काठमाडौं । चलचित्र खेले पनि, नखेले पनि अभिनेता अनमोल केसी प्रायजसो चर्चामै रहिरहन्छन् । वर्षमा एउटा मात्रै चलचित्र खेल्ने भएकाले उनको चलचित्र पनि प्रतिक्षित हुन्छ । अभिनेता भुवन केसीको छोरा हुनुको नाताले उनको पारिवारिक लिगेसीका कारण पनि चर्चामा रहन्छन् ।
सँगसँगै अनमोलको अभिनय कमजोर रहेको चर्चा बेलाबखत सुनिन्छ । अभिनयमा निखारता नभएको भनेर अनमोलको आलोचना पनि हुने गरेको छ । तर, अर्का अभिनेता विजय बराल भने अनमोलको अभिनय झुर नै चाहिँ नभएको बताउँछन् ।
नेपालप्रेससँगको कुराकानीमा उनले भने, ‘क्युट मान्छे हो उहाँ । अनमोलले वर्षमा एउटा त काम गर्ने हो । यही कारण उहाँको चलचित्रको प्रतीक्षा हुन्छ दर्शकलाई । उहाँले के गर्नुपर्थ्यो जस्तो लाग्छ भने जति सरल हुनुहुन्छ नि, अभिनयमा पनि त्यही किसिमको सरलता दिने कोसिस गर्नुभयो भने गजब हुन्छ । मलाई के लाग्छ भने उहाँबाट धेरै कुरा निकाल्न सकिन्छ ।’
अनमोललाई विजयको सुझाव पनि छ । अनमोलले आफ्नो एउटा भित्री कोर टिम राखेर रणनीतिक हिसाबले अभिनयको तयारी गर्दाखेरि राम्रो हुने विजयको सुझाव छ । त्यो टिमबारे कसैलाई देखाउन परेन, तर उक्त टिमका कारण पोजिटिभिटी पैदा हुनसक्ने विजयको आँकलन छ ।
‘अरुले अभिनयमाथि प्रश्न गर्छन् । तर, उहाँको अभिनय त्यस्तो झुर होइन, त्यसलाई बनाउने ठाउँ चाहिँ प्रशस्त छन्,’ विजयले थपे, ‘कलाकार कहिल्यै झुर हुँदैनन् । कलाकारले अभिनय गर्न नसक्ने भन्ने हुँदै हुँदैन । बरु त्यसलाई अझैं माझ्न सकिन्छ, बनाउन सकिन्छ ।’
विजयको ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरु’ यही भदौ ६ गतेबाट प्रदर्शन हुँदैछ भने अनमोलको ‘जेरी अन टप’ यही असोज ३१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Leave a Reply