शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाउन माग

धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन माग गरिएको छ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापनपत्र बुझाउँदै पदाधिकारी नियुक्ति र विश्वविद्यालय सभाको गठनमा पहल गर्न आग्रह गरेको हो।

संघर्ष समितिका अनुसार विश्वविद्यालय विधेयक सर्वसम्मत रूपमा पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण र राजपत्रमा प्रकाशन भइसकेको छ। तर, ऐन कार्यान्वयनमा आइसके पनि हालसम्म विश्वविद्यालय सभाको गठन तथा पदाधिकारी नियुक्ति प्रक्रिया अघि नबढेको समितिको आरोप छ।

समितिले यसै आर्थिक वर्षभित्रै चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययनका लागि सिट संख्या निर्धारण गर्ने प्रक्रिया सुरु गर्न र ६०० शैयाको अस्पताल निर्माणका लागि बनेको संरचनामा प्रारम्भिक रूपमा ३०० शैयाको अस्पताल सञ्चालन गर्ने तयारी अघि बढाउन विशेष पहल गर्न पनि मुख्यमन्त्रीलाई आग्रह गरेको छ।

ज्ञापनपत्रमा भनिएको छ, “विश्वविद्यालय ऐन राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आइसकेको अवस्थामा हालसम्म विश्वविद्यालय सभाको गठन तथा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन। कुलपति सम्माननीय प्रधानमन्त्री, सह–कुलपति शिक्षामन्त्री तथा अन्य पदेन सदस्यहरू रहने व्यवस्था भएको यस विश्वविद्यालय सभामा माननीय मुख्यमन्त्री स्वयं पनि पदेन सदस्य रहने भएकाले उहाँको विशेष ध्यानाकर्षण गराउन चाहन्छौं।”

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहले प्रक्रिया अघि बढाउन जटिलता देखिएको भए पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन्।केहिदिन पहिले प्रधानमन्त्री पुर्व प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र स्वस्थ्य मन्त्रीलाई भेटेर छलफल गरेको भन्दै अझै ध्यानाकर्षण गराउने मुख्यमन्त्रीले बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *