रुपन्देही । वि.सं. १९६३ सालमा डोटीमा जन्मिएका इन्द्रध्वज शाही (इन्द्रजीत सिंह), जसलाई इतिहासले ‘डा. के.आई. सिंह’ भनेर चिन्छ । उनी नेपाली क्रान्तिकारी तथा विद्रोही नेता हुन् ।
सानै उमेरमा परिवारसहित बर्मा पुगेका सिंहले त्यहीँ शिक्षा प्राप्त गरे । उनले त्यहीँ विद्यालयबाट शिक्षा हासिल गरे । बर्मामै उनले आयुर्वेदसम्बन्धी पढे । औषधिमूलो गर्ने भएकाले उनलाई डाक्टर भनिएको थियो । त्यही आधारमा आफ्नो नाम डा. के.आई. सिंह लेख्न थालेको पाइन्छ ।
डोटीको शाही ठकुरी परिवारमा जन्मेका केआई सिंह सानैबाट विद्रोही स्वभावका थिए । उनी पछि रुपन्देही आएर बसेका थिए । उनका छोराछोरी सबैले शाह लेख्छन् । सिंहका छोरा कसरी शाह भए भन्ने विषय पनि उस्तै रोचक छ । डोटीमा केआई सिंहको नाम इन्द्रध्वज शाहीबाटै चिनिन्थ्यो । तर, वास्तविक थर शाह नै रहेकाले छोराछोरीले शाह लेखेका हुन् ।
त्यहाँका राजपरिवारको सदस्य रहेका उनीहरू तत्कालीन बाइसे राज्यअन्तर्गत सबैभन्दा ठूलो राज्यमा रहेको परिवारका सदस्य बताउँछन् । अहिले पनि डोटीमा केआई सिंह गाउँपालिका नै रहेको छ ।
केआई सिंहले पाल्पा सेनकी छोरी धौलकुमारी सिंहसँग विवाह गरेका थिए । उनीहरूका तीन छोराहरु र एक छोरी थिए । जेठा चोलाजित शाह, माइला भोजेन्द्रजित शाह र कान्छा यज्ञजित शाह तथा बहिनी बहिनी चन्द्रकुमारी शाह हुन् । अहिले रुपन्देहीमा यज्ञजितको परिवारमात्रै छ ।
हाल सिद्धार्थनगर नगरपालिका वडा नं ९ गोलीगाठमा उनको बसाइ छ । जेठा र माइलाको परिवार कैलालीमा बस्छन् भने कान्छी छोरी भारतको भारतको लखनउमा बस्छिन् । केआई सिंहको ०३९ सालमा क्यान्सरको उपचारकै क्रममा बैंककमा निधन भयो । उनकी श्रीमती धौलकुमारी ०५८ सालमा बितिन् । उनका छोराछोरी सबैले भारतमै पढेका हुन् ।
बाल्यकाल बर्मामा बितेको भए पनि उनको जीवनको निर्णायक मोड नेपाल फर्किएपछि आयो । सन् १९४० को दशकमा भारतमा फैलिएको ‘अंग्रेज छोडो’ आन्दोलनको प्रभाव नेपाल र नेपाली भाषी समुदायसम्म फैलिएको थियो । यही लहरसँगै २००७ सालको राणाविरोधी क्रान्तिको पृष्ठभूमि तयार भयो, जसमा सिंह अग्रपंक्तिमा उत्रिए ।
७ सालको क्रान्तिका कमान्डर
२००७ सालको क्रान्तिमा पश्चिम मोर्चाबाट सक्रिय सिंह मुक्तिसेनाको कमाण्डर बने । २००७ कात्तिक २९ मा उनले भैरहवास्थित बडाहाकिम कार्यालयमाथि आक्रमण गरे, जसमा गोश्वारा बाहेकका सबै कार्यालय कब्जामा लिए । सरकारी फौजले तीन दिनपछि प्रतिकार गर्यो तर ठूलो क्षतिका साथ पछि हट्नुपर्यो ।

सिंहले फेरि अदालत र कारागार कब्जा गरे, तर बडाहाकिम कार्यालयमा पूर्ण नियन्त्रण गर्ने लक्ष्य भने अधूरै रह्यो । दिल्ली सम्झौता उनले धोका ठाने, त्यसैले आन्दोलन रोक्न मानेनन् । यही कारण उनलाई पक्राउ गरेर काठमाडौं ल्याइयो र सिंहदरबारभित्रको बिजुली भवनमा कैद गरियो । यसैसँगै उनको सम्बन्ध रुपन्देहीमा जोडिएको हो ।
सिंहदरबार विद्रोह
२००८ माघ ८ मा सिंहले नेपालकै राजनीतिक इतिहासमा फरक कदम चाल्दै सिंहदरबार कब्जा गर्ने प्रयास गरे । त्यतिबेला मुलुकले राणा शासनबाट मुक्ति पाएको जम्मा ११ महिना मात्र भएको थियो ।
