पर्सा, वीरगंज महानगरपालिका–२५ खाल्वा टोलका ३५ वर्षीय राहुल साह तुराहाको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारक्रममा मृत्यु भयो । उनी २०७९ देखि कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका थिए ।
२०८२ साउन २३ गते कैलाली कारागारमा राति ११ बजे भएको झडपमा कैलाली, धनगढी–४ का भरत चौधरीको मृत्यु, ४८ जना घाइते, एक जनाको काठमाडौँ ल्याएर उपचार जारी छ ।
त्यस्तै, २०६९ कात्तिक २३ गते सुनसरीको झुम्का कारागारमा सुरुङ खनेर १२ कैदी फरार भए । एक जना २०८१ कात्तिक २४ गते पक्राउ परे । अरु सबै अहिलेसम्म फरार छन् ।
२०६८ मंसिर १४ गते मकवानपुरको भीमफेदी कारागारमा कैदी तथा थुनुवाको समूहबीच झडप भयो । माथि सेन्ट्रीमा बसेका प्रहरी हवाई फायर गर्न थाले । भएका अश्रुग्यास छाड्न थाले । दिउँसै कारागारभित्र के भयो भनेर भीमफेदीबासी पनि चिन्तामा परे ।
र, सुरक्षा घेराभित्र भएको झडपलाई स्थितिमा ल्याउन प्रहरीलाई सकस भयो भने कैदी तथा थुनुवा आपसी छिनाझप्टीमा परेर घाइते बने । आक्रमणकारीको निशानामा परेर कारागारका त्यतिखेरका मूल नाइके तथा नाइकेहरु श्लोक लामा, आनन्द स्याङ्तान, विजय अधिकारी, राजु घलान, गंगालाल थिङ, सुरेश परियार, दिनेश लोप्चन, सम्शेद अन्सारी र शैलेन्द्र अधिकारी घाइते भए । उनीहरुलाई हेटौँडा र भरतपुरमा उपचारपछि हेटौँडा ल्याइए पनि कारागार पठाउन सकिएन । उनीहरुलाई त्यहाँ लैजाने आँट प्रहरी प्रशासनले गर्न सकेको थिएन ।
कारागार व्यवस्थापनसँग प्रहरी नायव निरीक्षकको कमाण्डमा रहेको ३५ प्रहरीले २ सय ९० थुनुवा र कैदीलाई नियन्त्रणमा लिने कुरा बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने कथनजस्तै थियो । त्यसमाथि पछिल्लोपटक जेलमा नेपालका विभिन्न १८ वटा जेलमा उदण्डता मच्चाएका र ठूलाठूला अपहरण र अन्य अपराधमा फसेका डनलाई कारागार सार गरेर भीमफेदी ल्याइएको थियो ।
यसरी ल्याइएकामा कारागारमा विभिन्न जेलमा उदन्ड मच्चाउने र डन बन्न खोज्ने त्यतिखेरका जीवन रायमाझी, सगुन श्रेष्ठ, टासी लामा, टेन्सन भनिने डेनी लामा, साढे भनिने कैलाश ठकुरीलगायतका १३ जना थिए । नख्खु कारागारबाट सारिएका जीवन रायमाझी बाराका थिए । भक्तपुरका सगुन श्रेष्ठ भरतपुरबाट भीमफेदी ल्याइएका थिए ।
दरबारमार्गमा खैरो हिरोइन र २० लाख रुपैयाँसहित पक्राउ परेका टासी लामा, अनगिन्ती मुद्धामामिलामा जोडिएका टेन्सन भनिने डेनी लामा र नुवाकोटका साढे भनिने कैलाश ठकुरी पनि सगुनसँगै थिए । कारागारमा नयाँ शक्तिका रुपमा यो समूह उदाउन खोज्दा कारागारमा अहिलेसम्म मूल नाइके तथा नाइके बनेर बसेका युवाले ज्यान गुमाउने स्थिति बनेको थियो मंसिर १४ गते । मंसिर १६ गते यो समूहको तनाव झेल्न नसकेर निमित्त कारागार प्रमुख पुरुषोत्तम हुमागाइँ, सहायक लेखापाल शंकर ओझा र कार्यालय सहयोगीहरु पूर्णमान घिसिङ र चुडामणि बर्तौलाले काम छाडेर जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हाजिरी गर्ने घोषणा गरेका थिए ।
२०६७ फागुन २६ गते कोठामाडौँस्थित केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका युनुस अन्सारीमाथि भारतीय सुटर मनमित सिंह भनिने मनमित भाटियाले गोली हानेर हत्या प्रयास गरेका थिए ।
कारागारलाई सुधारगृहका रुपमा प्रस्तुत गर्ने सरकारी योजना अहिलेका होइन, त्यतिखेरै भनिएको थियो, जतिखेर यी घटना भइसकेका थिए । तर नेपालको जेल चोरलाई चौतारो, साधुलाई सुली बन्न थालेको उहिलेदेखि नै हो । काठमाडौँ मात्र होइन, देशका विभिन्न भागमा रहेका कारागारभित्र पनि हत्याको प्रयाससम्म हुने गरेका छन् ।
बाहिर सके बाहिर नै नसके कारागारभित्र पनि रक्तमुछेल खेल सुरु भएका छन् । साउन २३ गते कैलाली कारागारमा भएको झडपमा एक जनाको ज्यान गएको छ । काठमाडौं ल्याएर झडपका घाइतेको उपचार गर्नु परेको छ ।
भीमफेदी जेलको त्यो १४ वर्षअघिको जे कथनी थियो, अहिलेका कारागारभिको झडपमा त्यो भन्दा नयाँ कुरा केही पनि थपिएको छैन । पुरानै विषयवस्तुमा थप झडपका अंकहरु मात्र थपिएका हुन् । भीमफेदी जेलको त्यतिखेरको भित्री कुरा थियोः जेलको मूलनाइके तथा नाइके बनेर सुविधा लिन सगुन श्रेष्ठ, टासी लामा, टेन्सन भनिने डेनी लामा र साढे भनिने कैलाश ठकुरीको समूह नयाँ शक्ति बनेर उदाइरहेको थियो ।
उनीहरुले कारागारमा रहेका २ सय ९० मध्ये अधिकांशलाई आफ्नो काबुमा पारिसकेको थियो । तर कारागार व्यवस्थापन विभाग काठमाडौँ कुनै पनि हालतमा यो समूहलाई त्यो सुविधा दिन तयार थिएन । त्यसको रिस उनीहरुले पोखे मकवानपुर जिल्ला कारागारको रुपमा रहेदेखिका मकवानपुरे मूलनाइके तथा नाइकेलाई ।
मूल नाइके बनेर कारागार बाहिरसम्म आउने र थप अपराध गर्न सक्ने सम्भावनाको ढोका बन्द भएपछि कारागारभित्रै मूलनाइकेहरुलाई प्रहार गर्नु उनीहरुका लागि सहज थियो कि कारागार मध्यमाञ्चलस्तरको क्षेत्रीय भनिए पनि अन्ततः महिलाका लागि बनाइएको वार्डका १४ वटा कोठामा उनीहरु थिए ।
१४ वर्षअघि नै जिल्ला कारागारको दरबन्दीमा नायव सुब्बास्तरको जेलर, १ जना खरिदार, एकजना अहेव, एकजना सहायक लेखापाल र दुईजना कार्यालय सहयोगी तथा प्रहरी नायव निरीक्षकको कमान्डमा ४५ जना जनपथ प्रहरी हुनुपर्ने थियो । राज्यले दरबन्दीअनुसार कर्मचारी खटाउन नसक्ने तर जेलमा चैँ १८ कारागारमा उदन्ड मच्चाएर ठाउँसरी आएकाहरुको हालिमुहाली हुनु नै थियो ।
सरकारले कारागारलाई सुधारगृह त भनेको छ तर यसको अवस्था अरु खराब हुँदै गएको देखिन्छ ।
२०६८ भदौ २४ गते सर्लाही कारागारमा कैदी तथा थुनुवाबीचको झडपमा घाइते नवीन लामाको लामो समयसम्म होस आएन । सर्लाही कारागारमा बन्दीको एउटा समूहले एकतर्फी आक्रमण गर्दा मकवानपुर, मनहरीका लामाको टाउकोमा गम्भीर चोट लाग्यो । एकदिन खाना नमिठो भयो भनेको बाहेक नवीन लामाको सर्लाही कारागारमा कुनै अपराध नभएको आफन्तहरु बताउँथे ।
गाँजा मुद्दामा सर्लाही कारागारमा पुगेका मकवानपुरका ६ युवा आक्रमणको निशानामा परे र नवीन लामा जीवनमरणको दोसाँधमा लामो समय छट्पटाए । भदौ २९ गते नवीनका आफन्तले दोषीमाथि कारबाही माग गर्दै मकवानपुरको मनहरीमा ११ घण्टा चक्काजाम गरे र मकवानपुर प्रहरी प्रशासनले ६ बुँदे सहमति गर्यो ।
तर नवीनको उपचारमा सुधार आएन र दोषीमाथि कारबाही पनि भएन । त्यतिखेर कतिसम्म भएको थियो भने सरकारले आफन्त लगेर थप उपचार गर्न पनि दिएन र ध्यान दिएर उपचार पनि गरेन । त्यतिखेर नवीनको उपचार र दोषीमाथि कारबाही माग गर्दै मकवानपुर, मनहरीका राजनीतिक दलहरु त्यतिखेरका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विजयकुमार गच्छदारको ढोकासम्म पुगेका थिए । नेपालका कारागारहरु विस्तारै संरक्षित अपराध उद्योगका रुपमा यसरी विकसित भइरहेको अहिले होइन । यो क्रम अहिले देशका विभिन्न कारागारमा वृद्धि हुँदै गएको छ ।
वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत कैदीको साउन २७ गते मृत्यु भयो । पर्सा, वीरगंज महानगरपालिका–२५ खाल्वा टोलका ३५ वर्षीय राहुल साह तुराहा २०७९ देखि कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका थिए । मृत्युपछि उनका आफन्त र स्थानीयले अस्पताल र कारागार प्रशासनमाथि गम्भीर लापरबाहीको आरोप लगाउँदै अस्पतालअगाडि प्रदर्शन गरे ।
प्रदर्शनमा टायर बालिएपछि केही समय तनावपूर्ण अवस्था बन्यो । कारागार प्रशासनका अनुसार, मङ्गलबार बिहान व्यायाम गर्ने क्रममा राहुलको स्वास्थ्य अचानक बिग्रियो । तत्कालै उनलाई नारायणी अस्पताल ल्याइयो । अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा रेफर गर्ने निर्णय गर्यो ।
तर, मृतकका आफन्तले रेफर प्रक्रियामा अनावश्यक ढिलाइ भएको दाबी गरे । उनीहरूले जेल प्रशासनले समयमै अन्य अस्पताल लैजान अनुमति नदिएका कारण उपचारमा ढिलाइ हुँदा उनको मृत्यु भएको आरोप लगाए । जेल प्रशासनले लामो समयसम्म आनाकानी गर्दा, एम्बुलेन्समा राख्न लाग्दा प्रहरीले रोकेर फेरि अस्पतालमै राख्दा उनको मृत्यु भयो ।
यसअघि पनि पर्सा कारागारमा स्वास्थ्य समस्या भएका कैदीको उपचार अभावमा मृत्यु हुने घटना भइसकेकाले यो नयाँ विषय नयाँ थिए । घटनाको सत्यतथ्य छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा समिति बनेको छ ।
यता, सुनसरीको झुम्का कारागारमा १८ फिट अग्लो पर्खाल नाघेर बुधबार बिहान सामूहिक बलात्कार मुद्दामा सजाय भोगिरहेका खोटाङ, दिप्रुङ चुइचुम्मा–२ का २८ वर्षीय रूपक पौडेल खत्री फरार भए । बुधबार बिहान करिब २ बजे कारागारको बी ब्लकबाट १८ फिट अग्लो पर्खाल नाघेर फरार भएका हुन् । जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते खत्रीलाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो ।
उनी चैँ २०८१ साउन २१ गतेबाटै पुर्पक्षमा थिए । उनी शनिबार बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । पौडेललाई बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
एक हजार ६ सय कैदीबन्दी क्षमताको झुम्का कारागारमा एक हजार ७ सय ९५ आश्रित छन् । खत्री फरार भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ ।
अहिलेसम्मको विवरणमा कैलाली कारागारको झडपले कारागारभित्रको अरु डरलाग्दो रुप सहमा ल्याएको छ । झापा, मोरङ, सुनसरी, सिरहा, संखुवासभा, खोटाङ, मकवानपुर, चितवन, काठमाडौं, कास्की, बर्दिया। सर्लाही कारागारमा यसअघि यस्ता हिंस्रक झडप भइसकेका छन् । यसैले नेपालको कारागार सुरक्षा गृहप्रशासनको पहिलो चुनौतीको विषय बनेको छ ।
भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि कारागार सरुवाको माग गरेका छन् । के छ त्यहाँ उनलाई अस्वाभाविक र सरुवाको माग गरे ? यो गृहप्रशासनले खुट्याउनु पर्ने विषय छ ।
राजनीतिक मुद्दाका बन्दीलाई पनि कारागार सर्नु पर्ने अवस्था ‘स्टन्ट’ मात्रै हो या जेलभित्र मौलाइरहेको दादाहरुको शासन र प्रशासनको मौन स्वीकृतिले काम गरेको छ ? कैदीबन्दीको मृत्यु हुने अवस्था कारागारमा हुनु विद्रोहको चरम रुप हो । यसले राज्यलाई चनाखो बन्न बेलैमा संकेत गरेको छ ।
बुधबारको प्रतिनिधिसभाअन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिले साउन २३ गते कैलाली कारागार परिसरभित्रको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
बैठकले घटनामा पीडितलाई नियमानुसार क्षतिपूर्ति, आवश्यक प्रबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।
देशका विभिन्न जिल्लाका कारागारमा समयसमयमा हुने गरेका यस्ता झडप तथा कुटपिटका घटना दोहोरिन नदिन कारागार प्रशासनलाई थप जिम्मेवार बनाउन र कैदीबन्दीमध्येबाट नेतृत्व छनोट गरी कारागारभित्रको आन्तरिक व्यवस्थापनको जिम्मेवारी दिने प्रावधान पुनरावलोकन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।
अपराधको प्रकृति, बन्दीको संख्या र स्वभावअनुसार फरकफरक ब्लक वा कारागारमा राख्न, कैदीबन्दीलाई श्रम र उत्पादनसँग जोड्नेलगायत विषयसहितको आवश्यक रणनीति तय गरी प्रभावकारी कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको छ ।
नीतिगत, कानूनी तथा संरचनागत प्रबन्धमा समयसामयिक सुधार जरुरी देखिएको छ । कारागारभित्र आवश्यक भौतिक संरचना निर्माण र प्रत्येक प्रदेशमा कम्तीमा एउटा नमूना कारागार निर्माण, क्षमताभन्दा बढी कैदीबन्दी राख्न नपर्ने अवस्था सुनिश्चितता आवश्यक देखिएको छ । कारागारको सुरक्षा व्यवस्था प्रविधिमैत्री, सक्षम तथा सबल र देशैभरका कारागारलाई मानव अधिकारमैत्री बनाउँदै सुधारगृहका रूपमा विकास गर्ने पुरानै योजना कार्यान्वयमा अकर्मयण्ता नै यस्ता परिणामहरुमा हामी साक्षी करार भइरहेका छौँ ।
अपराध कसूर प्रमाणित भएका र प्रमाणित हुनुअघि पुर्पक्षमा रहेकाहरुको विद्रोहलाई निमिट्यान्न पार्न गृहप्रशासनले ठोस कदम चाल्न जरुरी देखिएको छ । समग्रमा जेलभित्र एउटा समूहको हालिमुहालीमा बढिरहेको अदृश्य अपराधले निम्त्याउने विद्रोह नै कारागारमा झडप निम्त्याउने कारण बनिरहेको विषयमा सबै चनाखो बनौँ ।

Leave a Reply