चितवन । सडक सञ्जाल विस्तारसँगै भरतपुरको स्वरूप फेरिएको छ । सडक सञ्जालले सबै ठाउँ जोडेकोले १ देखि २९ वडा पुग्न ३० मिनेट छुट्टाए पुग्ने भरतपुर महानगरपालिकाले जनाएको छ ।
भरतपुर महानगरपालिकामा ८ वर्षको अवधिमा १ हजार ६५ किमि सडक कालोपत्रे भएको छ । यी सडकहरू ६ मिटरदेखि १६ मिटर चौडाइसम्मका छन् । यसबाहेक सङ्घ र प्रदेश सरकारमार्फत करिब २०० किमि सडक थप बनेका छन् ।
मेयर रेनु दाहालको नेतृत्वमा पहिलो कार्यकालमा ६२२ र दोस्रो कार्यकालका ३ वर्षमा थप ४४२ किमि सडक कालोपत्रे भएको महानगरले जनाएको छ ।
‘विकासको पहिलो आधार सडक नै हो । कतिपयले कालोपत्रे गरेर विकास होइन भनेको सुनिन्छ । सडकले नै अन्य विकासलाई जोड्छ । समयको बचत हुन्छ । ट्रान्सपोर्टेसनमा लाग्ने लागत घटेर जान्छ । सबै क्षेत्रलाई सहज बनाउँछ’, मेयर दाहाल भन्छिन् ।
महानगरले अहिले सडकलाई हरियालीसहित सौन्दर्यकरण गर्ने नीति लिएको छ । निर्माण भएका सडकको दाँया-बाँया वृक्षरोपण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्म, बाइपास सडक, हुलाकी सडक, प्रचण्ड पथ र चक्रपथ निर्माणका लागि सङ्घीय सरकारसँग पहलमा निर्माण भइसकेको छ ।
महानगरभित्र मङ्गलपुर-शिवनगर, पार्वतीपुर-शुक्रनगर हुँदै तेलौलीसम्म २१ किलोमिटर प्रचण्ड पथ संघीय सरकारको बजेटमा निर्माण भएको छ । महानगरको चक्रपथ ८८ किलोमिटर छ ।
हाल महानगरभित्रका मुख्य सडकको ८० किलोमिटर क्षेत्रमा स्मार्ट सडकबत्ती जडान गरिसकेको छ । बाँकी १५० किलोमिटर सडक क्षेत्रमा स्मार्ट लाइट जडानको कार्य अन्तिम चरणमा छ ।

Leave a Reply