने बताए ।

प्रसाईंको अभिव्यक्तिका केही अंश:

मलाई राजनीतिमा जबरजस्ति ल्याइएको हो । म राजनीति गर्ने मान्छे होइन । तर, दलहरुले देश बिगारेपछि म अघि सर्नै पर्ने भयो । पार्टी खोल्नै पर्ने भयो ।

रामचन्द्रले पनि सीता लिन जाँदा आफैं धनुकाँढ बोकेर जानुभएको हो । राजाको भूमिका कस्तो रहँछ उहाँको कुरा हो, मेरो कुरा होइन । म एजेन्डामा जान्छु । राजा आइदिनुभयो भने उत्तम हो । आइदिनुभएन भने पनि उत्तमै मानेर जानुपर्छ । म जनतामा जाने आन्दोलन गर्छु । यही तरिकाले जेलै बस्नुपर्ने, लडेको लड्यै जिन्दगी जाने भएपछि दल खोलेर आउनुपरेको हो ।

मैले राजालाई भेट्दा पनि भनेको हो । सरकार, हिजो तपाईंलाई फ्याक्न सैनिक हिरासत बसेँ । अब तपाईंलाई ल्याउन पनि तयारै हो । यसको मतलब मैले राजा छोडेको वा राजा समातेको भन्ने होइन । राजा र देउता आफ्नो ठाउँमा छन् । भरतले खराउ राखेर देश चलाएको इतिहास छ नि त, हो कि होइन ?

म थाकेको छैन कुरा बुझ्नुभएन ? फेरि पनि व्यवस्थाविरोधि आन्दोलन हुन्छ । यही व्यवस्थामा बसेर आन्दोलन हुन्छ । घरमै बसेर पनि छोराहरुले बाउसँग विद्रो हगरेका छन् नि ।

राप्रपा र ममा धेरै फरक छ । राप्रपाले जनतासम्म गएर के गर्यो ? मेरो त राजनीतिक भन्दा पनि आर्थिक मुद्दा हो । म हिजो पनि राजावादी होइन । भोलि पनि होइन ।

यो जम्मै १५ गतेको आन्दोलन कसले बिगारेको तपाईंंलाई थाहा छ ? राजावादीहरुले हो । बुझ्नुभो ? राजावादी एमाले र माओवादीले मिलेर बिगारेको हो । म त राष्ट्रवादी हो । राष्ट्र र नागरिकको माया गर्ने मान्छे हो । राजा पनि राजावादी होइन, राष्ट्रवादी हो ।

तपाईंंलाई म के भन्छु भने, ०७९ साल फागुन १ गतेभन्दा उता त चुनाव आएपछि धामीले ढ्याङ्ग्रो निकालेजस्तो राजा र धर्मलाई प्रयोग गरेका हुन् । मैले ७०९ साल फागुन १ देखि चैत १५ सम्म आउँदा सर्वहारादेखि महलसम्म राजाको चर्चा बनाइदिएको थिएँ । हो कि होइन ? राजावादीहरूले यो गरेका होइनन् ।

तीनकुने आन्दोलनमा राजाको ट्याटु खोपेका मानिसहरु थिए । उनीहरुले तीन सय मिटर पर रहेका पुलिसका अगाडि गएर पहिल्यै गएर लडाईं गरे । किन गर्नु लडाईं । आन्दोलनै बिगारेको राजावादीले हो र राप्रपाले हो । आन्दोलन सिध्याउन खोजेको राजावादी र राप्रपाले हो । म राजावादी पनि होइन, राप्रपा पनि होइन । कुरा बुझ्नुभो के ? यो ओपन भन्देको छु ।

अर्को कुरा, संयुक्त आन्दोलन समिति भन्ने थियो राजसंस्था पुनस्र्थापना गर्न खुलेको । म १२ बजेर ३१ मिनेटमा तीनकुने पुगेँ, धवलशमशेर र रविन्द्र मिश्र ११ बजे नै गएर मञ्चमा आसन ग्रहण गरिसकेका थिए । खुस्बु ओलीहरु भाषण गरिरहेका थिए ।

म पुगेकै छैन, स्टेज कुरुक्षेत्र भइसकेको थियो । आन्दोलन भड्काउने उहाँहरु हो । लास्टमा ‘हामी त पाहुना गएको, सबै दुर्गा प्रर्सांले गरेका हुन्’ भनेर पोल लगाउने मान्छेसँग मिलेर राजनीति हुन्छ ? मान्छे मर्दैन ? थुनिँदाखेरि मैले धवलशमशेर, रवीन्द्र मिश्र, राजेन्द्र लिङ्देन सबैको लुर हेरेको छु ।

 

Comments

One response to “दुर्गा प्रसाईं ‘राजा’सँग नाखुस, राजसंस्थाको एजेन्डा त्याग्ने संकेत”

  1. हलुवाकाका Avatar
    हलुवाकाका

    पूर्वराजा ज्ञानेन्द्रप्रति पनि असन्तुष्ट सुनिए मिश्र । उनले अब राजसंस्थाको एजेन्डा त्यागिसकेको वा निकट भविष्यमा त्याग्न सक्ने स्पष्ट संकेत गरे । #एकपटक पढी हेर त ! मिश्र कसरी आयो ? हावा

Leave a Reply

Your email address will not be published. Required fields are marked *