रामहरिको ‘डोब’ मा को ? राज्य व्यवस्थाको सभापतिका यी हुन् दाबेदार

काठमाडौं । रामहरि खतिवडाले राजीनामा दिएसँगै सत्तारुढ दल नेपाली कांग्रेसमा राज्य व्यवस्था तथा सुशासन समितिको भावी सभापतिबारे आन्तरिक छलफल सुरू भएको छ । सँगै आकांक्षीहरूले लबिङ थालेका छन् ।

संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियड भएको छेडखानीमा संसदीय छानबिन समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि खतिवडाले हिजो सदनबाट राजीनामाको घोषणा गरे । उनले आज सभामुख देवराज घिमिरेसमक्ष औपचारिक राजीनामा पत्र बुझाए । उनले पार्टी र पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा दिन नभनेपनि पद छाडेका बताएका थिए ।

खतिवडाको राजीनामासँगै अहिलेकै समितिका सदस्यबाट आउँदा कांग्रेस सांसदमध्ये हृदयराम थानी र दिलेन्द्रप्रसाद बडूको पनि चर्चा छ । बडू यसअघि मन्त्री भइसकेका थिए भने थानी मन्त्रीका दाबेदार हुन् ।

सरकार मन्त्री हेरफेरको चर्चा चलिरहेको बेलामा थानीको आकांक्षा त्यता रहेको बताइन्छ । उनी यसअघि पनि एकपटक सभापति भइसकेका कारण आफैँ धेरै अग्रसर छैनन् ।

त्यसबाहेक समितिमा रहेका अम्बिका बस्नेत, सरिता प्रसाईँ र ईश्वरी न्यौपाने पनि आकांक्षी छन् । अम्बिका संस्थापन र सरिता शेखर पक्षकी सांसद हुन् । ईश्वरी पूर्वसचेतकको जिम्मेवारी सम्हालेकी व्यक्ति हुन्। उनी पनि संस्थापनकी प्रखर नेतृ हुन् ।

समितिभित्रकै सांसदहरूले आकांक्षा राखिरहँदा सभापतिका लागि अर्को समितिबाट नेता ल्याउने सम्भावनाबारे अहिलेसम्म छलफल भएको छैन ।

यीबाहेक समितिमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि सदस्य छन् । यी शीर्ष नेताहरू समितिको सभापतिमा जाँदैनन् ।

खड्का उपप्रधानमन्त्रीसमेत भइरसकेका व्यक्ति हुन् भने महामन्त्री थापाले आफू मन्त्रीसमेत नबन्ने घोषणा गरेका छन् । यद्यपि, अर्का महामन्त्री शर्मा भने पार्टीबाहेक अहिलेसम्म कुनै सार्वजनिक पदमा पुगेका छैनन् ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भने समितिको सभापतिको विषयमा कुनै छलफल नभएको दाबी गर्छन् ।

उनी भन्छन्, ‘उहाँ (रामहरि खतिवडा) ले हिजो राजीनामा घोषणा गर्नुभयो। राजीनामा नै नआई अर्को व्यक्ति ल्याउने भन्नेबारे छलफल गर्ने कुरा भएन। त्यसैले अहिलेसम्म पार्टीमा कुनै छलफल भएको छैन । अब होला ।’

उनले दिलेन्द्र बडू, ईश्वरी न्यौपानेलगायतको नाम चर्चामा आएकाबारे उनले थपे, ‘पार्टीमा व्यक्तिको विषयमा कुनै छलफल भएको छैन । यी बाहिरका चर्चामात्रै हुन् ।’

समितिकी सदस्य रहेकी प्रसाईँले पनि पार्टी सभापतिले यसबारेमा निर्णय लिने बताइन् । उनले भनिन्, ‘अहिलेसम्म समितिको सभापतिको विषयमा छलफल भएको छैन । अब कसलाई पठाउने भन्ने पार्टी सभापतिले नै निर्णय गर्नुहुन्छ । कसलाई बनाउनुहुन्छ हेरौँ न ।’

तपाईँको पनि नाम चर्चा छ, आकांक्षा राख्नुभएको छ ? भन्ने जिज्ञासामा प्रसाईँले थपिन्, ‘छैन छैन, मैले अहिलेसम्म कसैसँग पनि आकांक्षा राखेको छैन । मैले सोधेको पनि छैन कसलाई बनाउने भन्नेबारे, विस्तारै छलफल होला ।’

समितिका सभापतिमा आफ्नो नाम चर्चाबारे कुरा गर्न आवश्यक नभएको नेता बडूले पनि बताएका छन् । हिजो संसद् भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भनेका थिए, ‘अहिले सम्भावनाको कुरालाई छाडौँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *