ठगी र ‘सेटिङ’ नियन्त्रणमा अध्यागमनको कडाइ-एयरलाइन्सदेखि ट्राभल्ससम्मलाई यस्तो अनुरोध

काठमाडौं । अध्यागमन विभागले वैदेशिक यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन भन्दै ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनीदेखि एयरलाइन्ससम्मलाई लक्षित गरी सार्वजनिक अनुरोध गरेको छ ।

विभागले आज एक सार्वजनिक अनुरोध जारी गर्दै विमानस्थलमा हुने ‘सेटिङ’, नक्कली कागजातको प्रयोग र भिजिट भिसाको दुरूपयोग रोक्न कडा कदम चाल्ने संकेत दिएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश प्रस्थान गर्ने र नेपाल प्रवेश गर्ने यात्रुहरुलाई प्रदान गरिने सेवालाई थप सरल र सहज बनाउन सहयोग गर्न विभागले यात्रुसहित ७ संस्थाहरुलाई अनुरोध गरेको छ ।

विभागले अबदेखि पर्यटक भिसामा विदेश जान चाहने नेपाली नागरिकप्रति  हैसियतको आधारमा विभेदपूर्ण व्यवहार नगर्ने बताएको छ। कानुन बमोजिम अनुसन्धान गर्नुपर्ने स्थिति बाहेक अन्यथा रोकथाम वा दुर्व्यवहार नगर्न निर्देशन दिइएको छ।

विभागले ट्राभल्स, कन्सल्टेन्सी र म्यानपावर कम्पनीहरूलाई सचेत गराएको छ । पर्यटकीय भिसामा विदेश पठाउने प्रलोभन देखाउने, नक्कली कागजात बनाइदिने र दोहोरो टिकट काटेर यात्रुलाई अलपत्र पार्ने जस्ता कार्यमा संलग्न कम्पनीलाई तत्काल अनुसन्धान गरी कानूनी कारबाही गर्ने चेतावनी दिइएको छ । विभागले त्यस्ता गैरकानूनी काम गर्ने कम्पनी र सञ्चालकको नाम सार्वजनिक गर्ने पनि बताएको छ ।

त्यस्तै, विमान कम्पनीहरूलाई पनि जिम्मेवार बन्न आग्रह गरिएको छ । ‘ओभरबुकिङ’ को नाममा यात्रुलाई हैरानी दिने र बोर्डिङ पास जारी गरेपछि पनि विभिन्न बहानामा उडानबाट वञ्चित गराउने प्रवृत्ति बढेको भन्दै त्यसो नगर्न सचेत गराइएको छ । कुनै यात्रुलाई ‘अफलोड’ गर्नुपरेमा त्यसको स्पष्ट र लिखित कारण दिनुपर्ने निर्देशनमा उल्लेख छ ।

सूचनामा भनिएको छ,‘सबै यात्रुहरुलाई विमानको प्रस्थान समयभन्दा कम्तीमा १ घण्टा अगावै अध्यागमनको स्टेरेलाइज्ड एरियामा अनिवार्य रूपमा पठाउन सबै वायुसेवा कम्पनीहरूलाई अनुरोध गरिन्छ। यसका लागि चेक-इन काउन्टर समयमै बन्द गर्ने व्यवस्था मिलाई अध्यागमन क्षेत्र र प्रक्रियामा अनावश्यक दबाब तथा असहज अवस्था नहुने गरी व्यवस्थापन गर्नुहुन अनुरोध गरिन्छ ।’

कतिपय वायुसेवा कम्पनीहरुले अत्यधिक ओभरबुकिङ गर्ने, बोर्डिङ पास जारी गर्दा समेत नागरिकको हैसियतका आधारमा व्यवहार गर्ने भन्ने सूचना प्राप्त भएकाले त्यस्ता प्रकारका गतिविधिमा संलग्न नहुनरनगराउन सबै वायुसेवा कम्पनीहरुले हवाई टिकट बुकिङ्ग गर्दा सिट क्षमता भन्दा बढी टिकट बुकिङ्ग नगर्न र यस विषयमा सम्बन्धित वायुसेवा कम्पनीका कर्मचारीहरुलाई सुसूचित तथा प्रशिक्षित गर्नुरगराउन विभागले समेत अनुरोध गरेको छ ।

विभागले सर्वसाधारण नागरिकहरूलाई पनि दलाल र बिचौलियाको प्रलोभनमा नपर्न, आधिकारिक माध्यमबाट मात्रै भिसा प्रक्रिया अगाडि बढाउन र शंकास्पद लागेमा विभाग वा प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ ।

साथै, यात्रामा जानुअघि ‘नागरिक एप’मार्फत आफ्ना कागजात अपलोड गरी पूर्व-स्वीकृति लिने व्यवस्थाको फाइदा लिन पनि विभागले आग्रह गरेको छ। भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलता अपनाउँदै सुरक्षित आप्रवासनका लागि सबै पक्षको सहयोगको अपेक्षा गरिएको विभागले जनाएको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *