काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको बताएका छन्।
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालको माध्यमबाट हरेक दिन करोडौँ मानिसहरू डिजिटल प्लेटफर्महरूमा जोडिरहेको बताए।
उनले भने, ‘डिजिटल प्लेटफर्महरू- शिक्षा, स्वास्थ्य, बैङ्किङ, हवाई, सरकारी सेवा लगायतका विभिन्न क्षेत्रमा प्रयोग भइरहेका छन् । हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक छ । सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको छ ।’
घर–घरमा इन्टरनेटको पहुँच, मोबाइल बैङ्किङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा सबै प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेको बताए।
उनले भने, ‘नेपाली कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमहरूले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको छ । यसका अतिरिक्त प्रविधिको क्षेत्रमा धेरै कामहरू अझै गर्न बाँकी नै छन् । हामी सबैले यसको सकारात्मक प्रयोग गरेर व्यक्तिगत, सामाजिक र राष्ट्रिय विकासमा टेवा पुर्याउन सक्छौँ । सचेत, जिम्मेवार र नैतिक प्रयोग नै डिजिटल भविष्यको आधार हो ।’
नेपाली कांग्रेस, सधैँ नवप्रवर्तन र प्रविधि मार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको बताए।

Leave a Reply