रुपन्देही । रुपन्देही ३ को आसन्न उपचुनावमा लागि मधेशवादी ६ दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाबाट बलियो साथ पाएको नागरिक उन्मुक्ति पार्टीलाई आन्तरिक समस्याले संकटमा पारेको छ ।
दुई पटक पत्नी रञ्जिता श्रेष्ठलाई पार्टी अध्यक्षबाट हटाउन खोजेका रेशम चौधरीलाई निर्वाचन आयोगले ब्रेक लगाएपनि त्यसको तुष तलसम्मै छ । अहिलेसम्म यहाँ नाउपाबाट ६ जना आकांक्षी देखिएका छन् । एक सरकारी कर्मचारी टिकट पाए राजीनामा दिने मनस्थितिमा छन् ।
उपनिर्वाचनमा नाउपालाई सघाउने गरी मोर्चाले काठमाडौंमा दुई चरणमा सहमति गरेको थियो । तर, रेशम-रन्जिता खटपटले मोर्चामा आशंका बढेको छ । केही दिनअघि मोर्चाको सभामा रेशम चौधरीले यहाँ थारुकै छोरा उम्मेदवार हुने भनेर घोषणा गरेपछि मधेसी समुदायमा शंका उब्जिएको नेताहरू सुनाउँछन् ।
नाउपाका केन्द्रीय सदस्य तथा रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राकेश कोइरीले पार्टीमा सबैको साथ चाहिने तर उम्मेदार थारुको छोरा हुने भनेर गरिएको घोषणा राम्रो नभएको बताए ।
आकांक्षीको सूचीमा रहेका कोइरी भन्छन्, ‘पार्टी बनाउन मधेसीको पनि साथ चाहिने, पहाडियाको पनि समर्थन चाहिने अनि उम्मेदवार थारुको छोराबाहेक कोही हुँदैन भन्ने गरिएको सार्वजनिक धारणा उचित होइन, चाहे जसले बोलोस्, अधिकार मागेर होइन लडेर पाउने हो भन्ने मलाई थाहा छ ।’
नाउपाभित्रैबाट यहाँ रेशम पक्षले एउटा र रञ्जिता पक्षले अर्कै उम्मेदवार अघि सार्ने तयारी गरेकाले समस्या थपिएको नेता कार्यकर्ता बताउँछन् ।
निर्वाचन आयोगमै पार्टीको आन्तरिक विवादका कारण नाउपाका दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता गराएपछि यसको जरो जिल्लासम्म पुगेको छ, यद्यपि जिल्लाका नेताहरु अझै खुल्न डराएका छन् । नाउपाबाट संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ गते दल दर्ताका लागि निवेदन दिएका थिए । डगौराले निवेदनको दर्ता नम्बर ६ हो । अध्यक्ष रञ्जिता श्रेष्ठले अन्तिम दिन २७ गते दिएको दल दर्ताको निवेदन दर्ता नम्बर २५ कायम भएको छ ।
आयोगले लालवीर अध्यक्ष बनाउने निर्णय खारेज गरेसँगै नाउपाको अध्यक्षमा रञ्जिता नै कायम भइसकेकी छिन् । उम्मेदवारको मनोनयनमा पनि उनकै दस्तखत आधिकारिक हुने आयोग स्रोतको भनाइ छ ।
रुपन्देहीका नेता कोइरीले आफूहरू रेशम-रञ्जिता कसैको पक्षमा नभएर पार्टीको आधिकारिक र कानूनी मान्यता पाएको पार्टीका रहने बताए ।
‘हामी कसैको समूहमा होइन, आधिकारिक र कानुनी मान्यता भएको पार्टीमा हुनेछौं, उम्मेदारको प्रकृया पनि लोकतान्त्रिक प्रकृयाबाट छानिनुपर्छ भन्ने हो’ उनले भने ।
यी हुन् नाउपाका मुख्य दाबेदार ?
नाउपामा सबै मधेसी दलले साथसमर्थन दिने भएपछि उम्मेदारको लागि धेरै जना आकांक्षी देखिएका छन् । पार्टी केन्द्रीय सदस्य धनिराम चौधरी, प्रदेश समितिका अध्यक्ष डा. सरोज चौधरी, केन्द्रीय सदस्य रहेकी नन्दा चौधरी, केन्द्रीय सदस्य तथा रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राकेश कोइरी, जिल्ला अध्यक्ष तुलसी थारु प्रमुख दाबेदारका रूपमा अघि बढेका छन् ।
यसबाहेक एक सरकारी कर्मचारीलाई पनि तयारी अवस्थामा राखिएको छ उनको टिकट निश्चित भएपछि मात्रै राजीनामा गराएर अघि बढाउने गरी योजना बनेको एक नेताले बताए । यी मध्ये डा. सरोज चौधरी, नन्दा चौधरी र धनिराम चौधरीमध्येबाट उम्मेदार बनाउने प्रयासमा रेशम पक्ष लागेको छ । तर रन्जिता पक्षले रेशम पक्षले अगाडि सारेको उम्मेदारलाई काउन्टर दिनेगरी उम्मेदारीको तयारी गरिरहेका छ ।
मोर्चामा नै छैन एकमत
त्यसो त एउटै मोर्चा बनाएर चुनाव लड्ने सहमति गरेका तराई-मधेशका दलहरू पनि एकमत छैनन् । मोर्चाकै घटक जनमत पार्टीले पनि दल दर्ताका लागि निवेदन दिएको छ । नाउपा र जनमत पार्टी एकताको अन्तिम चरणमै पुगेको भनिए पनि अहिले त्यो अवस्था देखिन्न ।
मेचीदेखि महाकालीसम्म आफ्नै उम्मेदवार उठाउने रणनीति अन्तर्गत रुपन्देहीमा पनि आफ्नै उम्मेदवार उठाउने अध्यक्ष सीके राउतले बताएका छन् ।
उनले पार्टी पङ्क्तिलाई भ्रममा नपर्न आग्रह गर्दै भनेका छन्, ‘यसअगाडिको निर्वाचनमा अरू पार्टीहरू कांग्रेस वा एमालेको गठबन्धनमा सामेल भई चुनाव लड्दा जनमत पार्टी एक्लै नै चुनाव लड्दै आएको छ र गठबन्धन गरेको पूर्व अनुभव छैन ।’
मोर्चा संविधान संशोधन र अधिकार तथा पहिचानको आन्दोलनमा खडा भएको भन्दै उनले यो लुज एलायन्समात्र र चुनावी मोर्चा नभएको प्रष्टीकरण दिएका छन् ।

मधेसी मोर्चाले नाउपाको उम्मेदवारलाई साझा बनाउने निर्णय गरेसँगै यहाँ बलियो शक्ति बन्ने आंकलन गरिएको थियो । उत्तर-दक्षिण भूगोलमा रहेको यो क्षेत्र मञ्चमा आवद्ध आवद्ध मधेशवादी दलको जनमत बलियो भएको क्षेत्र हो । २०७९ को चुनावमा मधेश केन्द्रित दलहरूमध्ये नाउपाले प्रत्यक्ष र समानुपातिकमा धेरै मत पाएको थियो ।
यस आधारमा पनि मधेश केन्द्रित दलको मत जोड्दा र उनीहरुबीच सहमति कार्यान्वयन भएमा बलियो शक्ति बन्न सक्ने आंकलन गर्न सकिन्छ तर दलबाट बन्ने उम्मेदार कस्तो छनौट हुने भन्ने विषय प्रमुख रहने मोर्चामा रहेका दलका नेताहरुको भनाइ छ ।
त्यो चुनावमा नाउपाले ६०१० र जसपाले ५२९१ मत, लोसपाले ५०५३, जनमत पार्टीले ३७३२, माओवादी केन्द्रले २६००, जनमुक्ति पार्टीले १९००, हाम्रो नेपाली पार्टीले १३४७ र नेकपा एसले ७८१ मत पाएका थिए ।
त्यसैगरी पहिलो बनेको नेपाली कांग्रेसले २०२७८, दोस्रो बनेको एमालेले १६९८६, तेस्रो बनेको रास्वपाले १४१५४ र चौथो बनेको राप्रपाले ९१८३ मत पाएको थियो ।

Leave a Reply