विद्रोहको योजना उनले जेलभित्रै बनाए र त्यहाँका सैनिकहरूलाई आफ्नो पक्षमा पारेर करिब १२ घण्टासम्म सिंहदरबार नियन्त्रणमा लिए । तर, बाहिरबाट घेराबन्दी भएपछि अन्ततः सम्झौता गर्दै काठमाडौं उपत्यका छाडेर चीनको शरणमा गए । झन्डै एक वर्ष चीनमा बसेपछि २०१२ भाद्र २७ गते आत्मसमर्पण गरे र राजा महेन्द्रबाट माफी पाए ।
नेपाल फर्किएपछि २०१४ सालमा राजा महेन्द्रले उनलाई प्रधानमन्त्री नियुक्त गरे । कडा स्वभावका कारण सिंहको सरकार सुरुदेखि नै विवादित रह्यो । प्रधानमन्त्रीः छोटो समय भए पनि उनी नेपालको २० औँ प्रधानमन्त्री बने । उद्दण्ड स्वभावः कडापनका कारण राजनीतिक स्थिरता दिन सकेनन् ।
उनको मन्त्रिपरिषद्मा महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री थिए भने पुरेन्द्रविक्रम शाह, परशुरामभक्त माथेमा, सी.बी. सिंह, डम्बरबहादुर सिंह, रामाधीन महतो, जीवराज शर्मा, कुलबहादुर लिम्बू, भुपालमान सिंह कार्की, पद्यनरसिंह राणा लगायतका मन्त्रीहरू समावेश थिए । तर, सिंहको रुखो स्वभावका कारण सरकारी कर्मचारीहरूसँग पनि विवाद बढ्यो । ३ महिनाभित्रै राजाले उनको मन्त्रिपरिषद् विघटन गरी सुवर्णसम्शेर राणाको नेतृत्वमा नयाँ सरकार गठन गरेका थिए ।
प्रधानमन्त्रीबाट हटेपछि पनि सिंहको राजनीतिक यात्रा रोकिएन । पञ्चायती व्यवस्थामा उनी सांसद भए र प्रथम राजसभा स्थायी समितिका सभापतिसमेत नियुक्त भए । उनका कान्छा छोरा यज्ञजितका अनुसार २०३८ सालमा रुपन्देहीबाट उनले चुनाव जितेका थिए त्यतिबेला जिल्लाबाट दुई जनाले धेरै मतका आधारमा जित्ने नियम थियो ।
जसमा पहिलो सिंह र दोस्रो दीपक बोहोरा भएका थिए तर सपथग्रहण कार्यक्रममा उपस्थित नभएर पुनः विवादमा आएका थिए । व्यक्तिगत जीवनमा सिंह साहसी, सीधासादा तर जिद्दी स्वभावका थिए । बीपी कोइरालाले आफ्नो आत्मकथामा उनलाई ‘दम्भी’ भनेका छन्, भने राजा महेन्द्रले जनरल नर शमशेरसँगको संवादमा उनलाई ‘बदमास’ संज्ञा दिएका छन् ।
०३९ सालमा घाँटीको क्यान्सरको उपचारका क्रममा थाइल्याण्डको बैंककमा उनको मृत्यु भयो । त्यसको एक वर्षअघि उनी रुपन्देहीबाट निर्वाचित भएका थिए । उनले जीवनको अधिकांश समय विद्रोह, निर्वासन र राजनीतिमा बिताए । उनको जीवनगाथा एक क्रान्तिकारीको संघर्ष, विद्रोह र सत्ता-सम्झौताबीचको यात्राको दस्तावेज रहेको उनको इतिहास अध्ययन गरेकाहरुको भनाइ छ ।
केआई सिंहको मृत्यु भएपछि रुपन्देहीमा उपनिर्वाचन भएको थियो । यो निर्वाचनमा सिंहका माइलो छोरा मुन्ना सिंहले चिनिने भोगेन्द्रजित शाह उम्मेदार भए । त्यतिबेला सरकारी पक्षबाट केआई सिंहकी श्रीमति धौलकुमारीलाई उम्मेदार बनाउन प्रस्ताव आएपनि उनी तयार भइनन् र मुन्ना नै बने ।
तर, सरकारी पक्षबाट पहिले नै उम्मेदार राम्रो नभएको मानिएपछि उनले चुनाव हारे । चुनाव हारेपछि मुन्ना आफ्नो सम्पत्ति भएको कैलाली फर्के । अहिले पनि जेठो र माइलोको परिवार उतै बस्छन् भने कान्छा यज्ञजितले बुवाको विरासत लिएर रुपन्देही बसेका छन् ।
यज्ञजित भारतको लखनउमा अध्ययन सकेर बुवापछि रुपन्देहीमा राजनीति संहालेका हुन् । ०४३ देखि उम्मेदार बन्दै आएका छन् । ०४८ मा नेपाली कांग्रेसबाट, ०५१ मा कांग्रेस विद्रोहीबाट उठेपनि जित हात नपारेका उनले ०५६ मा रुपन्देहीका चर्चित नेता सर्वेन्द्रनाथ शुक्लालाई हराएर चर्चामा आएका हुन् ।
इतिहासका अध्येता अध्यापक युवराज कंडेलका अनुसार के आई सिंह नेपालमा मात्रै नभएर विश्वमै चर्चित नेता हुन् र उनको मुख्य विद्रोह रुपन्देहीबाट सुरु भएको हो ।
‘राणाविरुद्धको आन्दोलनमा पश्चिम क्षेत्रका कमाण्डर थिए, उनले ७ सालको दिल्ली सम्झौता धोका भएको भनेर घोषणा गरे, भैरहवा राणाको कब्जामा थियो, नौतनवा बसेर भैरहवा उनले कब्जा गरेपनि उनको रुपन्देहीसँग साइनो बसेको हो’ उनले भने,‘भारतमा त उनी यसै परिचित थिए चीनले पनि उनलाई विशेष महत्व दिएको थियो, धेरैले भेटेनै नपाएको माओत्सेतुङलाई भेट्ने विद्रोही नेता हुन् उनी, अन्तर्राष्ट्रिय दवावमा महेन्द्रले उनलाई प्रधानमन्त्री बनाएका हुन् ।’
उनका अनुसार सन् १९५० जनवरी १६ भारतको दिल्लीबाट नेपालमा सञ्चालन भइरहेको सशस्त्र कान्ति स्थगित भएको घोषणा भएपनि के आई सिंह र उनको दलले उक्त घोषणालाई क्रान्तिमाथिको धोका भन्दै राणाविरोधी अभियानलाई जारी राखेको हो ।
‘२००७ साल फागुन ७ गते मोहनशमशेरको प्रधानमन्त्रीत्वमा नेपाली कांग्रेस र राणाहरूको अन्तरिम सरकार गठन भई नेपाली काँग्रेसका वरिष्ठ नेता विश्वेश्वरप्रसाद कोइराला देशको गृहमन्त्री बनिसकेका थिए । के.आई. सिंहको विद्रोही समूहले भैरहवामा युद्ध जारी राखेपछि गृहमन्त्री कोइरालाले भारतीय सरकारको समेत सहयोग मागी नेपाली फौज र भारतीय फौजका संयुक्त प्रयासद्वारा के.आई. सिंहलाई निशस्त्र पार्ने आदेश दिए ।
तदनुसार भारतीय फौज र कप्तान कुम्बसिंह गुरुड्का नेतृत्वमा गएको नेपाली फौज मिली के. आई. सिंह र उनको दललाई करभलामा आत्मसपर्मण गरायो । २००७ साल फाल्गुन ८ का दिन के.आई.सिंहका ३५७ जना अनुयायीहरू पक्रिएको थियो । स्थानको अभावमा के. आई. सिंहलाई बडाहाकिम निवासमा नै बन्दी बनाइएको थियो ।’ कंडेलले लेखेका छन् ।
२००८ असार २७ गते राजबन्दीहरूले जेलको ढोका फोडेर बाहिर निस्केर के.आइ.सिंहलाई मुक्त गरेका थिए । असार २८ गते ठुलो जनसमूहको बीचमा के.आई.सिंहले आफूलाई गभर्नर र काशीप्रसाद श्रीवास्तवलाई प्रधानमन्त्री तथा खडगबहादुर गुरुङ्गलाई प्रधान सेनापति बनाएर जनसरकार घोषणा गरेका थिए ।
भोलिपल्ट सरकारी सेनाले जनसरकार समर्थित भिडमा गोली चलाउँदा दर्जनौ मानिसको मृत्यु भएको र जनसरकारको गतिविधिलाई निस्तेज पार्न भारतीय फौज आएपछि असार २९ गते सिंह र टोली भैरहवाबाट भागेर गएपछि भैरहवा र पश्चिम नेपाल मुक्तिसेनाको कब्जाबाट मुक्त भएको कुरा तत्कालीन विद्रोही सरकारका प्रधानमन्त्री काशीप्रसाद श्रीवास्तवद्वारा वि.सं. २०१२ मा प्रकाशित नेपालको इतिहास पुस्तकमा उल्लेख गरिएको छ ।

Leave a Reply