‘क्रोनी पूँजीवाद’ को दलदलमा देशः समाधानका केही सूत्र

हामी नेपालीलाई ‘स्टकहोम सिन्ड्रोम’ भएको जस्तो आभास हुन्छ । आफैँमाथि घोर अन्याय गर्ने, धोका दिने, दुर्व्यवहार गर्नेलाई नै सम्मान गर्ने, मन–पेट दिने र पटक–पटक उसैलाई विश्वास गरेर आफ्नो बुई चढाउने खालको रोगलाई विद्वानहरूले ‘स्टकहोम सिन्ड्रोम’ भन्ने गर्छन् । हामीले एकै पार्टीलाई दशौँ पटक सरकारमा पुर्याइसक्यौं, एकै व्यक्तिलाई पाँचौंपटक प्रधानमन्त्री बनाइसक्यौँ । तर पनि हामीलाई लाग्छ कि यिनै पार्टी वा अनुहारले हाम्रो देशको कायापलट गरिदिन्छन् । यिनै हाम्रा भाग्य विधाता हुन् । त्यसैले बारम्बार उनीहरूमाथि नै हाम्रा भोट खन्याउँछौँ र हाम्रा टाउकामा गिर खेल्न दिन्छौँ । ब्वाँसोले पेटमा हात पुर्‍याइसक्दा पनि कन्याएको मजा मात्रै हामी सम्झिइरहन्छौ ।

यिनै कारणले गर्दा हामी नेपालीको स्वभाव सम्झेर छक्क पनि लाग्छ । यसै पृष्ठभूमिमा २०८१/0८२ को बजेटको पूर्वसन्ध्यामा भएको नाटकमञ्चन जस्तो घटना पाठकवृन्दलाई पुनः स्मरण गराउन चाहन्छु, किनकि यसले पछिल्ला प्रसंगहरुलाई प्रष्ट गराउनमा मद्दत गर्छ ।

त्योबेला अर्थ–मन्त्रालयमा बजेट निर्माणको क्रममा अमुक व्यापारीहरूको प्रवेश, ५० किलोवाटसम्मका विद्युतीय गाडीको करको दरमा भएको हेरफेर, डायपर र सेनेटरी प्याडको आयात करमा गरिएको फेरबदल, र मुसाले सिसिटिभीको तार काटेकोजस्ता घटना कति नेपालीको दिमागमा अझै कैद होलान् ।

अब आजको जल्दोबल्दो गरिबमारा अनि मुठ्ठिभर धनिमानीको सहारा बनेको विषयवस्तुतिर लागौँ । क्रोनी पूँजीवाद एक विकृत पूँजीवादी आर्थिक प्रणाली हो । ‘क्रोनी’ शब्दको अर्थ नजिकको साथी हो, जुन ग्रीक शब्द chronios बाट आएको हो, जसको अर्थ ‘दीर्घकालीन’ हुन्छ । सामान्य पूँजीवादी अर्थतन्त्रका सर्वमान्य विशेषताहरूमा निजी सम्पत्तिको अधिकार, सामान र सेवाहरूको स्वतन्त्र तथा प्रतिस्पर्धी किनबेच, प्रतिस्पर्धाबाट प्राप्त हुने नाफा, र व्यक्तिले धन आर्जन गरी त्यसको स्वामित्व राख्ने अधिकार आदि पर्छन् । यी सिद्धान्तका प्रवर्तकहरू जस्तै एडम स्मिथ, रिकार्डो, मिल, फ्राइडम्यान जस्ता अर्थशास्त्रीहरूका विश्वभर लाखौँ–करोडौँ समर्थक र प्रशंसकहरू छन् । यिनीहरूले इंगित गरेका कुराहरू समाजका अर्थ–व्यवहारमा प्रतिबिम्बित भइराखेका छन् ।

अर्कोतर्फ क्रोनी–पूँजीवादमा व्यक्ति वा संस्था स्वतन्त्र प्रतिस्पर्धामा संलग्न हुँदैनन् । बरु, उनीहरूले सरकार र मुख्य राजनीतिक दलहरूसँगको निकट सम्बन्धको उपयोग गरी उत्पादन, व्यापार र सेवा क्षेत्रहरूमा एकाधिकार कायम गर्छन् । यसले गर्दा सम्पत्ति र नाफा केही सीमित मानिसहरूमा मात्र केन्द्रित हुन्छ । यस्ता आम जनताको रगत–पसिना चुस्ने आर्थिकतन्त्र (ओलिगार्की) कडा भर्त्सना र आलोचनायोग्य छन् ।

कहिलेकाहीँ केही आर्थिक सूचकहरू सकारात्मक देखिए पनि, यो क्रूर व्यवस्थाले बिस्तारै समग्र अर्थतन्त्र, रोजगारी सिर्जना र नयाँ व्यवसायहरूको विकास अवरुद्ध हुन थाल्छ । साना तथा मझौला व्यवसायहरू (SMEs) एकपछि अर्को धराशायी हुँदै जान्छन् । यस्तो विकृति कुनै पनि देशमा प्रवेश गर्दै गरेको सजिलै थाहा पाइन्छ । कार्यपालिका र व्यवस्थापिका ठूला व्यावसायिक घरानाहरूलाई फाइदा हुने नीति बनाउन व्यस्त देखिन्छन्, जस्तै कर छुट, ठूला ठेक्का, सस्तो ब्याजदरमा ऋण, अनुदान र ऋण मिनाहा यिनै घरानाले पटक पटक पाउँछन् । त्यसको बदलामा भ्रष्ट नेता र राजनीतिक दलहरूले ती घरानाहरूबाट ठूलो चन्दा संकलन गर्छन् ।

आज संसारका धेरै देशहरू यस विकृतिका कारण पीडित छन् । हाम्रो छिमेकी भारत यसको प्रमुख उदाहरण हो । यो विकृति कति गहिरो छ भन्ने कुरा Oxfarm को सन् २०१९ को प्रतिवेदन ‘Public Good or Private Wealth’ बाट स्पष्ट हुन्छ । उक्त प्रतिवेदन अनुसार, भारतका सबैभन्दा धनी १०% जनसंख्याले कुल सम्पत्तिको ७७.४% स्वामित्व राख्छन्, जबकि सबैभन्दा गरिब ६०% जनसंख्याको नाममा जम्मा ४.८% सम्पत्ति छ । विगत दुई दशकदेखि भारतका केही धनी व्यवसायीहरू सधैँ विश्वका सबैभन्दा धनीहरूको सूचीमा परिरहेका छन् । यो विकृति भारतको स्वतन्त्रता पछि विस्तार हुँदै गए पनि सन् १९७० को दशकमा इन्दिरा गान्धीको नेतृत्वमा केही हदसम्म रोकिएको थियो । उनको असामयिक निधनपछि फेरि जिन्दाल, बिर्ला, टाटा लगायतका घरानाहरूले केही लाभ उठाए । तर, सन् २०१४ मा मोदीको नेतृत्वमा बीजेपी सत्तामा आएपछि यो विकृति भयावह रूपमा देखिन थाल्यो । अम्बानी र अडानी समूहलाई उत्पादन व्यापार र सेवा क्षेत्रहरू किस्तीमा सजाएर सुम्पिने काम भयो ।

कोइला खानी, विद्युत उत्पादन, बन्दरगाह र विमानस्थल सञ्चालन, खुद्रा व्यापार, वित्तीय सेवा, दूरसञ्चारजस्ता क्षेत्रहरूमा यी दुई समूहले नियन्त्रण जमाएका छन् । अझ डरलाग्दो कुरा त त्यहाँ रहेका थोरै स्वतन्त्र मिडियामध्येका एक NDTV लाई समेत अडानी समूहले किनिसकेको छ ।

हामी नेपालीहरू दशकौँ लामो द्वन्द्व र अस्थिरताबाट थाकिसकेका छौँ, तैपनि पेट कसेर बादलमा चाँदीको घेरा खोजिरहेका छौँ । यस्तो अवस्थामा गरिब र असहाय जनतालाई शोषण गर्ने क्रूर क्रोनी पूँजीवादले नेपालमा पनि गहिरो जरा गाडिसकेको छ भन्ने कुरा लेख्न मलाई कत्ति पनि सहज लागेको छैन । Oxfarm कै रिपोर्ट अनुसार नेपालका सबैभन्दा धनी १०% मानिसहरूले सबैभन्दा गरिब ४०% जनताभन्दा करिब २६ गुणा बढी सम्पत्ति ओगटेका छन् । अस्थिरताको फाइदा उठाउँदै, नेपालका मुख्य राजनीतिक दलहरू यस विकृतिसँग पहिले नै संलग्न भइसकेका छन् । नेपाली कांग्रेसका नेताको संरक्षणमा चौधरी समूहले विभिन्न क्षेत्रहरूमा एकाधिकार कायम गरेको छ । एमालेका नेताको संरक्षणमा भाटभटेनी, यती समूह, ओम्नी समूह, दुगड समूह, बतास समूह, आईएमएस समूहले निर्बाध रूपमा लुट मच्चाइरहेका छन् । त्यस्तै, माओवादीका नेताको संरक्षणमा सुमार्गी र अधिकारी ठेकेदारहरू पनि क्रियाशील रहेको कुरा घामजस्तै छर्लङ्ग छ ।

नेपाल क्रोनी पूँजीवादको दलदलमा फसेको प्रमाण दिन म मात्र दुई उदाहरण प्रस्तुत गर्न चाहन्छु:

१.भाटभटेनी सुपरमार्केटको विस्तार

भाटभटेनी काठमाडौँको मुटुमा मात्र होइन, अन्य प्रमुख सहरहरूमा पनि फैलिएको छ । यसका प्रत्येक शाखाले हजारौँ साना र मझौला खुद्रा व्यापारी र कामदारहरूको रोजगारी खोसेको छ । नयाँ सडक, असन, पुतलीसडक, बानेश्वर, जावलाखेल जस्ता स्थानमा साना पसलहरू बन्द भएका छन् । ‘सटर खाली छ’ भन्ने पोस्टरहरू जताततै देखिन्छन् । साना खाद्यान्न पसलहरूको व्यापार घट्दै गएकाले तिनीहरू लोपोन्मुख अवस्थामा छन् । भाटभटेनीमा आकर्षक रूपमा सजाइएका तरकारीसँग गाउँबाट डोको वा खर्पनमा ल्याइएका तरकारीले प्रतिस्पर्धा गर्न सक्दैनन् । भाटभटेनीका कारण हजारौँ व्यवसाय र रोजगारीहरू हराएका छन्, तर कम कर्मचारी राखेर पनि उसले आफूलाई नेपालकै ठूलो रोजगारदाता घोषणा गर्न पछि पर्दैन ।

अझ महत्त्वपूर्ण कुरा– पहिले हजारौँ व्यापारीले कमाएको नाफा र तिरेको कर अहिले भाटभटेनीले एक्लै कमाइरहेको छ र ठूलो करदाताको पगरी पनि गुथिरहेको छ । वास्तविकता के हो भने पहिले हजारौँले बाँडेर पाएको नाफा अहिले एक समूहले मात्रै कुम्ल्याएको छ । यही हो क्रोनी पूँजीवाद ।

२. चौधरी समूहको एकाधिकार

चौधरी समूह बैङ्किङ, बिमा, अस्पताल, रियल स्टेट, खाद्य उद्योग, सिमेन्ट, नुडल्स, खुद्रा व्यापार, गाडी डिलरसिप, शिक्षा, मिडियाजस्ता लगभग सबै क्षेत्रमा क्रियाशील छ । सरकारले यसलाई सबै क्षेत्रमा किन अनुमति दिइरहेको छ ? यो क्रोनी पूँजीवादकै परिणाम हो । पहिले नै सुजुकी गाडीको डिलर भइसकेको चौधरी समूह अहिले अधिकांश चिनियाँ ब्रान्डको पनि डिलर बनेको छ ।

नेपालका एकमात्र डलर अर्बपति, सबैभन्दा ठूलो रोजगारदाता र सबैभन्दा धेरै कर तिर्ने संस्था भएको कुरा सुन्दा राम्रो लाग्न सक्छ । तर प्रश्न उठ्छ: यति धेरै नाफा एक समूहले मात्र लिएर कति हजार सम्भावित व्यवसायी र रोजगारी हराए ? त्यो सम्पत्ति बाँडिएको भए कति नेपाली धनी बन्न सक्थे ? यो पाठक वर्गले आफैँ हिसाब गर्न सक्नुहु्न्छ । यदि समयमै यो विकृतिलाई नरोकेको खण्डमा, केही व्यावसायिक घरानाको असीमित सम्पत्ति सुनिश्चित हुन्छ र धेरैजसो नागरिकको गरिबी पनि निश्चित हुन्छ ।

विश्वका धेरै देशहरूले यो समस्यालाई रोक्न प्रयास गरिरहेका छन् । भ्रष्टाचार निवारण सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय नियोगले संकलन गरेका केही सूचनाहरू प्रस्तुत गर्ने इजाजत चाहन्छु: जापान, दक्षिण कोरिया, र अमेरिकाजस्ता देशहरूले भ्रष्टाचारविरोधी कानुन, पारदर्शी खरिद प्रणाली, र कडा कानुनी कार्यान्वयन लागू गरेका छन् । स्वीडेन र नर्वेले सरकारको निर्णय प्रक्रिया आमजनताका लागि खुला राखेका छन् । यी देशहरूमा परियोजनाको ठेक्का, टेन्डर, अनुदानको जानकारी सार्वजनिक गरिन्छ । धेरै युरोपेली देशहरूमा राजनीतिक चन्दा पनि पारदर्शी हुनुपर्ने व्यवस्था छ । अष्ट्रेलिया र जर्मनीले एकाधिकार तोड्न ‘एन्टी–ट्रस्ट’ कानुनहरू बनाएका छन् । सिङ्गापुर र हङकङमा स्वतन्त्र भ्रष्टाचारविरोधी आयोगहरू छन् । थाइल्यान्डमा विद्यार्थीका लागि भ्रष्टाचारविरोधी शिक्षा अनिवार्य गरिएको छ ।

नेपालमा पनि केही कानुनी व्यवस्था छन्, जस्तै, सार्वजनिक खरिद ऐन, ई–टेन्डर, बैंकमा स्वामित्व र सञ्चालक छुट्याउने व्यवस्था, सार्वजनिक कम्पनीमा प्रवर्द्धकको सेयर घटाउने आदि । तर, कार्यान्वयन, निगरानी, र सजायको पक्ष अत्यन्त कमजोर छ । यस्ता विषयमा सरकार आफैँ कहिले मुद्दादाता त कहिले प्रतिवादी बन्ने गरेको छ । यस्ता सरकारी मुद्दा कसरी टुङ्ग्याइन्छन् भन्ने कुरामा पाठकहरू मभन्दा बढी जानकार हुनुहुन्छ ।

यो महामारीजस्तो विकृति रोक्न समय लाग्छ, तर केही तात्कालिक नीतिगत उपायहरू अत्यावश्यक छन् ।

एक सामान्य नागरिकको हैसियतमा, म निम्न सुझावहरू राख्न चाहन्छु:

१. एउटै कम्पनी समूहले कति व्यावसायिक इजाजतपत्र लिन पाउँछ भन्ने सीमा तोकियोस् ।

२. एउटै समूहले कति क्षेत्रमा लगानी गर्न पाउँछ भन्ने नियन्त्रणमुखी कानुन बनाइयोस् ।

३. ठूला निजी व्यवसायलाई चाँडै सार्वजनिक कम्पनीमा रूपान्तरण गर्नुपर्ने समयसीमा तोकियोस् ।

४. मिडिया र सञ्चार क्षेत्रमा व्यावसायिक समूहको लगानीमा पूर्ण प्रतिबन्ध गरियोस् ।

५. राजनीतिक चन्दाको विवरण अनलाइनमा प्रकाशित गरियोस् र चन्दाको सीमा तोकियोस् ।

६. व्यावसायिक अनियमिततालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार क्षेत्रभित्र ल्याइयोस् ।

७. विश्वविद्यालय तहमा भ्रष्टाचारविरोधी शिक्षा अनिवार्य गरियोस् ।

८. मिडियामार्फत क्रोनी पूँजीवादको अर्थ, असर र समाधानबारे जनचेतना फैलाइयोस् ।

९. अनुसन्धानमूलक र न्याय वैज्ञानिक पत्रकारिताको प्रवर्द्धन गरियोस् ।

१०. ठूला घोटाला उजागर गर्ने पत्रकारहरूको सुरक्षा सुनिश्चित गरियोस् ।

Comments

One response to “‘क्रोनी पूँजीवाद’ को दलदलमा देशः समाधानका केही सूत्र”

  1. suman karna Avatar
    suman karna

    Great work prem sir
    Thank you for giving such great information to Nepalese people.Keep writing sir

Leave a Reply

Your email address will not be published. Required fields are marked *