क्यानलाई कारबाही गर्न तम्सियो विज्ञापन बोर्ड, ब्रान्ड लजिक र टिसीएमलाई १०-१० हजार जरिवाना !

काठमाडौं । विज्ञापन क्षेत्रको नियामक निकाय विज्ञापन बोर्ड क्रिकेट क्षेत्रको नियामक निकाय नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध उत्रिएको छ ।

विज्ञापन बोर्डले क्यानलाई भविष्यमा विज्ञापन गर्न/गराउनबाट रोक्ने भन्दै सूचना निकालेपछि क्यानका पदाधिकारीहरु रुष्ट बनेका छन् ।

विज्ञापन बोर्डले हिजो सूचना प्रकाशित गरी क्यानमाथि यस्तो चेतावनी दिएको हो । क्यानले बोर्डका विभिन्न मितिको पत्रको जवाफ पेश नगरेको तथा साउन २६ गतेको पत्रमा पेश गरेको जवाफ चित्त बुझ्दो नरहेको बोर्डको आरोप छ । बोर्डको गत साउन २१ र २९ गते वैठकबाट कारवाहीको निर्णय भएको सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘ नेपाल क्रिकेट संघले बोर्डका विभिन्न मितिका पत्रको जवाफ पेश नगरेको र च.नं. २९ मिति २०८२÷०४÷२६ गतेको पत्रमा कार्यव्यस्तताको कारण पत्रहरुको जवाफ पेश गर्न नसकिएको भन्दै पेश गरेको जवाफ चित्त बुझ्दो नभएकोले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ ट तथा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को दफा ११ख (१) बमोजिम बोर्डको निर्देशनलाई बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्न गराउनबाट रोक्का राख्ने, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ एवं अन्य प्रचलित ऐन तथा नियम विपरीत विज्ञापन नगर्न सचेत गराइएको छ ।’

एनपीएलमा क्यानसँग सहकार्य गरेका ब्राण्ड डिजिटल लजिक र टिसीएम एपोटर्स एन्ड मार्केटिङ प्रालीमाथि कारवाहीको निर्णय भएको बोर्डले जनाएको छ । ब्रान्ड लजिकले क्यानसँग एनपीएलको कमर्सियल राइट्स खरिद गरेको थियो भने टीसीएमलाई क्यानले एनपीएलको आधिकारिक एभेन्ट स्ट्रेटेजी तथा मार्केटिङ कन्सल्टेन्टको रुपमा नियुक्त गरेको थियो ।

बोर्डले ब्राण्ड लजिक र टिसिएम विज्ञापन कानूनबमोजिम बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न रहेको तथा कानून विपरितका विज्ञापन प्रदर्शन गरेकोले बोर्डको आरोप छ ।

‘दुवै एजेन्सीलाई दश÷दश हजार रुपैया जरिवाना गर्ने, ३ (तीन) महिनासम्म विज्ञापन वा सुचना दिन वा लिन वा विज्ञापन वा सुचना प्रकाशन वा प्रसारणसम्बन्धी कार्य गर्न रोक लगाउने र उक्त अवधिसम्म उक्त एजेन्सीलाई बोर्डमा सुचीकरण समेत नगर्ने निर्णय गरेको छ,’ बोर्डको सूचनामा भनिएको छ ।

२०८२/०७/२० गतेसम्म ब्राण्ड डिजिटल र टिसिएम स्पोर्टससँग कुनै पनि प्रकारको विज्ञापन कारोवार नगर्न नगराउन बोर्डले विज्ञापनदाता तथा सञ्चारमाध्यमलाई भनेको छ । बोर्डको सूचनामा प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले हस्ताक्षर गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *